ओली अवसर
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनचौथाइ बहुमतसहित प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन्। खसेका दुई सय ६८ मतमध्ये दुई सय ८ मत ओलीको पक्षमा परेको थियो भने विपक्षमा ६० मत परेको थियो। कांग्रेसले विपक्ष मत दिएबाहेक सबैजसो पार्टीको समर्थन ओली सरकारले प्राप्त गरेको छ। नेपाल मजदुर किसान पार्टीले पक्ष–विपक्ष कतै मत खसालेन भने नयाँ शक्तिका बाबुराम भट्टराई अनुपस्थित रहेबाहेक वाम गठबन्धन, संघीय फोरम, राजपालगायतको समर्थन ओलीले पाए।
नेपाली राजनीतिमा लामो समयपछि एउटा बलियो सरकार स्थापना भएको छ। यो सरकारसँग धेरै जनअपेक्षा जोडिएको छ। राजनीतिक स्थिरता, सुशासनसँगै आर्थिक समृद्धिको आम जनअपेक्षालाई मूर्तरूप दिने दायित्व अब यो सरकारको प्रमुख जिम्मेवारी भएको छ। संसद्को बलियो सहयोग र समर्थन रहेको यो सरकारसँग अब कुनै पनि बहानाबाजी गर्ने सुविधा छैन। जनताले महसुस गर्ने तहमा सरकारले आफ्नो उपस्थिति देखाउन सक्नुपर्छ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुक संसदीय अभ्यासमा अघि बढेको हो। यसअघि २०१७ सालमा बीपी कोइरालाको नेतृत्वमा बलियो सरकार गठन भएको थियो, जो काम गर्न नपाई अपदस्थ भयो। २०४६ सालपछि पनि बहुमतका सरकार गठन भए तर कांग्रेसभित्रको अन्तरकलह र गुटबन्दीका कारण बहुमतका सरकारहरूले पूर्ण अवधि काम गर्न पाएनन्। त्यसबाहेक पछिल्ला तीन दशकमा जति पनि सरकार बने, ती सबै गठबन्धन सरकारहरू अभ्यासमा रहे।
नेपाली राजनीतिको नियति नै गठबन्धन संस्कृति बन्न पुग्यो, जहाँ सत्तामुखी प्रवृत्ति बढी हावी भयो। सरकारहरू नीति र कार्यक्रमका आधारमा भन्दा सत्ता बाँडफाँटबाट प्रेरित भएर सरकार बन्ने र भत्किने प्रवृत्ति बढेर गयो। जसले गर्दा नेपाली राजनीति अस्थिर भयो। वर्ष दिन पनि नटिक्ने सरकारहरू बन्ने र भत्किने क्रमले आमजनतामा अन्योल र नैराश्य बढेर गयो। धेरै पछि अहिले वाम गठबन्धनको सरकार बनेको छ। दुई ठूला वाम पार्टीहरू एउटै पार्टी बन्ने प्रक्रिया पनि प्रारम्भ भएको छ र सँगै ओली सरकारले मधेसकेन्द्रित दलहरूको पनि समर्थन प्राप्त गरेको छ। सातैवटा प्रदेशमध्ये ६ वटामा वाम गठबन्धनकै सरकार छ भने एउटामा मधेसकेन्द्रित दलको सरकार छ। राष्ट्रपति, सभामुखलगायतका महŒवपूर्ण पदहरूमा वाम गठबन्धनकै वर्चस्व छ। इतिहासमै यति धेरै शक्तिशाली सरकार पहिलोचोटि गठन भएको छ। त्यसकारण पनि यो सरकारसँग जनताको अपेक्षा बढी छ।
शक्तिले दम्भ र उन्माद बढाउने जोखिम हुन्छ। इतिहासमा शक्तिशाली सरकार र शासकहरू स्वेच्छाचारी भएका कयौं दृष्टान्त छन्। पछिल्लो कालखण्डमा नेपाली राजनीतिमा उदाएका केपी ओलीसँग जनता र राष्ट्रले ठूलो अपेक्षा राखेका छन्। त्यसकारण उनमा शक्तिको दम्भ होइन, जनसमक्ष बाँडेका सपना पूरा गर्ने योजना र दृढता हुनुपर्छ। जनताले वाम गठबन्धनलाई भारी मत दिएर सरकारमा पुर्याउनुको एउटै कारण हो– मुलुकमा राजनीति स्थायित्व कायम हुन्छ र त्यसको जगमा आर्थिक विकासको बाटो लिन्छ। राजनीतिक स्थायित्व र आर्थिक समृद्धि केकसरी हासिल हुन्छ भन्नेतर्फ मिहीन ढंगले बहस र विश्लेषण भएका छैनन्।
चुनावका बेला दलहरूले राजनीतिक स्थिरता र आर्थिक विकासको नारा अघि सारे पनि त्यसमा अपेक्षाकृत छलफल र बहस भएनन्। घोषणापत्र औपचारिकताका लागि सार्वजनिक गरिए। तर अब सरकारका नीति, योजना र कार्यक्रममा मुलुकले केकसरी समृद्धिको बाटो पक्डन्छ, प्रस्ट योजना आउनुपर्छ। योजना बनाएर मात्रै पुग्दैन, अब ‘एक्सन’ मै उत्रनु जरुरी छ। धेरै योजना बने, सपना बाँडिए तर जनताले त्यसको प्रतिफल पाउनेमा सधैं निराशा हात लागेको छ। समयसँगै आउने विकास र परिवर्तनबाहेक राजनीतिक नेतृत्वको भिजन र अग्रसरताले आउने परिवर्तनको अनुभूति जनस्तरबाट खासै गर्न सकिएको छैन। धेरैपछि यस्तो अवसर वाम गठबन्धन र केपी ओली नेतृत्वको सरकारलाई मिलेको छ। कुनै पनि बहानाबाजी गर्ने वा उन्मुक्ति पाउने छुट नभएको वर्तमान सरकारले यो अवसरलाई जुन कुनै सर्तमा सदुपयोग गर्न सक्नुपर्छ।