विद्यार्थीलाई सोलार बत्ती
मलंगवा : सर्लाहीको मलंगवा नगरपालिका ५ भाडसरमा रहेको रामगुलाम जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई आइतवार सोलार बत्ती प्रदान गरिएको छ। वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमलटार, ललितपुरको सहयोगमा मलंगवा नगरपालिकाका मेयर निरसल साहले विद्यालयको कक्षा ९ र १० मा अध्ययरत दुई सय ३० जना विद्यार्थीलाई सोलार बत्ती वितरण गरेका हुन्।
साँझ-बिहान हुने विद्युत कटौतीबाट हैरान भएका विद्यार्थी परीक्षाको मुखमै सोलार बत्ती पाएपछि खुसी भएका छन्। विद्यार्थीलाई एक थान सोलार प्यानल, दुई थान सोलार बत्ती र एक थान ब्याट्री प्रदान गरिएको मलंगवा नगरपालिकाको ऊर्जा विकास अधिकृत श्यामकिशोर यादवले बताए।
वैैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले मलंगवा नगरपालिकाभित्रका सबै मावि तथा हरिपूर्वा, भेल्ही, सिसौटिया, पिपरिया, नोकेल्बा र सिमरा भगवतीपुरमा रहेका माध्यमिक विद्यालयमा झन्डै २७ सय थान सोलार बत्ती प्रदान गरेको छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पहाडी जिल्लामा भूकम्पपीडितलाई मात्रै सोलार बत्ती वितरण गरिरहे पनि आफूले विशेष पहल गरेर तराईको जिल्लामा सोलार बत्ती वितरणको व्यवस्था गरेको अधिकृत यादवले बताए। ‘मैले दोलखामा हुँदा लोडसेडिङका कारण तराईका विद्यार्थीलाई पठनपाठन समस्या भइरहेको छ भनेर केन्द्रमा कुरा राखें’, यादवले भने, ‘त्यसपछि केन्द्रले सर्लाही जिल्लाका विद्यार्थीका लागि २७ सय थान सोलार पठाएको हो।’