काठमाडौं, भक्तपुर र ललितपुरका मेयरलाई गृहमन्त्रीको तीन घण्टे निर्देशन
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले काठमाडौं, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाका मेयरलाई बोलाएर ट्राफिक व्यवस्थापनमा जोड निर्देशन दिएका छन्। गृह मन्त्रालयमा बिहीबार तीन घण्टा लामो बैठकमा बादलले सडकसँग सम्बद्ध सरोकारवाला निकायबीच समन्वय गरेर जनताले महसुस गर्ने खालको व्यवस्थापन मिलाउन सुझाव दिएका हुन्।
बैठकमा सुरक्षा निकायका प्रमुख, तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थिति थियो। गृहमन्त्री बादलले काठमाडौं र ललितपुरका मेयरलाई ट्राफिक व्यवस्थापनमा सक्दो पहल गर्न र वायुप्रदुषण नियन्त्रण गर्न सक्दो पहल गर्न निर्देशन दिए।
उनले ट्राफिक र धुलो नियन्त्रणसँगै अपराध नियन्त्रणमा समेत प्रहरीले विशेष ध्यान पुर्याउन निर्देशन दिए। पछिल्ला दिनमा खासगरी सुदूरपश्चिममा युवतीमाथि गरिएको ज्यादतीको विषयलाई लिएर मन्त्री बादलले पीडितलाई न्याय र पीडकलाई कानुनी कारबाही गर्न प्रहरी चुक्न नहुने तर्फ ध्यानाकर्षण गराए। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएर प्रहरीले व्यावसायीक काम गर्न निर्देशन दिएका बादलले जनताले महसुस गर्ने खालको सेवा दिन प्रहरी प्रमुख प्रकाश अर्याललाई निर्देशन दिएका थिए।
उनले भने,‘जरिवाना थोरै भएकै कारण ठेकेदारले निर्माणमा लापरवाही गर्ने, सवारीसाधन चलाउने तथा बटुवाले समेत ट्राफिक नियम नमान्ने गरेको देखियो, त्यसमा अब सुधार गर्नुपर्छ।’ उनले कानुन कार्यान्वयन गर्दा कसैको दबाब आएमा आफूलाई रिर्पोट गर्न सुझाएका थिए।
उनले भने,‘कानुन कार्यान्वयन गर्दा कसैको दबाब आए म पनि त्यसलाइ अस्वकिार गरेर अघि बढ्छु, तपाईहरुपनि त्यसलाई अस्वीकार गरेर अघि बढ्नुहोस्।’ बैठकमा सहभागीले ठूला सार्वजनिक सवारी साधनको प्रयोगलाई प्रोत्साहनको नीति ल्याउनुपर्ने, सवारीसाधन जाँचपासमा कडाई गर्नुपर्ने, सामान बोक्ने सवारीसधानलाई राति ७ बजेदेखि बिहान ७ बजेसम्म मात्रै उपत्याभित्र प्रवेश दिनुपर्ने, काम नगर्ने ठेकेदारलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने, जरिवाना रकम बढाउनुपर्ने लगायतका सुझाव दिएका थिए।
यसअघि गृहमन्त्री बादलको संयजकत्वमा निर्देशन तथा अनुगमन समिति बनेको थियो। समितिका सदस्यमा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, ऊर्जा तथा जलस्रोत मन्त्रालयका सचिव, काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर, भक्तपुर नगरपालिकाका मेयर, सहरी विकास मन्त्रालयका सचिव लगायत छन्।