प्रधानमन्त्रीको प्रश्न: बालिकामाथि अत्याचार हुँदा समाज रमिते बस्ने कस्तो समाज ?
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि भइरहेका हिंसाले नेपाली समाजको कुरुप चित्र देखाएको बताएका छन् । कैलालीको घोडाघोडी नगरपालिकामा १८ वर्षीया राधा चौधरीमाथि बोक्सी आरोपमा भएको ज्यादतीको प्रसङ्ग निकाल्दै प्रम ओलीले नेपाली समाजको पछौटेपनाबारे प्रश्न उठाएका हुन् ।
प्रधानमन्त्रीका लागि विश्वासको मत लिन आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रम ओलीले बालिकामाथि अत्याचार हुँदा रमिता हेरेर बस्ने समाजको प्रवृत्तिमा प्रहार गरेका हुन् ।
‘क्याम्पस पढ्ने चेलीलाई बोक्सी आरोपमा कुटिँदा, अत्याचार गरिँदा समाज रमिते बनेर बस्छ या सहमति जनाएर टुलुटुलु हेर्छ’, उनले भने, ‘आठ वर्षकी बालिका बलात्कृत भएर अस्पतालमा छटपटाइरहेकी छन् । हाम्रो समाज र हामी कहाँ छौँ ?’