ओलीलाई तीन चौथाइ मत : पक्षमा २०८ मत, विपक्षमा ६०

ओलीलाई तीन चौथाइ मत : पक्षमा २०८ मत, विपक्षमा ६०

काठमाडौं : प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ बढी मत प्राप्त भएको छ। प्रधानमन्त्री नियुक्त भएको झन्डै एक महिनापछि ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन्।

०१५ सालमा बीपी नेतृत्वको कांग्रेस सरकारपछि ५९ वर्षमा पहिलोपटक मुलुकले बलियो सरकार पाएको छ। ०६२÷६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहमतीय आधारमा प्रतिपक्षबिनाको प्रधानमन्त्री बनेका थिए। तर, चुनावी प्रतिस्पर्धापछिको पहिलो बलियो सरकारको नेतृत्व गर्ने मौका ओलीले पाएका छन्।

राष्ट्रपतिबाट मंसिर ३ मा नियुक्त ओलीले आइतबार संसद्मा विश्वासको मतका लागि प्रस्ताव गरेका थिए। संसद्मा मतविभाजन प्रक्रियाबाट गरिएको मतदानमा ओलीले ७५.६३ प्रतिशत मत पाएका हुन्। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ओलीका पक्षमा २ सय ८ मत परेको छ भने विपक्षमा जम्मा ६० मत परेको छ। सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए।

प्रमुख विपक्षी कांग्रेसले मात्रै ओलीको विपक्षमा मत हालेको थियो। नेमकिपाका प्रेम सुवाल भने तटस्थ बसे। वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्री नियुक्त ओलीलाई मधेसकेन्द्रित राजपा नेपाल र संघीय समाजवादी फोरमले पनि समर्थन गरेका थिए। एमालेका १ सय २१, माओवादी केन्द्रका ५२ (एक जना सभामुखले मतदान नगरेको), राजपा १६ (रेशम चौधरी शपथ बाँकी), संघीय समाजवादी फोरम १६, राप्रपाका राजेन्द्र लिङदेन, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र स्वतन्त्र सांसद छक्कबहादुर मल्लले ओलीका पक्षमा मतदान गरेका थिए। ६३ जना सांसद रहेको प्रमुख विपक्षी कांग्रेसकै तीन जना सांसद मतदानमा अनुपस्थित थिए। नयाँ शक्तिका डा.बाबुराम भट्टराई पनि विदेशमा रहेकाले मतदानमा अनुपस्थित रहे।

त्यसअघि विश्वासको मतका लागि आग्रह गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व, समृद्धि र विकासका लागि आफूले कुनै पनि क्षमा (एक्स्क्युज) नमाग्ने गरी काम गर्ने प्रतिबद्धता जनाए। ‘म कुनै पनि एक्स्क्युज खोज्दिनँ, उत्तरदायी भएर काम गर्छु,’ उनले भने, ‘मेरो इमानदारी देश र जनताप्रति तथा विकास र समृद्धिप्रति हो।’ जनतासमक्ष आफूले गरेका प्रतिबद्धता र वाम गठबन्धनको साझा चुनावी घोषणाअनुसार अघि बढ्ने उल्लेख गर्दै ओलीले सिंगो देशलाई एक बनाउने दाबी गरे। ‘म एमालेको होइन, नेपालको प्रधानमन्त्री हुँ, त्यसैअनुसार अघि बढ्छु,’ उनले भने। सरकार हुँ भनेर आफूले दम्भ नदेखाउने भन्दै ओलीले भने, ‘प्रतिपक्षले जसरी पनि विरोध गर्छु भन्ने सुविधा छैन। प्रतिपक्षी पनि सहयोगी बन्नुपर्छ।’


– ‘म कुनै पनि ‘एस्क्युज’ खोज्दिनँ : ओली

– भाषण होइन, एक्सनमा जानुहोस् : दाहाल

– गुण र दोषका आधारमा समर्थन : गच्छदार

– ओलीको बोलीलाई विश्वास गरेका छौं : राजपा

– प्रदेशमा हामीलाई काँध दिनुभयो, यहाँ हामी दिन्छौं : फोरम

भ्रष्टाचार नियन्त्रण गरी समृद्धितर्फको यात्रा सुरु भएको उल्लेख गर्दै ओलीले भने, ‘यो यात्राको अगुवाइ सत्तापक्षले गर्ला तर यो अभियान हामी सबैको हो।’ प्रधानमन्त्री बन्नका लागि मात्र आफू प्रधानमन्त्री नभएको उल्लेख गर्दै ओलीले भने, ‘देशमा परिवर्तन गर्ने हो। भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ।’ आफ्नो पक्षमा दुईतिहाइ पुगे पनि आफू दमनकारी शासक नभई सेवक बन्ने उनले प्रतिबद्धता जनाए। व्यक्तिगत रूपमा लोकतन्त्रका लागि आधा शताब्दी लडेको उल्लेख गर्दै ओलीले भने, ‘लोकतन्त्र मास्ला कि भन्ने चिन्ता कसैले नलिए हुन्छ।’

