स्टेफनबाट सिकौं
गोरखाको एक विद्यालयमा पढ्दै गरेकी किशोरीलाई उनकै आमाले बोक्सीको नाममा विद्यालय प्रांगणदेखि गाउँपालिका कार्यालय हातासम्म हातपात गरेको समाचार हामीले मुखपृष्ठमै प्रकाशन गरिरहँदा अन्तर्राष्ट्रिय समाचारका हेडलाइनमा भने स्टेफन हकिङ छाइरहेका छन्। एकातिर हामी बाँचेको युगका महान् वैज्ञानिकको निधनको समाचारसँगै उनको चर्चा भइरहनु र अर्कोतिर मध्ययुगीन अन्धविश्वासको पुनरावृत्ति प्रकाशन गर्न बाध्य हुनु यी दुई तथ्यले हामी बाँचेको बिब्ल्याँठो वर्तमान उजागर गर्छन्। यहींनेर हाम्रो शिक्षा पद्धति र राजनीतिक–सामाजिक आन्दोलनका कमजोर पक्षहरू पनि उजागर हुन्छन्।
स्टेफन हकिङ महान् भौतिकशास्त्री थिए। सन् १९६३ मा २१ बर्से उमेरमा मोटर न्युरोन रोगका कारण डाक्टरले दुई वर्षभन्दा बढी नबाँच्ने घोषणा गर्दा पनि हकिङले हरेस खाएनन्। त्यसपछिका हरेक क्षणलाई उनले मानव जातिको कल्याणका निम्ति सदुपयोग गरे। एउटा हातमा म्याक्स प्लांकले जग हालिदिएको क्वान्टम भौतिकीको र अर्को हातमा अल्बर्ट आइन्स्टाइनले जग बसालिदिएको सापेक्षतावादको सिद्धान्तको सहारा लिएर सिंगो ब्रह्माण्ड र समयको आदिदेखि अन्त्यसम्मको व्याख्या गर्न तल्लीन हकिङ विज्ञान मानव जातिको हित, कल्याण र प्रगतिका पक्षमा भएको साबित गर्न चाहन्थे।
सन् १९६८ मा भियतनाम युद्धविरुद्ध प्रदर्शनमा उत्रिएका हकिङ राजनीतिक र आर्थिक हानथापले मानव जातिकै अस्तित्व संकटमा पर्नेमा चिन्तित थिए। मानव जाति सय वर्षसम्म अस्तित्वमा रहन सक्नेमा उनले व्यक्त गरेको चिन्ता समकालीन विश्व नेतृत्वले चासो दिनुपर्ने विषय हो। पर्यावरणीय विनाश र विश्वव्यापी तापमान वृद्धि हकिङले पछिल्लो समय सबैभन्दा बढी चिन्ता व्यक्त गरेको विषय हो।
ब्रह्माण्डको उत्पत्ति, यसको प्रसार, समयको उत्पत्ति र यसको गति, ब्ल्याक होलको निर्माण र यसको प्रवृत्तिलगायतका विषयमा हकिङले महनीय योगदान गरेका छन्। आइन्स्टाइनले जीवनका पछिल्ला दिनमा भौतिकशास्त्रका सबै सिद्धान्तलाई एउटै बनाउने गरी काम सुरु गरेका थिए। त्यसैलाई निरन्तरता दिँदै हकिङले ब्रह्माण्डका सबै ‘फेनोमेना’ लाई एउटै सिद्धान्तले व्याख्या गर्ने गरी ‘थ्योरी अफ् एभ्रिथिङ’ को निर्माणमा जीवन समर्पण गरे। कुनै पनि दैवीय शक्तिलाई अस्वीकार गर्ने हकिङ ब्रह्माण्ड निश्चित नियमबाट सञ्चालित हुन्छ भन्नेमा केवल विश्वास गर्दैनथे, त्यसको प्रचार–प्रसारका लागि पनि उत्तिकै जोड दिन्थे।
विज्ञानका नयाँ आविस्कारहरू गणितीय सूत्रका जञ्जालमा निश्चित मानिसहरूको बुद्धिको कैदी बन्नु हुँदैन भन्नेमा हकिङले जोड दिए। ‘समयको संक्षिप्त इतिहास’ जस्तो पुस्तक लेखेर उनले विज्ञानका प्रोफेसर र विद्यार्थीहरूको कब्जामा रहेको वैज्ञानिक चिन्तनलाई लोकप्रिय बनाए। जबसम्म विज्ञान र वैज्ञानिक चिन्तन आम जनमानसमा लोकप्रिय हुँदैन तबसम्म अन्धविश्वासको जग बलियो भइरहन्छ भन्नेमा हकिङ सचेत थिए। त्यसैले नै उनले छोरी लुसीसँग मिलेर बालबालिकाका निम्ति विज्ञान उपन्यासको सिरिज नै लेखे।
‘विज्ञान बुझ्नभन्दा पहिला हामीले ईश्वरीय शक्तिमा विश्वास गर्नु स्वाभाविक हो, तर अहिले हामीसँग प्रमाणगत व्याख्याहरू छन्’ भनेर चरम अस्वस्थता हुँदाहुँदै पनि विज्ञानको प्रचारप्रसारमा लागेका महान् भौतिकशास्त्री हकिङलाई श्रद्धाञ्जली दिइरहँदा बोक्सीजस्तो मध्ययुगीन अन्धविश्वासको वर्तमान स्वरूपलाई समाचारको रूपमा प्रकाशन गर्नुपर्ने बाध्यता विडम्बना हो।
कैलालीकी चेली राधा र विद्यालयमा पढ्दै गरेकी किशोरी बोक्सीको नाममा प्रताडनाको सिकार हुनु विडम्बना हो। शिक्षक र समाजका अगुवाहरू घटनाप्रति मूकदर्शक बन्नु शिक्षा पद्धतिको असफलताको संकेत हो। साथसाथै लोकतन्त्र र गणतन्त्र स्थापनामा भएका राजनीतिक आन्दोलनले थोरै पनि वैज्ञानिक चेतना निर्माण गर्न सकेनछ भन्ने संकेत पनि हो। अज्ञानता अन्धकार हो, ज्ञानको ज्योतिले मात्र त्यसलाई चिर्न सक्छ। स्टेफन हकिङ, आइन्स्टाइन, न्युटन, ग्यालिलियो, क्युरीजस्ता वैज्ञानिकहरूले हामीलाई दिएको त्यो ज्ञानको ज्योति प्रसार गर्न नसक्नु हाम्रो असफलता हो।
हाम्रो समयका महान् भौतिकशास्त्रीलाई बिदा गर्नु परिरहेको यो क्षणमा हामी सबैले उनका विचार र चिन्तनलाई गाउँगाउँमा पुर्याउने प्रतिबद्धता जाहेर गर्नु नै स्टेफन हकिङप्रति साँचो श्रद्धाञ्जली हुनेछ।