मेसीको अनुपस्थितिमा बार्सालाई सफलता
मालागा : स्पेनिस ला लिगा फुटबलको आइतबार बिहान खेलिएको खेलमा ‘लिग लिडर’ बार्सिलोनाले तालिकामा सबैभन्दा तल रहेको मालागालाई उसैको मैदानमा २-० गोलले हराएको छ। मालागाविरुद्घको खेलमा बार्सिलोना स्टार अर्जेन्टिनी खेलाडी लियोनल मेसीबिना नै मैदानमा ओर्लिएको थियो। आफ्नो तेस्रो छोरा जन्मिएका कारण मेसी उक्त खेलमा अनुपस्थित भएका हुन्।
बार्सिलोनाले खेलको पहिलो हाफमै दुवै गोल गरेको थियो। खेल सुरु भएको १५औं मिनेटमै बार्सिलोनाका लागि उरुग्वेका प्रभावशाली खेलाडी लुइस स्वारेजले पहिलो गोल गरेका थिए। २८औं मिनेटमा ब्राजिलियन खेलाडी फिलिप कोउटिन्होले गोल थपेपछि बार्सिलोना २-० ले अगाडि बढेको थियो। निर्धारित समयको ३०औं मिनेटमा सामुएल गार्सियाले रेफ्रीबाट सीधै रातो कार्ड पाएपछि तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी मालागा थप समस्यामा परेको थियो। जोर्डी अल्बालाई ‘फाउल’ गरेका कारण गार्सियाले रातो कार्ड पाएका थिए।
खेल सुरु हुनुअघि बार्सिलोनाले व्यक्तिगत कारण देखाउँदै मेसी अनुपस्थित रहने जनाएको थियो। त्यसको केही समयपछि नै मेसीले आफ्नी श्रीमतीले तेस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएको समाचार सार्वजनिक गरेका थिए। उनको तेस्रो छोराको नाम सिरो राखिएको छ। बुधबार खोलिने च्याम्पियन्स लिगको चेल्सीविरुद्घको खेलमा भने मेसी मैदानमा फर्कने बताइएको छ।
जारी सिजनको ला लिगामा २८ खेल खेलिसक्दा पनि बार्सिलोना अपराजित रहेको छ। जारी सिजनको ला लिगामा निरन्तर उपाधितर्फ लम्किरहेको ‘लिग लिडर’ बार्सिलोनाले आफ्नो निकटतम प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग ११ अंकको अग्रता लिएको छ। बार्सिलोनाको ७२ अंक छ भने एक खेल कम खेलेको एट्लेटिको म्याड्रिडको ६१ अंक छ। तालिकाको तेस्रो स्थानमा आसीन रियल म्याड्रिडको २८ खेलबाट ५७ अंक छ। तालिकाको अन्तिम (२०औं) स्थानमा रहेको मालागाले भने १३ अंकमात्र बटुल्न सकेको छ।
साबिक विजेता रियल म्याड्रिडले भने आफ्नो पछिल्लो खेलमा इबरलाई उसैको मैदानमा २—१ गोलले पाखा लगायो। रियल म्याड्रिडका लागि स्टार पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले दुवै गोल गरे। ३४औं मिनेटमा रोनाल्डोले रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए। ५०औं मिनेटमा इबरका लागि इभान रामिसले जवाफी गोल गरे। ८४औं मिनेटमा रोनाल्डोले अर्को गोल थप्दै रियल म्याड्रिडलाई विजयी बनाए। लेभान्तेले गेटाफेलाई उसैको मैदानमा १—० ले हरायो भने भ्यालेन्सियाले पनि सेभिललाई उसैको मैदानमा २-० गोलले पाखा लगायो।