एमालेकै वरिष्ठ नेता माधव नेपालले द्वन्द्व र विवादले देश थिलथिलो भएको भन्दै सहमतीय आधारमा देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताए। कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले गुण र दोषको आधारमा सरकारको समर्थन गर्ने भन्दै कांग्रेस ‘वाचडग’ को भूमिकामा रहने बताए। ‘हामी सय दिनसम्म हेर्छाैं, हनिमुन पिरियडसम्म सरकार कसरी जान्छ,’ उनले भने। संसदीय प्रणालीका लागि कांग्रेसले लामो संघर्ष गरेको भन्दै उनले कांग्रेसले संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विकासको नयाँ युगका लागि जनताले वाम गठबन्धनलाई स्पष्ट बहुमत दिएको बताए। ‘अब मार्मिक उपदेश होइन, एक्सनद्वारा जनताको मनोकांक्षा पूरा गर्ने काम सरकारले गर्नुपर्छ,’ उनले भने, ‘जनताले भाषण होइन, सीधै परिणाम खोजेका छन्।’ भ्रष्टाचार नियन्त्रण, विकृति र विसंगति, ढिलासुस्ती अन्त्य गर्न सरकारले दृढ कदम चाल्नुपर्ने उनले बताए। योभन्दा अर्को बलियो सरकार बन्ने अवस्था नरहेको तर्क गर्दैै उनले भने, ‘सरकार यति बलियो छ। जनताको यत्रो समर्थन छ। सरकारको हात माथि छ। अब सुशासन, स्थिरता, शान्ति र समृद्धिका पक्षमा एक्सन गरोस्।’ कुनै पनि दलले परम्परागत संसदीय अभ्यासमै रुमल्लिनुको अर्थ नरहेको दाहालले बताए।

राजपाका महेन्द्र रायले प्रधानमन्त्री ओलीको बोलीमा विश्वास गरेर सरकारलाई समर्थन गर्न लागेको बताए। ‘विगतमा जे–जति सहमति भए, पालना भएनन्। त्यसैले यसपटक प्रधानमन्त्रीको बोलीमा विश्वास गरेर समर्थन गर्छौं,’ उनले भने। सरकारलाई समर्थन गरेर हातमा हात मिलाउन आफूहरू तयार रहेको भन्दै उनले भने, ‘हामीलाई सँगै लैजाने कि नलैजाने ? ’ संविधान संशोधनपछि मात्र राजपा सरकारमा सहभागी हुने उनले स्पष्ट गरे।

संघीय फोरमकी सरिता गिरीले सरकारलाई दिएको विश्वासको मतको कदर गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरिन्। राप्रपाका राजेन्द्र लिङदेन र राजमोकी दुर्गा पौडेलले पनि सरकारलाई समर्थन जनाएका थिए। नेमकिपाका प्रेम सुवालले जनताकै बीचमा रहने भन्दै सरकारलाई समर्थन जनाउन नसक्ने घुमाउरो जवाफ दिए।

दाहालको रेकर्ड र ओली–गगन दोहोरी

ओलीलाई प्रधानमन्त्रीमा समर्थन जनाउने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आठ वटा प्रधानमन्त्रीको समर्थक आफू बसेको स्मरण गराए। ‘१० वर्षमा १० प्रधानमन्त्री भयौं। आठ वटा प्रधानमन्त्री बनाउने प्रस्तावक मै भएछु,’ उनले भने, ‘भविष्यमा कति प्रधानमन्त्री बनाएपछि गिनिज बुकमा मेरो नाम लेखिने रहेछ ? ’ दाहालले यस्तो धारणा राख्दा संसद्मा हाँसो छाएको थियो।

कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता विजय गच्छदारले आधिकारिक धारणा राखिसकेपछि कांग्रेसकै अरू तीन सांसदले प्रधानमन्त्रीको प्रस्तावको पक्षमा बोल्ने मौका पाएका थिए। सांसद गगन थापाले संविधान संशोधनको कुरा गर्नु मात्र पनि राष्ट्रघात भन्ने एमालेले अहिले संशोधनको कुरा गरेको भन्दै व्यंग्य गरे। स्पष्ट बहुमत हुँदाहुँदै दुईतिहाइको समर्थन खोज्नुले ओली ‘तानाशाही’ बन्ने खतरा रहेको थापाले आरोप लगाए। वाम गठबन्धनको घोषणापत्र कार्यान्वयनका लागि अब दिनगन्ती सुरु भएको भन्दै उनले थपे, ‘घोषणापत्रको प्रतिबद्धता अब नगदमा चाहिन्छ, खनखन पैसा गनेजस्तो।’

जवाफमा ओलीले कटाक्ष गरे। कांग्रेसका युवा नेता गगनको उमेरजति आफूले लोकतन्त्रका लागि लडेको भन्दै लोकतन्त्र मास्ने कुनै पनि आशंका नगर्न आग्रह गरे। कार्यान्वयन गर्न नै चुनावी घोषणापत्र बनेको उनले बताए। ‘बिहान–बिहान पाठ पढेर पारि तर्नका लागि होइन, देश बनाउनका लागि हो। कार्यान्वयन हुन्छ’, उनले भने। एकलव्यले गुरु नपाएजस्तो आफूले गुरु नपाए पनि काम गरेर देखाउने ओलीले बताए। ‘दलीय आधारमा नमिले पनि यो बैठकबाट बाहिर निस्केपछि ड्राइभर, गार्डले केपी ओलीलाई किन भोट दिनुभएन भनेर सोध्लान्,’ उनले ठट्यौली शैलीमा कांग्रेसलाई लक्ष्य गर्दै भने, ‘फर्की–फर्की आफ्नै मनले पनि सोध्ला, जवाफ दिने काम तपाईंहरूको !’

याे पनि पढ्नुहाेस् ।

गगनले भनेः दुईतिहाइको नाममा केपी ओली ‘तानाशाही’

प्रचण्डको प्रश्न : कतिजना प्रधानमन्त्री बनाए ‘गिनिज बुक’मा नाम लेखिन्छ ?

राजपाले ओलीलाई भन्योः हातेमालो गर्छौँ, लाने कि नलाने ?

ओली सरकारको ‘वाच डग’ कांग्रेस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.