दरबारका गाडी किन्न पाए म्युजियम बनाउँथे
नेपाली समाजमा योगेश्वर अमात्य गायक भनेर चिनिन्छन्। उनका गीत र गाउने शैलीप्रति संगीत पारखी मन्त्रमुग्ध हुन्छन्। धनाढ्य परिवारमा जन्मिएका अमात्यको जीवनशैली पनि उत्तिकै लोभलाग्दो छ। उनी लक्जरी गाडीका सौखिन हुन्, एउटा गाडी पाँच वर्षभन्दा बढी चढ्दैनन्। अमात्य मदिराका पनि सौखिन उपभोक्ता हुन्। उनको छनोटमा महँगो मूल्यका सिंगल मल्ट ह्विस्की पर्छन्। फेरि–फेरि लक्जरी कारमा हुइँकिने अमात्यसँग अन्नपूर्णकर्मी नवीन अर्यालले गरेको कुराकानीको अंश :
अहिलेसम्म कति गाडी फेर्नुभयो ? अहिले कुन गाडी चढ्नुहुन्छ ?
अहिले मित्सुबिसीको पजेरो चढ्छु। मैले एसयूभी सेगमेन्टको मर्सिडिज बेन्ज जीएलई अर्डर गरेको छु। नयाँ मर्सिडिज छिट्टै आउँदैछ।
गाडीको सौखिन, फेरि–फेरि चढ्नुहुन्छ ?
कारका सौखिनहरू गाडीलाई श्रीमतीलाई झैं माया गर्छन्। म पनि गाडीको सौखिन हुँ। म जन्मिँदै घरमा गाडी थियो। म सम्झन्छु, सानो हुँदा घरमा मर्सिडिज, सेभ्रोलेट, कोन्सियर्ज, भक्वान, फोर्ड, जिपलगायत गाडी थिए। बुवाले थुप्रै गाडी किनेर राख्नु भएको थियो। म गाडी किनेपछि ५/६ वर्ष चढेर बेच्छु। किनकी नयाँ गाडी मेन्टिनेन्स गरिरहनु पर्दैन। अर्को कार पारखीले सस्तोमा पाउँछ। म जुवातास खेल्दिन। बाहिर रखेल पनि राख्दिन। मैले खर्च गर्ने भनेकै गाडीमा हो।
बुवा पनि गाडी पारखी हुनुहुन्थ्यो ?
बुवाले गाडी किन्ने सौखिन भएरै होला। म पनि बुवाको फलोअर हुँ। बुवा हिरा, पन्नाको व्यवसायी हुनुहुन्थ्यो। सम्पन्न परिवार भएकाले गाडी किन्न समस्या पनि थिएन। तर, धेरैजसो पुराना गाडी किन्नुहुन्थ्यो। नयाँ गाडी किन्न सुझाव दिँदा पनि मान्नुहुन्नथ्यो।
बुवाले भक्वागनको नयाँ गल्फ पासाट किन्नुभएको थियो। राजाकी श्रीमतीले मन पराएर लिनुभयो रे। पछि बुवा र उहाँको पार्टनरले दुईवटा फोर्ड लेजर किन्नुभएको थियो। अरु सेकेन्ड ह्यान्ड किन्नुभएको हो। दरबारले गाडी बिक्री गरिरहन्थ्यो, त्यहाँबाट पनि किन्नुभयो। विदेशीले नेपालमा चलाएर ल्याएका गाडी पनि किन्नुभयो होला।
दरबारले गाडी बिक्री गर्छ ?
दरबारमा पुराना गाडी बिक्री भइरहन्थे। नेपालमा अहिले झैं गाडी बिक्रेता थिएनन्। गाडी पारखीले दारबारसँग गाडी किन्थे। दरबारले नयाँ लक्जरी कार ल्याउने र पुरानो भएपछि बिक्री गर्ने चलन थियो। अझै दरबारमा थुप्रै पुराना लक्जरी गाडी छन्। यदि मैले दरबारका गाडी किन्न पाए विदेशबाट मिस्त्री ल्याएर नयाँ बनाउँथे।
पुराना गाडी किन ?
