नेपाल आज पीएनजीसँग भिड्दै

नेपाल आज पीएनजीसँग भिड्दै

काठमाडौं : अर्काे वर्ष इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने एकदिवसीय क्रिकेट विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता खेल्न जिम्बाब्वेतर्फ प्रस्थान गर्नुअघि नै नेपाली टोलीले आफ्नो उद्देश्य स्पष्ट पारेको थियो, सुपर सिक्स चरणमा प्रवेश गर्दै आईसीसीबाट एकदिवसीय टोलीको मान्यता हासिल गर्ने । सोमबार सम्पन्न समूहगत चरणको खेलपछि नेपाली टोलीको सुपर सिक्स चरणमा प्रवेश गर्ने सम्भावना पूर्ण रूपमा समाप्त भएको छ । एकदिवसीय टोलीको मान्यताको सम्भावना भने अझै कायमै छ ।

आईसीसीको नियमअनुसार नेदरल्यान्ड्सबाहेक विश्वकप छनोट प्रतियोगितामा सहभागी एसोसिएट टोलीमध्ये शीर्ष तीनले सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाउनेछन् । गत डिसेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको हैसियतमा नेदरल्यान्ड्सले यसअघि नै एकदिवसीय टोलीको मान्यता पाइसकेको छ ।

यसैगरी सोसिएट टोलीमध्ये सुपर सिक्स चरणमा पुगिसकेका संयुक्त अरब इमिरेट्स (यूएई) र स्कटल्यान्डले पनि एक दिवसीय मान्यता पक्का गरिसकेका छन् । अब बाँकी रहेको एक स्थानका लागि सुपर सिक्स चरणमा पुग्न नसकेका नेपाल, हङकङ र पपुवा न्युगिनीले प्ले अफ खेलमार्फत आआफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् । पहिलोपटक एकदिवसीय टोलीको मान्यता प्राप्त गर्न नेपाले बिहीबार हुने खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराउनैपर्ने हुन्छ । पीएनजीविरुद्धको एक जितले नै पनि नेपाललाई आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता दिलाउने सम्भावना छ । तर, त्यसका लागि बिहीबार नै हुने अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गर्नुपर्ने हुन्छ ।

नेपाली टोली आफ्नो पहिलो खेलमा विजयी भए पनि अर्को खेलमा हङकङले नेदरल्यान्ड्सलाई हराएमा एकदिवसीय टोलीको मान्यता पाउन नेपालले पुनः अर्को खेलमा हङकङलाई पनि हराउनुपर्ने हुन्छ । पीएनजीसँगको खेलमै पराजित भए नेपालले एकदिवसीय टोलीको सम्भावना पनि गुमाउने छ । जारी प्रतियोगिताको समूह ‘ए’मा रहेको पीएनजीले चारमध्ये सबै खेलमा पराजय बेहोरेको थियो भने समूह ‘बी’मा रहेको नेपालले चारमध्ये एक खेलमा जित हात पारेको थियो । नेपालले समूहगत चरणको अन्तिम खेलमा हङकङलाई पाँच विकेटले हराएको थियो ।

जारी प्रतियोगितामा पीएनजीले पनि नेपालकै जस्तो ब्याटिङमा संघर्ष गरिरहेको छ । आयरल्यान्डविरुद्धको खेलमा प्रारम्भिक ब्याट्सम्यान टोनी उराले एक सय ५१ रनको बनाए पनि अन्य खेलाडीले कुनै पनि खेलमा लामो पालि खेल्न सकेका छैनन् । नेपाली टोलीका लागि पनि कप्तान पारस खड्काले अफगानिस्तान र स्कटल्यान्डविरुद्घ अर्धशतक बनाउनुबाहेक अन्य भरपर्दा ब्याट्सम्यान चल्न सकेका छैनन् ।

पीएनजीका बलरले वेस्ट इन्डिजजस्तो अनुभवी टोलीविरुद्ध उत्कृष्ट बलिङ गरेका छन् । मात्र दुई सय एक रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले कप्तान जासन होल्डरको अविजित ९९ रनको योगदानमा खेल सहजै जिते पनि पीएनजीले ५८ रनकै कुल स्कोरमा चार महŒवपूर्ण विकेट लिन सफल भएको थियो । त्यसैले नैपाली टोलीले पीएनजीविरुद्धको जितका लागि ब्याटिङमा निकै मेहनत गर्नुपर्नेछ ।

नेपालले पछिल्लो समय पीएनजीविरुद्ध खेलिरहेको भए पनि ५० ओभरको क्रिकेटमा भने दुईपटक मात्र भिडन्त गरेको छ । ती दुवै खेलमा नेपाली टोली पीएनजीसँग पराजित भएको छ । नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सन् २०१५ को नोभेम्बरमा भएको दुईमध्ये दुवै खेल गुमाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)को निलम्बनका कारण नेपालमै हुने तय भए पनि दुबईमा सारिएको दुईमध्ये पहिलो खेलमा नेपाल दुई विकेट र दोस्रो खेलमा तीन विकेटले पराजित भएको थियो ।

(१) विगतमा नेपाल र पीएनजी

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेल

नेपाल ः २३२÷८ (५० ओभर)

पीएनजी ः २३५÷८ (४९.३ ओभर)

(२) पीएनजी दुई विकेटले विजयी

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेल

नेपाल ः २२४÷८ (५० ओभर)

पीएनजी ः २२५÷७ (४९.४ ओभर)

पीएनजी तीन विकेटले विजयी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.