सुनचाँदी व्यवसायी मुखियाको शव बोरामा भेटियो
झापा: सुनचाँदी व्यवसायी संघ झापाका सदस्य साजन मुखियाको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरी हत्या गरेर बोरामा हालेको अवस्थामा उनको शव सोमबार भेटिएको हो ।
फागुन २० गतेदेखि बेपत्ता रहेका मुखियाको शव शव बोराभित्र किरा परेर सड्न लागेको अवस्थामा इलामको रोङ गाउँपालिका-३ कोल्बुङमा भेटिएको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले मुखियाको शव भेटिएको पुष्टि गरेको । मेची राजमार्गको लसुने-अर्यालचोक सडकखण्डको जमुने डाँडामा सडकबाट करिब २० फिट तल जुटको बोरामा उनको शव फेला परेको हो ।
पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा शव भेटिएको रोङ गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईले जानकारी दिइन् ।
बिर्तामोडस्थित दावा ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक मुखिया फागुन २० गते श्रीमती रविनालाई बजार जाने भन्दै घरबाट निस्किएका थिए । मुखियाको पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइ सकिएको छ ।