सडक डिभिजन पुगेर प्रकाशमान सिंहले भने : जथाभावी नभत्काउनुस्
काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका सडक निर्माण कार्य समय सम्पन्न गर्न खबरदारी गर्न सडक डिभिजन कार्यालय पुगेका छन् ।काठमाडौँका सडक निर्माण नभएर सवारी साधनको चाप परिरहेको गुनासो बढेपछि काठमाडौँ क्षेत्र नं १ का सांसदसमेत रहेका नेता सिंह आज सडक डिभिजन कार्यालय पुगेका हुन् ।
उनले सडक डिभिजनमा पुगी सडकसहित विकास आयोजना कति समयमा सम्पन्न हुने हो भनेर स्पष्ट लेखेर दिन आग्रह गरे । उनले तोकिएको समय निर्माण कार्य जसरी पनि सम्पन्न हुनु पर्ने बताए ।नेता सिंहले विकास निर्माणको नाममा सरकारी निकायहले जथाभावी भत्काउने र खन्ने गर्नाले सर्वसाधारणलाई ठूलो समस्या परेको भन्दै सरकारी निकायबीच समन्वय गरेर विकास निर्माणलाई चाँडो सम्पन्न गर्नुपर्ने बताए ।
सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख मुकुन्द अधिकारीले विद्युत्, खानेपानी, ढलले सहयोग नगरेका कारण सडक निर्माणका कार्य समयमा पूरा हुन नसकेको बताए ।उनले सबै निकाय बसेर समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । दुई दिनभित्र आयोजनाका होर्डिङ बोर्ड राखेर काम गर्ने उनले विश्वास दिलाए ।