सन्दीप र दीपेन्द्रले चार-चार विकेट लिए : नेपालसामू ११५ रनको चुनौती
काठमाडौं : आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि बिहीबार भएको पपुवा न्यूगिनीसँगको खेलमा नेपालले ११५ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले फिल्डिङ गरेको नेपालले २७ दशमलव २ ओभरमा सबै विकेट लिएर पपुवा न्यूगिनीलाई ११५ रनमा समेटेको हो । नेपालका लागि लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले चारचार विकेट लिए । नेपालका लागि अन्य दुई विकेट सोमपाल कार्मी र करण केसीले लिए ।
नेपालको ब्याटिङलाई थेग्न २७ ओभरमात्र खेल्न सकेको पपुवा न्यूगिनीका कुनै पनि ब्याट्सम्यानले राम्रो रन जोड्न सकेनन् । केही बेरमै नेपालले जवाफी ब्याटिङ गर्दै छ ।
...
आईसीसीको नियमअनुसार नेदरल्यान्ड्सबाहेक विश्वकप छनोट प्रतियोगितामा सहभागी एसोसिएट टोलीमध्ये शीर्ष तीनले सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाउनेछन् । गत डिसेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको हैसियतमा नेदरल्यान्ड्सले यसअघि नै एकदिवसीय टोलीको मान्यता पाइसकेको छ । यसैगरी सोसिएट टोलीमध्ये सुपर सिक्स चरणमा पुगिसकेका संयुक्त अरब इमिरेट्स (यूएई) र स्कटल्यान्डले पनि एक दिवसीय मान्यता पक्का गरिसकेका छन् ।
अब बाँकी रहेको एक स्थानका लागि सुपर सिक्स चरणमा पुग्न नसकेका नेपाल, हङकङ र पपुवा न्युगिनीले प्ले अफ खेलमार्फत आआफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् । पहिलोपटक एकदिवसीय टोलीको मान्यता प्राप्त गर्न नेपाले बिहीबार हुने खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराउनैपर्ने बाध्यता छ । पीएनजीविरुद्धको एक जितले नै पनि नेपाललाई आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता दिलाउने सम्भावना छ । तर, त्यसका लागि बिहीबार नै हुने अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गर्नुपर्ने हुन्छ ।
नेपाली टोली आफ्नो पहिलो खेलमा विजयी भए पनि अर्को खेलमा हङकङले नेदरल्यान्ड्सलाई हराएमा एकदिवसीय टोलीको मान्यता पाउन नेपालले पुनः अर्को खेलमा हङकङलाई पनि हराउनुपर्ने हुन्छ ।
पीएनजीसँगको खेलमै पराजित भए नेपालले एकदिवसीय टोलीको सम्भावना पनि गुमाउने छ । जारी प्रतियोगिताको समूह ‘ए’मा रहेको पीएनजीले चारमध्ये सबै खेलमा पराजय बेहोरेको थियो भने समूह ‘बी’मा रहेको नेपालले चारमध्ये एक खेलमा जित हात पारेको थियो । नेपालले समूहगत चरणको अन्तिम खेलमा हङकङलाई पाँच विकेटले हराएको थियो ।