अहिले बजारमा पुराना गाडी पाउन गाह्रो छ। दरबारले पुराना गाडी बिक्री गरेमा किन्ने थिएँ। दरबारमा एन्टिक र राम्रा गाडी छन्। आकर्षक मोडल छन्। हरेक वर्ष गाडीको डिजाइन परिवर्तन हुन्छ। पुराना गाडी पाइँदैनन्। तर, त्यस्ता गाडी दरबारमा धेरै छन्। सौखिन दरबारिया महँगा गाडी किनेर चढ्थे।
अहिले पनि दरबारमा गाडी छन् ?
दरबारमा प्रशस्तै गाडी छन्। सायद नेपाल ट्रस्टले जिम्मा लिएको छ। तिनीहरूलाई लक्जरी गाडीको के महŒव, बुझ्दैनन्। पुराना गाडीको संरक्षण भएको छैन। मलाई गाडी दिएमा मर्मत गरेर म्युजियम बनाउँथे। पुराना लक्जरी गाडीहरू यत्तिकै नास हुनेमा चिन्तित छु। कारमात्र होइन, पुराना दमकल पनि मर्मत गरेर राख्न सकिन्छ। दमकल पनि टल्किने बनाएर म्युजियममा राख्न मन छ।
दरबारसँग गाडी किन्नुहुन्न ?
कसरी किन्ने ? मलाई थाहा छैन। यहाँ आफ्नो नागरिकता लिन त गाह्रो छ। दरबारमा थन्किएका गाडी कसरी ल्याउनु ? दरबारले गाडी लिलामी गर्न लागेछ भने मैले पनि बिड गर्छु। र, नयाँ बनाएर म्युजियममा सजाउँछु। पुराना भेन्टेज गाडी चढेर सहर घुम्छु।
गाडीमा किन यति धेरै आशक्ति ?
जसरी सुन्दरी युवती देख्दा सबैको आँखा जान्छ, त्यसरी नै राम्रो गाडी देख्नेबित्तिकै मेरा आँखा पर्छन्। गाडीमा सबैको सौख हुन्छ। फरक यति हो, धन हुनेहरू किनेर पनि चढ्न सक्छन्। गाडी किन्न नसक्नेले पनि उत्तिकै रुची राख्छन्। भृकुटीमण्डपमा कार मेला लाग्दा युवाको घुइँचो देखिन्छ।
नेपालमा कारका सौखिन मात्र होइन, किनेर चढ्ने पनि बढेका छन्। पहिला गाडी चढ्नेमा दरबारिया, राणा परिवार, ठकुरी, उच्च पदस्थ सरकारी अधिकारी हुन्थे। अहिले धन हुनेहरू सजिलै गाडी चढ्न सक्छन्। विश्वका लक्जरी कार भिœयाउन सकिन्छ। पहिला धन भएर पनि सजिलै गाडी चढ्न सकिने अवस्था थिएन।
तपाईंले चलाएको पहिलो गाडी कुन हो ?
मेरो पहिलो गाडी काइसर जिप हो। यो अमेरिकी कार हो। त्यो पनि बुवाले किन्नुभएको थियो। मलाई याद छैन, बुवाले दरबारबाट किन्नुभयो वा विदेशबाट मगाउनुभयो। मैले यसलाई मोडिफाई गरेर हुट निकालेँ, अगाडि छेक्ने सिसा पनि झार्न मिल्ने बनाए। पुरै ओपन जिप बनाएको थिएँ। यो जिप चढेर सिकार खेल्न गइन्थ्यो। सिसा तल झार्न मिल्ने भएकाले बन्दुक हान्न सजिलो हुन्थ्यो।
शिकार खेल्न कहाँ–कहाँ पुग्नुभयो ?
म दाइका साथीसँग पछि लागेर शिकार खेल्न जान्थेँ। उत्तमजंग थापा, नेपालको नामुद शिकारी हुनुहुन्थ्यो। मैले गाडी चलाउँथे, उहाँहरू शिकार खेल्नुहुन्थ्यो। तराईको चन्द्रनिगाहापुर र निजगढको बिचमा ब्लक किनेर शिकार खेलिन्थ्यो। शिकार खेल्न १२/१५ दिन लाग्थ्यो। मेरो काम रातिमा क्याम फायर गर्दै गीत गाउने पनि गथ्र्यौं।
अहिलेसम्म कति गाडी परिवर्तन गर्नुभयो ?
