दिदी भेनससँग हारिन् बहिनी सेरेना
क्यालिफोर्निया : आमा बनेका कारण लामो समयपछि कोर्टमा फर्किएकी अमेरिकी टेनिस स्टार सेरेना विलियम्स बीएनपी परिबस ओपन टेनिस प्रतियोगिताको मंगलबार बिहान खेलिएको खेलमा आफ्नै दिदी भेनस विलियम्ससँग पराजित भएकी छन्। महिला एकलतर्फको तेस्रो चरणको खेलमा ३६ वर्षीया बहिनी सेरेनालाई ६-३, ६-४ को सोझो सेटमा हराउँदै ३७ वर्षीय भेनस प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुगिन्।
भेनसले सेरेनालाई सन् २०१४ पछि पहिलोपटक हराएकी हुन्। सबैभन्दा पहिले सन् १९९८ मा भएको ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको दोस्रो चरणमा भेनसले सेरेनालाई हराएकी थिइन्। त्यति बेला भेनस १७ र सेरेना १६ वर्षका थिए। पछिल्लोपटक गत वर्षको अस्ट्रेलियन ओपनको फाइनलमा भेनस र सेरेनाबीच भिडन्त भएको थियो। त्यति बेला फाइनलमा दिदी भेनसलाई हराउँदै सेरेनाले २३औं ग्रान्डस्लाम उपाधि चुमेकी थिइन्।
‘टेनिस कोर्टमा दिदीबहिनीबीच यो उत्कृष्टताको लडाइँ लामो समयदेखि चल्दै आएको छ। लामो समयपछि आज भेनसले आफूलाई अब्बल साबित गरिन्’, भेनस र सेरेनाबीचको खेलको मजा लिएका चर्चित स्विस टेनिस स्टार रोजर फेडेररले भनेका छन्। ‘यो बीचमा आमा बनेका कारण सेरेना लामो समय कोर्टभन्दा बाहिर रहिन्। त्यसैले आजको खेलमा म भाग्यमानी साबित भएँ’, बहिनीलाई हराएपछि भेनसले भनिन्। खेल सकिँदा दुवै दिदबहिनी प्रफुल्ल देखिन्थे।
महिला एकलतर्फकै तेस्रो चरणको अर्को खेलमा दोस्रो वरीयतामा आसीन डेनिस खेलाडी क्यारोलिन वजनिएस्कीले बेलारुसकी अलेकस्यान्ड्रा सस्नोभिचलाई ६-४, २-६, ६-३ अंकले पराजित गरिन्। पुरुष एकलतर्फको तेस्रो चरणको खेलमा भने पहिलो वरीयतामा आसीन फेडेररले सर्वियाका फिलिप क्राजिनोभिचलाई ६-२, ६-१ को सोझो सेटमा पाखा लगाए। अर्को खेलमा फ्रान्सका जेरेमी चार्डीले आफ्नै राष्ट्रका एड्रियन मानारिनोलाई ७-५, ४-६, ६-१ अंकले पराजित गरे।