ड्राइभरले सोध्लान् : केपी ओलीलाई भोट दिनु भएन ?

ड्राइभरले सोध्लान् : केपी ओलीलाई भोट दिनु भएन ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिएका छन्। विश्वासको मत लिनु अघि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले आफूलाई मत नदिने मान्यज्यूलाई ड्राइभर, गार्ड र भान्सेले केपी ओलीलाई मत दिनु भएन ? भन्दै प्रश्न गर्ने बताए। उनले त्यत्तिबेला जवाफ दिन अप्ठेरो नपर्नेगरी विवेक प्रयोग गरेर मतदान गर्न सबै सांसदलाई आग्रह गरेका हुन्।

–दलिय आधारमा नीतिमा बाँधिएर सायद मतदान गर्न मिलेन भने मान्यज्यूहरुलाई बाहिर निस्किएपछि ड्राइभरले केपी ओलीलाई भोट दिनुभएन भनेर सोध्लान्। गेटमा जाँदा गार्डले सोध्लान्, केपी ओलीलाई भोट दिनु भएन ? तिनले त्यहाँ जागिरका कारण सोध्न सकेनन् भने भान्सामा भात दिँदै गर्दा सोध्लान् केपी ओलीलाई भोट दिनु भएन ? त्यत्तिबेला तपाईंलाई जवाफ दिन अप्ठेरो नपर्नेगरी मतदान नगर्नुहोला। तर, मलाई भोट दिन विभिन्न कारणले कठिन भए पनि चिन्ता नलिनुहोस्, देश बन्छ। मजाले सुत्नुहोस देश बन्छ।


–अहिलेको सरकारले लोकतन्त्र मास्ला र लोकतन्त्रका आधारभूत मान्यता मास्छ भन्ने विश्वास कसैलाई छैन तर भन्नु नपर्ने कुरा भन्नुपर्दा कति गाह्रो हुदोरहेछ ! प्रतिपक्ष भएर विरोधका लागि विरोध नगर्नुहोस्। प्रतिपक्षको भूमिका विरोधका लागि विरोध मात्र होइन। लोकतन्त्र मासिन्छ भन्ने चिन्ता कही कतै साथीसँग भए त्यो नराख्नु भए हुन्छ। आधा शताब्दीभन्दा अगाडिदेखि लोकतन्त्रकै लागि लडेका छौँ। म व्यक्तिगत रुपमा पनि आधा शताब्दी भन्दा बढी लडेको छु। मैले धेरै भन्नु पर्दैन साथीहरुले जान्नुहुन्छ।

–एउटा सरकार बनेको एक महिना पनि भएको छैन। विकृति, अन्धविश्वास यही सरकारले रोपेर हुर्काएको हो कि जस्तो गर्नुभयो ! कैलालीको घटनाबारे मैले रुवाबासी गरेको होइन। त्यो घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिइएको छ। छोडेको मान्छे फेरि पक्राउ परिसकेका छन्। सरकारले केही गरेन भन्ने कुरा होइन। सामाजिक पछ्यौटेपनका कारण त्यस्तो भइरहेको छ। त्यो अन्त्य गर्न सरकारले प्रभावकारी कदम चाल्छ सरकारले। कुनै पनि बलात्कार र सामाजिक अपराधका घटना जस्ता कुरामा दण्डहिनता सहन सकिँदैन। दरबारमार्ग, ललितपुरमा बलात्कारका काण्ड हुन्छन्। त्यहाँ मेलमिलाप हुन्छ। अब ति दिन गए। सरकारले काम गर्छ।


–धोती लगाउँनेहरुले बिर्सिएका छैनन् भन्नुभयो। भावनात्मक हिसाबले व्यख्या गर्नु फरक कुरा हो। संविधान अपरिवर्तनीय व्यवस्था होइन। संविधान असंशोधनीय दस्तावेज होइन। दुनियाँभरीकै संविधान संशोधन हुन सक्छ। समयको माग अनुसार संविधान संशोधन हुन्छ। लहड र कसैको जिद्धिका आधारमा संविधान संशोधन हुँदैन।

