नेपालको एकदिवसीय मान्यताको सम्भावना कायमै
काठमाडौं : जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सोमबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले परिचित प्रतिद्वन्द्वी हङकङलाई पाँच विकेटले पराजित गरेको छ। जितसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता पाउने सम्भावना पनि कायमै राखेको छ।
यद्यपि, यसअघि लगातार तीन खेलमा पराजित भएका कारण समूहगत चरणको अन्तिम खेलमा सफलता हात पारे पनि जारी प्रतियोगिताको सुपर सिक्स चरणमा प्रवेश पाउने नेपालको सम्भावना भने समाप्त भएको छ। समूहगत चरणको आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जिम्बावेसँग एक सय १६ रनले पराजित भएको नेपाली टोली दोस्रो खेलमा स्कटल्यान्डसँग चार विकेट र तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले हारेको थियो।
जारी प्रतियोगिताको सुपर सिक्स चरणमा पुग्न नेपाललाई हङकङविरुद्घ ठूलो अन्तरको जित आवश्यक थियो। सोमबारको खेलमा नेपाललाई हराउन सकेको भए हङकङ सुपर सिक्स चरणमा पुग्ने थियो र त्यो अवस्थामा आईसीसीबाट एकदिवसीय मान्यता पाउने नेपालको सम्भावना पनि पूर्ण रूपमा समाप्त हुने थियो। नेपाल विजयी भएका कारण रन रेटमा अगाडि रहँदै अफगानिस्तान जारी प्रतियोगिताको सुपर सिक्स चरणमा पुग्न सफल भयो।
समूह ‘बी’बाट सात अंकसहित जिम्बावे पहिलो, समान अंक बटुलेको स्कटल्यान्ड दोस्रो र दुई अंकसहित अफगानिस्तान तेस्रो हुँदै सुपर सिक्स चरणमा पुग्न सफल भए। समूहमा दुई अंकसहित नेपाल चौथो र समान अंक बटुलेको हङकङ पाँचौं भए। अफगानिस्तान, नेपाल र हङकङको समान दुई÷दुई अंक भए पनि नेट रन रेटमा बाजी मार्दै अफगानिस्तान अगाडि बढ्यो।
अफगानिस्तानको रन रेट ०.०३८, नेपालको रन रेट —०.८९३ र हङकङको रन रेट —१.१२१ रह्यो। जारी प्रतियोगितामा समूहगत चरणको खेलको समाप्तिपछि दुवै समूहबाट तीन÷तीन टोली सुपर सिक्स चरणमा पुग्ने प्रावधान छ। समूह ‘बी’ अन्तर्गत सोमबार नै खेलिएको जिम्बावे र स्कटल्यान्डबीचको खेल भने बराबरीमा सकिएको थियो। जिम्बावेले पहिले ब्याटिङ गर्दै दुई सय १० रन बनाएको थियो भने जवाफी ब्याटिङमा ओर्लिएको स्कटल्यान्ड पनि दुई सय १० रनमै अलआउट हुन पुग्यो।
नेपालविरुद्घको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको हङकङले ४८.२ ओभरमा अलआउट हुनुअघि एक सय ५३ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४०.४ ओभरमै केवल पाँच विकेट गुमाएर एक सय ५५ रन बनाउँदै विजयलक्ष्य पार गर्यो। सानो विजयलक्ष्य पछ्याए पनि एकपछि अर्को गर्दै प्रारम्भिक ब्याट्सम्यानहरूलाई गुमाएपछि रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई महत्वपूर्ण जित दिलाएका थिए।
केवल ६६ रनको कुल स्कोरमा पाँच विकेट गुमाएको नेपाललाई त्यसपछि उत्कृष्ट साझेदारी गर्दै रोहित र सोमपालले जितसम्म डोर्याएका थिए। रोहितले अविजित ४८ र सोमपालले अविजित ३७ रन बनाए। टोली अप्ठ्यारो स्थितिमा रहेको बेला रोहितले ८६ बलको सामना गरी पाँच चौका प्रहार गरे। आक्रामक रूपमा प्रस्तुत भएका सोमपालले पनि ४० बलको सामना गरी पाँच चौका हिर्काएका थिए।
त्यसअघि नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल शाह २६ र ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भएका थिए। अघिल्ला दुई खेलमा उत्कृष्ट ब्याटिङ गरेका कप्तान पारस खड्का पनि हङकङविरुद्घ भने ११ रनमै पेभेलियन फर्किएका थिए। दीपेन्द्रसिंह ऐरीले १२ रन बनाए भने आरिफ सेख दुई रनमै पेभेलियन फर्किए। त्यसअघि हङकङलाई सस्तोमा समेट्न नेपाली टोलीका बलर सन्दीप लामिछानेले तीन तथा करण केसी र वसन्त रेग्मीले दुई÷दुई विकेट लिएका थिए। सोमपाल कामी र ललित राजवंशीले पनि एक÷एक विकेट हात पारे। हङकङका ब्याट्सम्यान निजाकत खानले सर्वाधिक ४७ रन बनाएका थिए। कप्तान बाबर हायातले पनि २० र एहसान खानले २१ रन थपेका थिए। उक्त खेलमा नेपालका रोहितकुमार पौडेल म्यान अफ दी म्याच घोषित भए।
समूह ‘ए’ बाट भने वेस्ट इन्डिज (आठ अंक), आयरल्यान्ड (६ अंक) र संयुक्त अरब इमिरेट्स (चार अंक) सुपर सिक्स चरणमा पुग्न सफल भए। सोमबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा आयरल्यान्डले यूएईलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा दुई सय २६ रनले पराजित गर्यो। सोही समूहको अर्को खेलमा टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा ५४ रनले हराएका कारण त्यसको फाइदा यूएईलाई पुग्यो। त्यसैले समूहगत चरणको आफ्नो अन्तिम खेलमा पराजित भए पनि यूएई सुपर सिक्स चरणमा पुग्दै एकदिवसीय टोलीको मान्यता पाउन सफल भयो।
हाल विश्वकप छनोट खेलिरहेका १० राष्ट्रमध्ये वेस्ट इन्डिज, आयोजक जिम्बावे, अफगानिस्तान र आयरल्यान्ड आईसीसीका पूर्णकालीन सदस्य हुन्। नेदरल्यान्ड्सले भने विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेकाले सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाएको छ। बाँकी रहेका पाँच टोली नेपाल, यूएई, पपुवा न्युगिनी, स्कटल्यान्ड र हङकङमध्ये तीनवटा टोलीले आईसीसीबाट सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता सम्भावना थियो। यी पाँच राष्ट्रमध्ये स्कटल्यान्डले समूह ‘बी’ बाट र यूएईले समूह ‘ए’ बाट सुपर सिक्समा स्थान बनाउँदै एकदिवसीय मान्यता पक्का गरे। एकदिवसीय मान्यताका लागि बाँकी रहेको एक स्थानको टुंगो अब समूहगत चरणबाट बाहिरिएका टोलीबीच हुने प्ले अफ खेलबाट लाग्नेछ।