सहरमा सायरीको वर्षा
‘सायरी भनेको आवाज हो। एक किसिमको पागलपन हो। लेख्ने पनि पागल सुन्ने पनि त्यस्तै हुन्छन्।’
काठमाडौं :
तुम मेरे ख्वावों कि ताविर भी हो सकती हो
मैं तो राँझा हुँ मेरी हीर भी हो सकती हो।
उर्दु सायर साकिब हारुनीले यो सायरी सुनाउँदा साँझ झमक्कै परिसकेको छ। काठमाडौं छेवैको जुगल नाघेर आएको चिसो हिमाली हावाले राजधानीको साँझ चिस्याउँदै लगेको छ। जीवनलाई फरक दृष्टिबाट हेर्ने कवि, गीतकारलाई चाहिँ त्यो चिसोको कुनै असर छैन। थापागाउँको लेखन कुञ्जभित्रको धुन भिन्न छ। गजल र सायरीका प्रत्येक पंक्तिबीच ‘वाहवाह’ थपिएको थपियै छ। ठीकै हो, स्वादिलो शेर वा सायरीका पंक्तिपिच्छे ‘वाहवाह’ हुनु मुसायरा संस्कृति नै हो।
मुसायरालाई गुञ्जायमान पार्न मञ्चमा पुगिसकेकी छन्, गीतकार शीतल कादम्बिनी, उर्दु सायर साकिब हारुनी र उर्दु–नेपाल एकेडेमीका अध्यक्ष तथा अभियन्ता इम्तियाज बफा। सोमबार उर्दु भाषामा मुसायरा, नेपालीमा गीत÷गजलको सम्मेलनले चिसो साँझको माहोल तताउँदै लगेको थियो।
लेखन कुञ्जको हलमा कवि, गजलकार र साहित्यिक मनहरूमा उत्सुकता देखिन्छ। उर्दु गजल र सायरीको मुसायरा हुन लागेको भएर हुनसक्छ उर्दु साहित्यका पारखीहरू पनि छन्, काठमाडौंका औसत कवि सम्मेलनमा सधैं नदेखिने नयाँ अनुहार।
केही बेरअघि मात्र यूएस बङ्लाको विमान त्रिभुवन विमानस्थलमै दुर्घटना भएको घटनाले एक खालको त्रासको माहोल थियो बाहिर। तर, लेखन कुञ्जभित्र त्यो त्रासद दुर्घटनाको छाया पर्न भ्याएको थिएन। सहभागीमध्ये अधिकांशलाई दुर्घटनाको जानकारीसमेत थिएन।
सुमधुर आवाजमा हारुनीले शेर गाउँदै कार्यक्रम सुरु गरे। दर्शकदीर्घामा उनको गजलको रौनक तुरुन्तै छाइहाल्यो। कपिलवस्तुमा जन्मेका हारुनीले अध्ययनको सिलसिलामा भारत छँदा उर्दु साहित्यको अभ्यास उतै गरेका थिए। त्यहाँ हुने हरेक कवि सम्मेलन तथा साहित्यिक कार्यक्रममा सहभागी हुन्थे। हिन्दी र उर्दु कविता, गीत सुन्दासुन्दै उनी पनि लेख्न थाले। रहरले गजल लेख्न सुरु गरेका हारुनी हाल पूर्ण रूपमा गजलमै समर्पित छन्।
उर्दु भाषा साहित्यको उन्नयनमा लागेका उनले उर्दु साहित्यको अध्ययन र तालिम पनि लिएका छन्। लगत्तै उर्दु गजलसंग्रह पनि प्रकाशन गर्ने तयारीमा छन् उनी। दुनियाँको सबैभन्दा शक्तिशाली चिज नै माया हो भन्ने हारुनी शृंगारिक गजल बढी सुनिने र बजारमा माग बढी हुने दाबी गर्छन्। उनी पनि प्रेमका गजल बढी लेख्छन्।
वक्त के साँचे मेँ तुम को अभि ढलना होगा
