अपाङ्गमैत्री संरचना निर्माणमा पहल गरिदिन मुख्यमन्त्रीसँग आग्रह
जनकपुरधाम : फरक क्षमता भएका व्यक्तिलाई सहज जीवनका लागि प्रदेशका हरेक संरचनालाई अपाङ्गमैत्री निर्माणका लागि पहल गरिदिनका लागि प्रदेश २ का मुख्यमन्त्रीसँग आग्रह गरिएको छ।
राष्ट्रिय मानवअधिकार आयोगद्धारा आइतबार जनकपुरमा आयोजित दुई दिवसीय अपाङ्गता भएका व्यक्तिको अधिकार विषयक प्रादेशिक सम्मेलनको उद्घाटन शत्रमा प्रमुख अतिथी मुख्यमन्त्री मो. लालबाबु राउतसमक्ष अपाङ्गमैत्री संरचनालाई प्राथमिकताका साथ लागू गराउनका लागि अनुरोध गरिएको हो।
यस प्रदेशका आठ जिल्लासहित आयोगको जनकपुर कार्यालयको क्षेत्राधिकार भित्रपर्ने मकवानपुर र उदयपुर जिल्ला गरी जम्मा १० जिल्लाका ६० जना फरक क्षमता भएका सहभागीको प्रतिनिधित्व गर्दै राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले नेपालको संविधानमा अपाङ्गमैत्रीका विषयमा समावेस भएपनि कार्यान्वयनको पाटो सुदृढ हुन नसकेकाले अपाङ्ग भएकाहरुले दयनीय अवस्थामा बाँच्नु परेको हो।
सुवेदीले भने, आज यसै सम्मेलनमा सहभागी हुन आएका साथीहरुले होटलको भुइतल्लासम्म पुग्न पनि घर्सेर हिड्नुपर्ने अवस्था छ। यदि अपाङ्गमैत्री संरचना भइदिएको भए यस्तो अवस्था हुदैनथ्यो। अपाङ्गहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी सबै क्षेत्रमा निकै असहज वातावरण रहेको र विशेषगरी ग्रामीण क्षेत्र र अशिक्षित समाजमा यो अवस्था अझ बढी दयनीय रहेको उनको भनाई थियो। सुवेदीले भने, अपाङ्गता भएका व्यक्तिहरुको विकास र पहुँच सुनिश्चित गर्न प्रदेश सरकारले पहल गरिदिनु पर्यो।
संविधान समानुपातिक र समावेशी भनिए पनि व्यवहारमा त्यसो हुन नसकेको मुख्यमन्त्री राउतले बताए। उनले भने, अधिकारको सुनिश्चितता गराउने ऐन कानून कार्यान्वयनमा उदासीनता छ। समाजका सबै वर्गको समानरुपमा राज्यबाटै कदर भएमात्र विकास सम्भव हुन्छ। राउतले भने, अपाङ्गता भएका व्यक्तिसँग समान व्यवहार भएको छैन्। तर, अहिले ऐन कानून कार्यान्वयनको जिम्मेवार प्रदेश सरकार पनि हो, त्यसैले अपाङ्गता भएका व्यक्तिको अधिकार प्रत्याभूति गराउन प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहने छ। राउतले भने, यस प्रदेशमा तपाईहरुको हकअधिकार सुनिश्चितताको लागि सरकारको तर्फबाट हरसम्भव प्रयास हुनेछ।
सम्मेलनको उद्घाटन सत्रपश्चात् प्रदेश २ मा अपाङ्गता भएका व्यक्तिको अवस्थाका विषयमा सतिश झाले जानकारी गराएका थिए। राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको कुल जनसंख्या ५लाख २३ हजार २१ रहेको छ जसमध्ये प्रदेश २ मा मात्रै ७० हजार ९१२ अपाङ्गता भएका व्यक्ति छन्।
रुढीबादी सोच र भेदभावको कारण यस प्रदेशमा अपाङ्गहरु समस्यामा पर्ने गरेको फरक क्षमता भएका किरण पासवानले बताए। उनले भने, अपाङ्गहरुलाई भाषाको समस्या छ, अपाङ्गमैत्री पूर्ण शिक्षाको अभावका कारण अधिकांश अशिक्षिते दयाको पात्र बन्न बाध्य छन्। फरक क्षमता भएका व्यक्तिहरुसँग कसैले वैवाहिक सम्बन्ध गाँस्न नचाहने हुनाले उनीहरुलाई जीवन सबल बनाउन निकै गाहे हुने गरेको रौतहटकी निलम न्योपानेले बताइन्।
बाध्यकारी ऐन नियमको अभावमा राज्यले गरेका निर्णयहरु सहजरुपमा अपांङ्गता भएका व्यक्तिहरुले पाउन नसकेको अवस्था रहेको छ। राज्यले निःशुल्क शिक्षाको अवधारणा ल्याएपनि अधिकांश अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गमैत्री विद्यालय नहुँदा शिक्षा आर्जनमा समस्या रहेको छ। फरक क्षमता भएका व्यक्तिभित्र अनेक प्रतिभाहरु भएतापनि अनुकुल वातावरण र अवसरको अभावमा उनीहरुले परनिर्भर हुनुपर्ने समस्या विद्यमान रहेको छ।
सम्मेलनमा उठेका सम्पूर्ण विषयहरुलाई समावेश गरी सोमबार जनकपुर घोषणापत्र सार्वजनिक गरिने आयोगका जनकपुर क्षेत्रीय कार्यालय प्रमुख दिपेन्द्रबहादुर सिंहले बताएका छन्।