गोठमै बच्चा जन्माउँछन् एकतिहाइ

गोठमै बच्चा जन्माउँछन् एकतिहाइ

सुर्खेत : सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुँदा प्रोत्साहन स्वरूप भत्ता उपलब्ध गराउन थाले पनि ग्रामीण क्षेत्रका महिला अहिले पनि घर र गोठमै सुत्केरी हुने गरेका छन्। सुर्खेतमा ३० प्रतिशत महिलाले असुरक्षित रूपमा गोठमै बच्चा जन्माउने गरेको पाइएको छ।

सरकारले नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा प्रोत्साहनबापत भत्ता उपलब्ध गराउँदै आएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाभर हाल ७० प्रतिशत महिला मात्र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने गरेको जनाएको छ। कार्यालयले बाँकी महिलाले भने असुरक्षित रूपमै घर तथा गोठमै बच्चा जन्माउने गरेका छन्।

सामाजिक अन्धविश्वास र धार्मिक मान्यताका कारण जिल्लामा अहिले पनि घरमै सुत्केरी गराउने संस्कार कायमै छ। अर्कोतर्फ जानकारी भएर पनि भौगोलिक विकटता र नजिकै स्वास्थ्य संस्था नहुँदा महिला असुरक्षित रूपमा सुत्केरी हुन बाध्य छन्।

ग्रामीण क्षेत्रमा अन्धविश्वासका कारण घरभित्र सुत्केरी हुँदा अशुभ हुने भन्दै गोठमा सुत्केरी गराउने चलन छ। यसले गर्दा पनि महिला र बच्चाको स्वास्थ्यमा जोखिम हुने गरेको हो।

सुर्खेतसहित कर्णाली प्रदेशका हिमाली जिल्लामा सुत्केरीलाई छुन नहुने भ्रम छ। यसकारण पनि गोठमै सुत्केरी गराउने गरिएको छ। यस्तै, ग्रामीण भेगका महिलाले गर्भवती हुँदा सुरक्षामा ध्यान नदिँदा गर्भमै बच्चाको मृत्यु हुने गरेको कार्यालयका सूचना अधिकारी वसन्त श्रेष्ठले बताए।

उनले भने, ‘अहिले पनि महिला घरमै सुत्केरी हुन्छन्, यसले मातृशिशुको सुरक्षामा निकै चुनौती थपिएको छ।’

चार पटकसम्म नियमित गर्भ जाँच गराउनेलाई थप चार सय रुपैयाँ दिने गरे पनि करिब ७० प्रतिशत गर्भवतीले मात्रै नियमित गर्भ जाँच गराउने गरेका छन्। बाँकी ३० प्रतिशतले दुई पटकभन्दा बढी जाँच नगराएको स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार आव ०७१÷७२ मा गर्भवती भएका ६ हजार ८ सय १४ जनामध्ये पाँच हजार चार सय ४१ जनाले मात्र स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएका छन्।

यस्तै, एक हजार तीन सय २० जना गर्भवती घरमै सुत्केरी भएको तथ्यांक छ। आव ०७२÷७३ मा जिल्लाका पाँच हजार चार सय ८५ जना महिलाले सुरक्षित रुपमा प्रसूति सेवा लिएका छन् भने एक हजार तीन सय २० जना महिला घरमै सुत्केरी भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

तथ्यांकअनुसार आव ०७३÷७४ मा सात हजार एक सय दुई जना गर्भवती महिलामध्ये एक हजार एक सय ७५ जनाले असुरक्षित रूपमा घर र गोठमै बच्चा जन्माएका छन्। तीमध्ये पाँच हजार नौ सय २७ जनाले भने सुरक्षित प्रसूति सेवा लिएको पाइएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा एक सय १७ जना नवजात शिशुको घरमै मृत्यु भएको छ। यस्तै, १३ जना नवजात शिशुको मृत्यु अस्पतालमा भएको कार्यालयले जनाएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले भने, ‘घरमै सुत्केरी गराउँदा आमा र बच्चाको ज्यानै जाने गरेको छ। सामाजिक मान्यता र अन्धविश्वासका कारण महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा आउँदैनन्।’

सबै गर्भवती महिलालाई सुरक्षित रूपमा स्वास्थ्य संस्थामै सुत्केरी गराउने गरी चेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले जनाए।

यसैबीच, चालु आवको ६ महिनामा स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलालाई ३८ लाख रुपैयाँ प्रोत्साहनस्वरूप वितरण गरिएको छ। नौ वटा स्थानीय तह रहेको सुर्खेतमा सरकारले स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच र सुत्केरी गराउनेलाई प्रोत्साहन भत्ताबापत ३८ लाख ४१ हजार रुपैयाँ वितरण गरेको हो।

स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने सबै आमालाई रकम वितरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।


सुरक्षित प्रसूति सेवाबारे जानकारी लिन जम्मा भएका सुर्खेत गढीका महिला।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.