फोहोरले भरिए नाला
नेपालगन्ज : वर्षातमा परेको पानीले केही मात्रामा पखालिएको नेपालगन्ज उपमहानगरपालिका–२ का न्युरोड लाइनको दक्षिणतिरको मुख्य नाला पुनः फोहोरले भरिएको छ।
भदौको पानीले बगाउँदा केही खाली देखिएको उपमहानगरपालिकाभित्रको मुख्य नाला ६ महिना नपुग्दै फोहोरले भरिएको हो। फोहोरका कारण नालीमा आउने पानी थुनिएको छ। दैनिक न्युरोड क्षेत्रबाट आवातजावत गर्ने नागरिक नालीको अवस्था हेर्दै नाक खुम्च्याउँछन्।
तर, सफा र स्वच्छ नगरको नारा लगाउँदै आएको उपमहानगरले नालीमा भरिएको फोहोर उठाउने विषयमा कुनै पहल थालेको देखिँदैन।
फोहोरले नाला थुनिँदा पानी जमेको छ। दैनिक फोहोर उठाउन नगरपालिकाले कर्मचारी खटाए पनि उनीहरूले मुख्य सडक छेउको फोहोर उठाउनेबाहेक अन्य कुनै काम गर्न सकेका छैनन्।
उपमहानगरको मुख्य सडक क्षेत्रभित्रको अवस्था हेरिनसक्नु छ। व्यवसायीका पसलबाट निस्केका कागज र होटल व्यवसायीले फोहोर नालामै मिसाउनाले भित्री क्षेत्रमा दुर्गन्ध फैलिएको नागरिकको गुनासो छ।
न्युरोड क्षेत्रको नाला मात्रै होइन, भित्री सडक छेउका सबै नालाको हविगत उस्तै छ।
फोहोरले नाला थुनिन थालेपछि स्थानीयले उपमहानगरको चर्को विरोध गरेका छन्। फोहोर सार्वजनिक नालीमा फाल्नेलाई कारबाही गरिनुपर्ने न्यरोड क्षेत्रका नागरिक बताउँछन्।
नला सफाइको विषयमा उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले आफूहरूले नाली सफाइका काम पनि सुरु गरेको दाबी गरिन्। ‘हामीले नाली सफाइमा कर्मचारीलाई खटाएका छौं, आजको बैठकमा पनि कुरा उठेको छ’, उनले भनिन्, ‘अब योजना नै बनाएर भित्री क्षेत्रमा सफाइका लागि पस्ने योजना बनाएका छौं।’
सम्बन्धित वडालाई नै सरसफाइको विषयमा निर्देशन दिइसकेकाले नालीमा जम्मा भएको फोहोर धेरै दिन समस्याका रूपमा नरहने उनले बताइन्।