राधामाथि कुटपिटमा धामीलाई सघाउने किस्मती पक्राउ
धनगढीः जिल्लाको घोडाघोडी नगरपालिका–५ देउकलीमा स्थानीय १८ वर्षीया युववी राधा चौधरीलाई कथित बोक्सी आरोपमा कुटपिटमा संलग्न किस्मती चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
२० वर्षीया किस्मतीलाई धामी भनिएका रामबहादुर चौधरीसँग मिलेर राधालाई कुटपिट गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी सागर बोहोराले जानकारी दिए ।
गाउँबाटै पक्राउ परेकी किस्मतीलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ । यसअघि कुटपिटमा संलग्न धामी रामबहादुर चौधरी पक्राउ परिसकेका छन् ।
राधामाथि बर्बरता देखाउने दुवैजनालाई जिल्ला अदालतबाट म्याद थपेर मुद्दा चलाउने तयारी थालिएको डिएसपी बोहेराले जानकारी दिए ।
राधामाथि सयौँ गाउँलेमाझ गत बिहीबार नारी दिवसका दिन धामी रामबहादुर र किस्मतीले बोक्सी आरोपमा मरनासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटबाट घाइते राधाको सेती अञ्चाल अस्पतालमा उपचार भइरहेको छ ।