‘राज्यको सुविधा गरिबले होइन, जातले पाउँछन्’
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा भ्रष्टाचारको मुद्दा जोडतोडका साथ उठेको छ ।
प्रधामन्त्रीदेखि प्रतिपक्षी दलका नेतासम्मले भ्रष्टाचारविरुद्ध कडा आवाज उठाएका हुन् । प्रम ओलीले संसदमा बोल्दै भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने उद्घोष गरे ।
आजैको संसद बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले राज्यले दिने सुविधा र भ्रष्टाचारबारे प्रश्न उठाए ।
‘हाम्रो देशमा राज्यले दिने सेवा सुविधा गरिबले होइन, जातले पाउँछन्’, उनले भने, ‘भ्रष्टाचारविरुद्ध प्रतिवद्धता आएको छ । प्रमले भ्रष्टाचार गर्दिन भन्नु भएको छ तर भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र जप्दा कसले पत्याउँछ ?’
आफू दुःख पाएर पहाडबाट मधेस झरेको बताउँदै उनले मर्दा सँगै लान नसकिने सम्पत्ती भ्रष्टाचार गरेर कमाउन जरुरी नभएको जिकिर गरे । ‘पहाडमा कोदो खान नपाएर मधेस झरेको गरिबको छोरो हुँ’, उनले भने, ‘मर्दा सम्पत्ती लान पाउँदैनौँ, किन भ्रष्टाचार गर्नू ? दृढ इच्छा शक्ति भएमा देश बनाउन कसैले रोक्न पाउँदैन ।’
प्रम ओलीप्रति लक्षित गर्दै उनले अघिल्लो कार्यकाल जस्तै अडानका साथ काम गर्नेमा विश्वास व्यक्त गरे । ‘अघिल्लो कार्यकालमा देश भयानक आर्थिक नाकाबन्दीमा थियो’, लिङ्देनले थपे, ‘एकातिरको भयानक नाकाबन्दीलाई चुनौती दिँदै प्रधानमन्त्रीले चीनसँग तेल, रेल, बिजुली र पारवहन सम्झौता गरेर ऐतिहासिक काम गर्नुभएको थियो । अब पनि त्यस्तै कामको अपेक्षा गरेका छौँ ।’