२३ रूसी कूटनीतिज्ञ देशनिकाला
लन्डन : बेलायती प्रधानमन्त्री टेरेसा मेले लन्डनस्थित रूसी राजदूतावासमा कार्यरत २३ कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएकी छन्। पूर्वगुप्तचर ६६ वर्षीय सेर्गेइ स्क्रिपाल र उनकी पुत्री युलिआलाई विष दिएको घटनामा उनीहरूको संलग्नता भएको भन्दै बेलायतले उनीहरूलाई देशनिकाला गरेको हो।
यसै महिनाको शुरुमा भएको घटनाका पीडित ती बाबु छोरीको अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ। टेरेसाले बेलायती संसद्मा बोल्दै उनीहरूलाई देशनिकाला गरिएको जानकारी दिइन्। देश निकालाको घोषणा गरिएकालाई बेलायत छोड्न एक साताको समयसीमा दिइएको छ। भियना सम्मेलनअनुसार उनीहरूको व्यवहार नभएकाले देशनिकाला गर्नुपरेको मेले दाबी गरिन्।
बेलायतले तीस वर्षयता पहिलोपल्ट यति ठूलो मात्रामा विदेशी कूटनीतिज्ञलाई देशनिकाला गरेको हो। बेलायतको कदमपछि रूसलाई अप्ठेरो पर्ने मेले जिकिर गरिन्। बेलायतस्थित रूस सरकारको सबै सम्पत्ति पनि जफत गरिने मेले खुलासा गरेकी छन्। उनले भनिन्, ‘हामी बेलायतस्थित रूसको सबै सम्पत्ति जफत गर्नेछौं। बेलायती नागरिकविरुद्ध प्रयोग गरिएको प्रमाण भेटिएका रूसी सम्पत्ति हामी छोड्दैनौं।’
पूर्व डबल एजेन्ट सर्गेइ स्क्रिपललाई विष दिएर हत्या गर्ने कोसिस भएको थियो। त्यसमा रूसको हात रहेको बेलायती आरोप छ। रूस सरकारले भने ती बाबु छोरीको हत्या प्रयासमा ती कूटनीतिज्ञहरूको संलग्नतालाई अस्वीकार गर्दै आइरहेको छ। उक्त घटनामा रूसले सहयोग गर्ने बताउँदै आएको छ।
उनले रूससँगको कूटनीतिक सम्बन्धलाई टुटाउन भने नचाहेको स्पष्ट पारेकी छन्। यद्यपि द्विपक्षीय उच्चस्तरीय कूटनीतिक सम्पर्क भने तत्कालका लागि स्थगित गरिएको बेलायतले जनाएको छ। प्रधानमन्त्री मेले रूसमा आयोजना हुने विश्वकप प्रतियोगिताको कुनै पनि कार्यक्रममा बेलायती राजपरिवारका कुनै सदस्य वा कुनै मन्त्री सहभागी नहुने पनि स्पष्ट पारेकी छन्।