कहिल्यै पूरा भएन मेची पुल
भद्रपुर : बिर्तामोडका राजु श्रेष्ठ निजी गाडी लिएर मेची खोलामा निर्माण भएको बाँसको कच्ची पुल ५० रुपैयाँ तिरेर पारि भारतर्फ गए। उनी नेपालकै सिमानामा बनेको कच्ची पुल पार गरेर भारतीय बजारमा किनमेल गर्न जाने तरखरमा थिए।
बाँसको पुल पार गरिरहँदा उनले एक पटक उत्तरतर्फ बनेको पक्की पुल नियाले अनि खल्तीबाट रकम झिकेर ठेकेदारका प्रतिनिधिलाई बुझाए। भने, ‘मेची पुल पक्की बन्यो भनेर नाक त घोक्राइयो तर बाँसको पुल भएर तर्नु पर्छ।’
राजुजस्ता दिनमै लगभग २५–३० वटा निजी गाडी, हटियाको दिनमा दुई सय जति मोटरसाइकल र १५ सयदेखि दुई हजारको हाराहारीमा साइकलहरू उक्त बाँसको कच्ची पुलबाटै नजिकैका भारतीय बजार ठाकुरगञ्ज र गलगलियासम्म किनमेल र आफन्त भेटघाटका लागि जाने गर्छन्। भारतीय नागरिक पनि नेपालतर्फ उत्तिकै रूपमा आउजाउ गर्छन्। ५० वर्षदेखि बहुप्रतीक्षित मेची पुल कहिले पूरा हुने हो अझै ठेगान छैन।
भद्र्रपुरका स्थानीय मणिराम कोइराला हिउँदको समयमा वर्षौंदेखि घरयासी सामान लिन करिब १५ दिनमा भारतको गलगलियासम्म मोटरसाइकलमा जाने गरेको सुनाउँछन्। ‘तर यो वर्षको छठ पुजादेखि त पैसा लिने गरिएको रैछ, पैसा लिइसकेपछि त्यहीअनुसारको व्यवस्थापन गरिनुपर्ने, यहाँ त बाँस कति ठाउँमा खसिरा’छ मतलब गर्दैनन्,’ उनले भने, ‘कतिपटक मेरो मोटरसाइकल फसेर दुःख पाएको छु।’ अघिल्ला वर्षका हिउँदमा पनि बाँसकै साधारण पुल बन्ने गरेको तर अहिलेको जस्तो पैसा लिने गरिएको थिएन। साइकल, मोटरसाइकल र केही गाडी खोलाबाटै ओहोरदोहोर गरेको पनि देखिन्छ।
मेची किनारमा रहेको मन्दिरको लागि खर्च हुने सर्तमा नगरपालिकाले कच्ची पुल मन्दिर समितिलाई ठेक्कामा दिएको हो।
पक्की बनेपनि छुटेन बाँसको भर
मेची किनारमा रहेको मन्दिरको लागि खर्च हुने सर्तमा नगरपालिकाले कच्ची पुल मन्दिर समितिलाई ठेक्कामा दिएको हो। तर, ठेक्का दिँदाको सर्तअनुसार उनीहरूले जनतालाई सेवा नदिएको गुनासो आइराखेको नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राई बताउँछन्। ‘ठेक्कावालाले महिनाको १५ हजार हामीलाई बुझाउँछन् अरू के गर्छन् हामीलाई थाहा हँुदैन,’ उनले भने, ‘स्थायी पुल पूरा नभएकोले हामीले पनि थप केही गर्न सकेका छैनौं।’
छठको बेला भक्तजनको सुविधाको लागि भनेर दुई लाख ४० हजार रुपैयाँ लगाएर नगरपालिकाले बनाइदिएको पुल पछि स्थानीय मन्दिर समितिलाई ठेक्का दिएको हो। अहिले उक्त पुलबाट आवतजावत गर्ने सवारीबाट महिनाको एक लाख बढी आम्दानी हुने गरको छ। पुलमा सुरक्षार्थ दुई जना कर्मचारी पनि खटाइएको छ।
सबै खर्च कटाएर महिनाको २५ हजार मन्दिर व्यवस्थापन खर्च भनेर जाने गरेको मन्दिर व्यवस्थापन समितिका संयोजक लक्ष्मी सिंहले बताए। ‘तर त्यो पैसाको रेकर्ड भने कसैसँग छैन,’ उनले भने, ‘मन्दिरमा चाहिएको सामान ल्याए पनि पैसा नलिने भन्ने योजना छ।’
नेपाली होस् या भारतीय सवारी साधन दुवैतर्फकालाई उत्ति नै रेट तोकिएको छ। कच्ची पुलबाट आवतजावत गर्ने कार, एम्बुलेन्सको ५० रुपैयाँ, मोटरसाइकल र ठेलाको १० रुपैयाँ र साइकलको ५ रुपैयाँ लिने गरेको कर्मचारी उमेश सहनी बताउँछन्। भने, ‘हामीलाई त यताबाट पारि जाने र पारिबाट वारि आउनेसँग पैसा लिनु भन्ने आदेश छ।’
२०६६ साल पुष २८ गते २ वर्षमा सक्ने ठेक्का सम्झौता गरिएको मेची पुल ८ वर्षको अवधिमा ३ पटकसम्म ठेक्का सम्झौताको समय लम्बाउँदै सुस्त गतिमा निर्माण भइरहेको छ। ९५ प्रतिशत काम पूरा भएको र अब बढीमा २ महिनासम्म लाग्न सक्ने इन्जिनियर उपेन्द्र दासले दाबी गरेका छन्।