यानी कि पैँतरा तुम को भी बदलना होगा
वाहवाह पाउने पालो अब इम्तियाज बफाको। उनको यो शेरमा दर्शकले दिएको वाहवाहले हल पुनः गुञ्जियो। विराटनगरका इम्तियाज बफा उर्दु भाषामा गीत, रुवाई, गजल, नजम, सायरी आदि रचना गर्छन्। उनी भन्छ्न्, ‘सायरी भनेको त दिलको आवाज हो। एक किसिमको पागलपन हो। लेख्ने पनि पागल सुन्ने पनि त्यस्तै हुन्छन्।’ युवा उमेरमै सायरी लेख्न थालेका उनी बहरमा र नियममा भने १५ वर्षदेखि लेखिरहेका छन्।
गजल लेखेर पैसा कमाउँछु भन्ने सोच्यो भने त्यो असफल हुन्छ तर राम्रो लेख्यो भने पैसा र अवसर पनि सँगैसगै आउने उनको दाबी छ। उनी गजल गायनकै सिलसिलामा टर्की, भारत र नेपालका विभिन्न सहरमा पुगिसकेका छन्। उर्दु भाषामा गजलसंग्रह पनि निकालिसकेका छन्। सायरीमा एक खालको नशा छ, एक खालको आनन्द छ। लेख्दालेख्दै गजलसँग प्रेम बसेको उनी सुनाउँछन्।
जबदेखि तिम्रो बास्ना आयो मन्द मन्द
बगैंचामा डुल्न मैले गरिदिएँ बन्द।
कस्लाई भनुँ खराब यहाँ कस्लाई भनुँ असल
जताततै थापेका छन् चाहनाका पसल।
यी हरफ हुन्, गीतकार शीतलका। दुईजना उर्दु भाषाका गजलकारका बीचमा नेपाली भाषामा आफ्ना गजल सुमधुर स्वरमा वाचन गर्दै स्टेजमा उत्रिन् उनी। माहोल फेरि तात्यो। दर्शकले हुटिङ गरे, तालीको फोहरा छुट्यो।
करिब दुई दशकदेखि गीत गजल लेख्दै आएकी शीतलका पछिल्लो समय ‘कहाँ थियौ रंगमञ्च छुटेपछि आयौ’, झुमा झुम्कावाली आदि बोलका गीत चर्चित छन्।
उनी अनुभव सुनाउँछिन्, ‘मैले लेख्ने गीतको माग नै बढी छ। पु¥याउनै गाह्रो छ। गीत लेख्न सबै अवस्थामा सकिन्नँ। मुड चलेको बेलामा रचना गरेका गीत जीवन्त बन्छन्।’ कुनै कुनै बेला गीतको तरंग यति छचल्किन्छ कि उनलाई कापीमा टिप्न हतारो भइसक्छ।
चितवनमा जन्मेर नेपालगन्जमा हुर्केकी शीतल पूर्वदेखि पश्चिमसम्मका सबै क्षेत्रका गीत लेख्न सक्छिन्। उनको हाल जीवन चलाउने बाटो नै गीत लेख्नु हो। उनी थप्छिन्, ‘गीत नै मेरो खुसी, मेरा आफन्त र मेरो जिन्दगी हो।’
घोस्ट राइटिङ नेपालको प्रस्तुति ‘गीत गजल र शीतल’ शीर्षक दिएको कार्यक्रम टिकटमा साहित्य शृंखलाअन्तर्गत आयोजित थियो। कुञ्ज थियटरको आयोजनामा टिकटमा गीत गजल सुन्ने र सुनाउने कार्यक्रम सुरु गरिएको सञ्चालक कमल ढकालले बताए। उनी भन्छन्, ‘साहित्यलाई केही लगानी गरेर सुन्ने र पढ्ने वातावरण बन्यो भने लेखक, स्रष्टा भोकभोकै मर्नु पर्दैन। लेखेरै बाँच्नसक्ने वातावरण बन्छ।’ हरेक महिना यस्ता कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको पनि उनले बताए।