–हामी सबैलाई थाहा छ। हामी लडाईंमा रह्यौँ। द्वन्द्व भयो। शिविर खडा भए। लडाई सकियो। अब भनाभन सम्झाएर केही अर्थ छैन। दुई तिहाई होइन। सबै साथीहरुको समर्थनको अपेक्षा गरेको छु।

–हामीसँग भएको आरामदायी बहुमत, हामीसँग भएको दुई तिहाई बहुमत देश एक जुट छ भन्ने सन्देश जनतालाई दिन हो। यो शालिनताका साथ एकताका लागि हो, दम्भ प्रदर्शन गर्न होइन। म प्रधानमन्त्री नेकपा एमालेको होइन। एमाले र माओवादी केन्द्रको होइन नेपालको प्रधानमन्त्री हुँ। त्यही हिसाबले काम गर्छु। एमालेको पनि हो, माओवादी केन्द्रको पनि हो। एमाले र माओवादी केन्द्रको तालमेल र त्यसको नीति त्यसले छानेको नीतिकै पृष्ठभूमिमा बनेको हुँ। तर, म त्यसका लागि मात्र काम गर्ने होइन।

–सुनेका कुरा नगरौँ। काठमाडौंमा पानी नभएरै मेलम्ची ल्याउन लाग्या हो। समस्या छन्। तिब्र गतिमा समाधान गर्न चाहन्छौँ। गन्तव्य तोकेर लक्ष्यमा पुग्ने बाटो तय गरेर नीति कार्यक्रम तय गरेर योजना बनाएर त्यस योजनाका साथ अगाडि बढ्ने हो। ढुंगा टिपेर फ्यक्दा जहाँ खस्यो त्यही मेरो निशाना होइन।

–प्रतिनिधिसभाको बैठकमा र दुनियाँले सुन्नेगरी भनिरहेको छु, मैले बोलेका कुराको जवाफदेही छु। एकछिनका निम्ति अलमल्याएर राम्रा, असल कुरा गरेर उम्किने हिसाबले प्रधानमन्त्रीको पदमा आएको होइन

–चुनाव घोषणापत्र पढेर कण्ठस्थ पारेर आउँछु भन्दा अत्यान्त खुशी लाग्यो। बिहानबिहान चुनावी घोषणापत्र पाठ गर्ने होइन। देश बनाउने प्रतिबद्धता पत्र हो। परलोकको कुरा होइन इहलोकको कुरा हो।

–गुरु नपाइन सक्छ। गुरु पाइन भने पनि परीक्षामा फेल हुन्न। एकलव्य जस्तै हो। एकलव्यले गुरु नभए पनि पास गरे। द्रोणाचार्य नभए पनि उनका शिष्य उनी भन्दा कमजोर भएनन्।

–अब हामी मिलेर जाने र देश बनाउने हो। हामी वादविवाद प्रतियोगिता जस्तो गरेर कसले राम्रो बोल्यो भन्ने होइन। परिणाममा देखिनुपर्यो। म परिणाममा विश्वास गर्छु। देशको अर्थतन्त्रको अवस्था के छ ? म भन्दा अगाडिको प्रधानमन्त्री सरकार र दललाई मलाई भन्दा धेरै थाहा छ। म त भर्खर आएर बुझ्दै छु। कस्तो अवस्थामा छ देश ? लोकतन्त्र लोकतन्त्र हुनुपर्यो, जनतन्त्र हुनुपर्यो। आज विश्वासको मत लिने बेलामा मात्र होइन, फेरिफेरि पनि मेरा कामका बारेमा मान्यज्यूका प्रश्नको जवाफ दिनुपर्ने छ, दिन्छु।

–फेरि पनि आग्रह गर्न चाहन्छु। अघि जे सुकै भनिएको भएता पनि अझैपनि दलहरुले एउटै साझा निष्कर्षमा पुग्न नसकिने अवस्था छैन। जो दलले समर्थन गर्नु भएको छ आभार व्यक्त गर्छु। मेरो इमान्दारिता देश र जनताप्रति हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.