करियर परिवर्तन गर्दै हुनुहुन्छ ?
जिन्दगीको कुनै पनि समयमा हामीलाई आफ्नो करियर परिवर्तन गर्न मन लाग्ला। कोहीकोही करियर परिवर्तन गर्ने सोचमा हुनुहुन्छ होला।
एउटा छोडेर अर्को क्षेत्र अँगाल्ने योजना बनाउँदै गर्दा हामीसँग केही योजना हुनुपर्छ। नयाँ क्षेत्रमा करियर बनाउँछु भन्दै कोही सहयोग माग्न आउँछ भने उनीहरूलाई म केही सहयोग गर्न सक्छु। सर्वप्रथम, यसरी करियर परिवर्तन गर्नेहरूले आफ्नो मान्यता के हो भन्ने बारेमा स्पष्ट हुनुपर्छ। उनीहरूसँग मेरो केही प्रश्न हुन्छन्–
१. तपार्ईंका लागि महत्वपूर्ण के हो ?
२. तपार्ईंको जिन्दगीलाई के ले अर्थपूर्ण बनाउँछ ?
३. तपाईंको लक्ष्य के हो ?
४. आफ्नो करियरबाट तपाईं के चाहनुहुन्छ ?
यी प्रश्नहरूको उत्तर खोज्न थालियो भने तपाईंले आफैंलाई बुझ्न थाल्नुहुन्छ। र, आफ्नो नयाँ कामतिर पाइला चाल्ने कि नचाल्ने भन्ने जवाफ पनि पाउनु हुनेछ।
एकजना स्कुले शिक्षिका एन्ना मलाई भेट्न आइन्। आफ्नो शिक्षण पेसा उनको ‘प्यासन’ थिएन। त्यसैले, उनले नयाँ काम खोज्नुपर्थ्यो। मलाई उनको शिक्षण करियरको बारेमा जान्न मन लाग्यो। त्यसैले उनीसँग केही कुरा गरेँ। उनी अझै पनि शिक्षण पेसा मन पराउँथिन्। उनले जुन स्कुलमा १० वर्षदेखि काम गरिरहेकी थिइन्, त्यो स्कुलमा केही विषयवस्तुमा परिवर्तन भएको थियो। स्कुलको जस्तो स्थिति देखेर उनी शिक्षण पेसामा आएकी थिइन्, त्यो सबै परिवर्तन भएको थियो अहिले।
गफ गर्दै जाँदा अरू नयाँ तथ्यहरू खुल्न थाले। उनी शिक्षणबाहेकका अन्य पेसामा रमाउनै सक्दिन थिइन्। उनको सानैदेखिको रहर थियो, शिक्षण। शिक्षक बन्नकै लागि उनले मेहनत गरिन्।
‘एन्ना आफ्नो काममा के आवश्यकता देख्छिन् ?’ यो प्रश्नमा हामीले निकैबेर गफगाफ ग¥र्यौं। उनले देखेको आवश्यकतालाई विश्लेषण गर्न थाल्यौं। देखिएको आवश्यकता र उनको अहिलेको भूमिका मेल खाएन। त्यसपछि आफ्नो काममा नयाँ भूमिकासहित देखा परिन्, उनी। त्यसको केही हप्तापछि उनले स्कुलमा पनि राम्रो गर्न थालिन्। पारि श्रमिक पनि बढ्यो।
सबै एन्नाजस्तै हुन्छन् भन्ने हैन। केही मान्छेहरू आफूले रोजेको क्षेत्र गलत छ भन्ने सोच्छन्। उनीहरू नयाँ काममा लाग्न चाहन्छन्। यदि पुरानो क्षेत्रलाई छाडेर नयाँ करियर अँगाल्न चाहनुहुन्छ भने केही प्रश्न आफैंलाई सोध्नुहोस्–
१) तपाईंले रोजेको नयाँ करियर पुरानोभन्दा के कुरामा फरक छ ?
२) तपाईंले रोजेको क्षेत्रमा काम गर्ने वातावरण कस्तो छ ?
३) नयाँ काम गर्न तपाईंको योग्यता पुग्छ ?
४) नयाँ काममा लाग्दा तपाईंले के–के समस्याहरू झेल्नुपर्छ ?
आफूले गरिरहेको काम छोड्नुभन्दा पहिला कामको योग्यता, क्षमता, अनुभवको विकास गर्नुहोस्। पहिलो पटक काममा लाग्न थालेकाहरू भन्दा एउटा काम गर्दागर्दै नयाँ काममा लाग्न चाहनेहरू बढी दक्ष हुन्छन्। आफूले मन परेको क्षेत्रमा सम्बन्ध विस्तार गर्नुहोस्। उनीहरूले गरेको कार्यक्रमहरूमा जानुहोस्। मिलेसम्म काम पनि गर्नुहोस्। विज्ञापनका आधारमा कामको जिम्मेवारी लिनुभन्दा सम्बन्धहरूमार्फत कम्पनीको पोस्टमा नियुक्ति हुनुभयो भने तपाईंलाई फाइदा हुन्छ।
अन्त्यमा, करियर बनाउने कुरामा रणनीतिक हिसाबले अघि बढ्नुहोस्। योजना बनाउनु होस्। आफूले जिन्दगीमा प्राप्त गर्न चाहेको कुरा चिन्नुहोस् र त्यसैअनुसार आफ्नो पाइला चाल्नुहोस्। हरेक काममा ‘डेडलाइन’ राख्नुहोस् र त्यसैअनुसार अघि बढ्नुहोस्। यदि समयमै तपाईंले योजनाअनुसार कामहरू सक्दै जानुभयो भने आफ्नो मूल्यांकन गर्दा राम्रो परिणाम निस्कन्छ।
करियरलाई लिएर तपाईंले केही पुस्तक पनि पढ्न सक्नुहुन्छ। रिचार्ड बोल्सद्वारा लिखित ‘ह्वाट कलर इज योर पाराच्युट २०१२: अ प्राक्टिकल गाइड फर जब हन्टर्स एन्ड करियर चेन्ज’ तपाईंलाई उपयुक्त हुन सक्छ।
(लिजा लर्यु करियर विकासका सम्बन्धमा परामर्श दिन्छिन्। विगत १२ वर्षदेखि उनी यो क्षेत्रमा छिन्। उनी करियर कन्सल्टेन्सी पनि चलाउँदै आएकी छिन्। करियरका सम्बन्धमा विभिन्न अन्तरक्रियामा सहभागी हुनुका साथै प्रशिक्षण पनि दिन्छिन्।)