निजी स्कुलद्वारा रकम असुल्न अतिरिक्त कक्षा

निजी स्कुलद्वारा रकम असुल्न अतिरिक्त कक्षा

 

काठमाडौं : रानीवारीका एक अभिभावक हरेक दिन छोरी लिएर हस्याङफस्याङ गर्दै बिहान ६ बजे स्वयम्भूस्थित एक्सेल्सियर स्कुल पुग्छन्। उनकी छोरी पढाइमा अब्बल छिन्। तर पनि उनलाई स्कुलले बाध्य पारेर ‘एक्स्ट्रा’ कक्षाको नाममा बिहानै बोलाउँछ। बेलुका पनि घर पुग्दा छ बजिसकेको हुन्छ।

‘छोरीलाई नियमितबाहेक थप पढाइको आवश्यकता पर्दैन तर स्कुलले एक्स्ट्रा कक्षामा बस्नैपर्ने अनिवार्य नियम बनाएको छ’, ती अभिभावकले भने, ‘छोरीलाई दैनिक बिहानै स्कुल ल्याउनुपर्ने बाध्यता त छँदै छ। उनलाई आवश्यकता नै नपरेको एक्स्ट्रा कक्षाको नाममा थप शुल्क तिर्नुपरेको छ।’

बिहानै छोरीलाई स्कुल पुर्‍याउनुपर्दा बिहानको खानादेखि खाजा खानसमेत समस्या परेको उनको दुखेसो छ। ‘स्कुलले खानाको नाममा पनि चर्को शुल्क लिन्छ। घरमै पाकेको खाना खान छोडेर बाहिरको खाना खान बाध्य पारिएको छ’, उनले भने।

मुलुकभर सञ्चालित अधिकांश निजी स्कुलले विद्यार्थीलाई एक्स्ट्रा कक्षाको नाममा नियमितबाहेक थप समय तोकेर पढाउने गरेका छन्। कति स्कुलले यसरी पढाउँछन् र यस्ता कक्षाबापत कतिसम्म शुल्क लिन्छन् भन्ने जानकारी कुनै सरकारी निकायलाई छैन।

काठमाडौं महानगरपालिकाअन्तर्गतको शिक्षा निकाय प्रमुख प्रह्लाद अर्यालले निजी स्कुलमा हुने यस्ता गतिविधिबारे आफूलाई पनि थुप्रै गुनासा आउने गरेको बताए। ‘तर अनुगमन गर्न सकिएको छैन। यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेमा छलफल सुरु गरेका छौं। नयाँ शैक्षिक सत्रदेखि अनुगमन गर्छौं।’

विशेष गरी कक्षा नौ र दसका विद्यार्थीलाई उनीहरूले यस्तो समस्यामा पार्ने गरेका छन्। एसईई परीक्षाको नतिजा राम्रो बनाउने नाममा उनीहरूले कक्षा दशका विद्यार्थीलाई त अनिवार्य होस्टेल बस्नुपर्ने नियम बनाएका छन्। होस्टेलमा बस्न नमान्ने विद्यार्थीले बिहानै स्कुल आउनुपर्ने हुन्छ।

डल्लुस्थित बुद्धज्योति स्कुलमा कक्षा दसमा अध्ययनरत एक विद्यार्थी भन्छिन्, ‘बिहान ६ बजे नै उठेर स्कुल जानुपर्छ। त्यतिखेर घरमा बनाएर लगेको चिसो खाना स्कुलमा लगेर खानुपर्छ। पढ्न नजाऔं भने सरहरूले गाली गर्नुहुन्छ। स्कुलहरूले चलाउने ‘एक्स्ट्रा क्लास’ उनीहरूलाई कमाइखाने भाँडो बनेको छ।’

 एसईई परीक्षाको नतिजा राम्रो बनाउने नाममा स्कुलहरूले कक्षा दशका विद्यार्थीलाई अनिवार्य होस्टेल बस्नुपर्ने नियम बनाएका छन्।

परीक्षामा जसरी पनि राम्रो नतिजा ल्याउने नाममा अभिभावकले चर्को शुल्क मात्र तिर्नुपरेको छैन, बिहानदेखि साँझसम्म पढाइमा मात्र केन्द्रित हुनुपर्दा विद्यार्थी मानसिक तनावमा समेत पर्ने गरेका छन्। ‘विद्यार्थीलाई पढाउँछु, राम्रो बनाउँछु भनेर भर्ना लिइसकेपछि नियमित समयमै राम्रोसँग पढाउनुपर्छ। होइन भने यस्ता ‘एक्स्ट्रा क्लास’ अनिवार्य होइन, स्वेच्छिक बनाइनुपर्छ’, अभिभावक संघकी उपाध्यक्ष सरिता अर्यालले भनिन्।

सामान्यतया विद्यार्थी र अभिभावकलाई स्कुलले भर्नाको समयमा यस्ता विषयमा केही पनि भन्दैनन्। तर जब परीक्षाकोे मिति नजिकिँदै जान्छ, त्यसपछि नतिजा राम्रो बनाउने नाममा यसरी पढ्न बाध्य पारिन्छ। स्कुलमा पढ्न मन नलागे पनि विद्यार्थी साथीभाइमाझ कमजोर हुने मानसिक त्रासले पनि ‘एक्स्ट्रा’ कक्षामा बस्ने गरेका छन्।

शुल्क नबढाउन निर्देशन

आउने शैक्षिक सत्रमा काठमाडौंका निजी स्कुलमा शुल्क नबढाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ। महानगरले गत वर्षकै शुल्क कायम गर्न विद्यालय निरीक्षकमार्फत निजी स्कुललाई निर्देशन दिएको हो। महानगरका शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले भने, ‘मेयर साबको निर्देशनमा हामीले विद्यालय निरीक्षकलाई आफ्नो क्षेत्रका स्कुललाई यसबारे जानकारी गराउन निर्देशन दिइसकेका छौं।’

यस विषयमा निजी विद्यालय सञ्चालकले भने कुनै प्रतिक्रिया दिएका छैनन्। चालु शैक्षिक सत्रका लागि गत वर्ष निजी विद्यालयलाई ‘क’ देखि ‘ग’ सम्म वर्गीकरण गरेर शुल्क निर्धारण गरिएको थियो। जसअनुसार ‘क’श्रेणीका विद्यालयले प्राथमिक तहमा मासिक दुई हजार तीन सय ६२, निम्नमाध्यमिक तहका लागि दुई हजार सात सय र माध्यमिक तहका लागि तीन हजार ६ सय ७५ रुपैयाँ लिन पाउने सहमति सरकारी अधिकारी र विद्यालय सञ्चालकबीच भएको थियो। ‘ख’ र ‘ग’ श्रेणीका विद्यालयले ‘क’ श्रेणीको विद्यालयले लिएको भन्दा क्रमशः पच्चीस र पचास प्रतिशत शुल्क घटाएर लिनुपर्ने कानुनी व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.