ग्रामीण क्षेत्रमा ब्यूँतँदै भलिबल
बैतडी : केही वर्षयता जिल्लाको ग्रामीण क्षेत्रमा खस्कँदै गएको भलिबल खेलको लोकप्रियता पछिल्लो समय फेरि बढ्न थालेको छ। देश संघीय संरचनामा गएसँगै बैतडीका स्थानीय तहहरूले भलिबल खेललाई प्राथमिकतामा राखेका छन्। स्थानीय तहले बजेट नै विनियोजन गरेर भलिबल प्रतियोगिता आयोजना गरेपछि यसको लोकप्रियता बढ्न थालेको हो।
‘भलिबल पहिलेदेखि नै सबैले रुचाएको खेल हो। बीचमा केही समय यसमा सुस्तता आएको थियो। अहिले स्थानीय तहहरूले धमाधम प्रतियोगिता आयोजना गर्न थालेपछि जिल्लाका ग्रामीण क्षेत्रमा समेत भलिबल खेलको आकर्षण बढ्दै गएको छ’, भलिबलका राष्ट्रिय प्रशिक्षक हरिसिंह भण्डारी भन्छन्, ‘स्थानीय तहहरूले आयोजना गरेका प्रतियोगितामा ग्रामीण क्षेत्रमा लुकेर रहेका खेलाडीहरूको क्षमता पनि बाहिर आउन थालेको छ। यसले भलिबल खेलको विकासमा टेवा पुर्याउने पक्का छ।’
सरकारी स्तरबाटै भलिबल खेलमा लगानी भएपछि ग्रामीण क्षेत्रका खेलाडीलाई प्रतिभा देखाउने अवसर मिलेको जिल्ला खेलकुद विकास समिति बैतडीका सदस्य वसन्त विष्टले बताए। उनले भने, ‘बैतडी जिल्लाले पहिला पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको थियो। भलिबल खेलमा बीचमा केही सुस्तता आए पनि अहिले स्थानीय तहहरूले भलिबललाई पुनः जगाउने प्रयास थालेका छन्। यो निकै सराह्रनीय काम हो।’
ग्रामीण क्षेत्रमा लुकेर रहेका भलिबल खेलाडीको क्षमता अभिवृद्धि गर्दै समग्र खेल क्षेत्रकै विकासमा योगदान पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए। उनले भने, ‘खेल क्षेत्रको विकास गर्नु स्थानीय सरकारको दायित्व पनि हो। त्यही दायित्व पूरा गर्न हामीले भलिबल प्रतियोगिता सञ्चालन गर्न थालेका हौं। विजेतालाई नगद पुरस्कार पनि दिन्छौं। यसले खेलाडीलाई थप हौसला मिलेको छ।’
जिल्लाको डिलासैनी गाउँपालिका, सुनयाँ गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र पुरचौंडी नगरपालिकाले चालु आर्थिक वर्षमा भलिबल प्रतियोगिता सम्पन्न गरिसकेका छन्। ‘भलिबल खेलप्रतिको घट्दो आकर्षण बढाउन र राष्ट्रिय खेलाडी उत्पादनका लागि हामीले प्रतियोगिताको आयोजना गरेका हौं। यसले हाम्रो नगरमा भएका खेलाडीको क्षमता प्रदर्शन भएको छ। आगामी दिनमा पनि हामी यसलाई निरन्तरता दिनेछौं’, मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायक भन्छन्, ‘खेल स्वस्थ नागरिकका लागि आवश्यक पनि छ।’
राष्ट्रिय प्रशिक्षक हरिसिंह भण्डारी भन्छन्, ‘स्थानीय तहहरूले भलिबल क्षेत्रको विकासका लागि गरेको पहल राम्रो छ। यसले खेलाडीको मनोबल बढाएको छ।’
जिल्लाको दोगडाकेदार गाउँपालिका पनि केही दिनमै भलिबल प्रतियोगिता आयोजना गर्ने तयारीमा छ। ‘अन्य स्थानीय तहले स्थानीयस्तरमै भलिबल आयोजना गरे पनि दोगाडाकेदारले भने जिल्लास्तरीय वा क्षेत्रस्तरको खेलको तयारी गरेको छ।
भलिबल पहाडी क्षेत्रमा निकै लोकप्रिय खेल हो। पछिल्लो समयमा यसको विकासमा कसैको ध्यान जान सकेको थिएन। ‘गाउँपालिकामा रहेका खेलाडीको क्षमता विकासका लागि हामीले प्रतियोगिता सञ्चालन गरेका हौं’, सुनर्या गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले भने, ‘खेलाडीको क्षमता विकासका लागि हामी गाउँपालिकाको तर्फबाट सबै सहयोग गर्न तयार छौं।’
जिल्लाका पाँचवटा स्थानीय तहले भलिबल प्रतियोगिता सम्पन्न गरिसकेकै अवस्थामा केही दिनपहिले सम्पन्न भएको राष्ट्रपति रनिङ सिल्डमा पनि खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाएका थिए। यसले खेलाडीलाई भलिबलप्रति लाग्न थप हौसला दिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए। उनले भने, ‘पहिला हामी जिल्ला खेलकुद विकास समितिबाट मात्रै वर्षको एक पटक राष्ट्रपति रनिङ सिल्डमा भलिबलको आयोजना गथ्र्यौं। अहिले स्थानीय तहहरूले पनि भलिबल खेलमा चासो दिएका छन्।’