मैले आधा दर्जनभन्दा बढी गाडी परिवर्तन गरेँ। कुनै समय घरमा पाँचवटा गाडी थिए। बुवाको मर्सिडिज थियो, पुरानो भएपछि बनाउन दिएको छु। मैले अमेरिकी जिप, मर्सिडिज बेन्ज, होन्डा सिभिक, सेभ्रोलेट, ल्यान्डरोभर, मित्सुबिसी पजेरोलगायत गाडी चढिसकेँ। यही बिचमा लक्जरी मर्सिडिज बेन्ज किनेको थिएँ, त्यो अरुलाई बिक्री गरेँ। अब नयाँ मर्सिडिज बेन्ज जीएलई आउँदैछ। शिकार खेल्ने ओपन जिप पनि बनाउन दिएको छु।
गाडी आफैं चलाउन थालेको कहिले हो ?
सानै उमेरदेखि गाडी चलाउन थालेको हुँ। मैले १३ वर्षको उमेरमा गाडी चलाउन थालेको हुँ। त्यो बेला खुबै आँटिलो थिएँ। पछि ग्यारेजमा कच्याक कुचुक पारेर राखिएको जिप मोडिफाई गरेर चलाएँ। ओपन जिप चलाउँदा कालिमाटीमा प्रहरीको झपाराई पनि खाएको छु। मलाई गाडीमा सानैदेखि रुची, हुट फालेर ओपन बनाएको थिएँ। पहिला काठमाडौंमा धुलो–धुवाँ थिएन। गाडीको इन्जिन राम्रो र आवाज पनि आउँदैनथ्यो। त्यो समयमा त्रिपुरेश्वरबाट कालीमाटी १०० किमी गतिमा कुदाउँथे। अहिले कहाँबाट कुदाउन पाउनु र !
चढेमध्ये बढी मन परेको कार ?
मर्सिडिज बेन्ज। गाडीको राजा रोल्स रोयस मानिन्छ। तर, राजाहरूको गाडी मर्सिडिज हो। म ‘किङ्स अफ कार’ चढ्न रुचाउँछु। यसैले मर्सिडिज बेन्ज जीएलई अर्डर गरेको हुँ। दरबारमा रोल्स रोयस कार पनि छ।
किनेर चढ्न नसकेको कार ?
म विदेश जाँदा बेन्ट्ले चढेँ, तर किन्न सकिन। मन लागेर पनि किनेर चढ्न नसकेको कार हो, बेन्ट्ले। तर, विदेशमा जाँदा भाडामा लिएर भए पनि बेन्ट्ले चढ्ने रहर पूरा गर्छु। त्यहाँ ड्राइभर पनि भाडामै पाइन्छन्। युरोपमा ल्याम्बोर्गिनी, फरारी, बेन्ट्ले भाडामा लिएर चलाउन पाइने सुविधा रहेछ। एक घन्टाको १०० युरो तिरेपछि आफैं कार चलाउन पाइने रहेछ।
विदेश जाँदा लक्जरी कार चढ्ने रहर पूरा गर्नुहुन्छ ?
हो, लक्जरी कार हुइँकाउने रहर विदेशमै पूरा हुन्छ। नेपालमा लक्जरी कार पाइँदैनन्। यदि लक्जरी कार किने पनि चलाउने सडक छैन। खाल्डाखुल्डी सडकमा लक्जरी कार हुइँकाउन मिल्दैन। म र श्रीमती बाहिर जाँदा गाडी भाडामा ल्याउँछौं। मैले जहिले गाडी कुदाउँछु श्रीमती किचकिच गर्ने। विदेशको खुला सडकमा श्रीमतीलाई गाडी कुदाउन लगाउँछु। श्रीमतीले गाडी कुदाउने भएर होइन कि, तीव्र गतिमा कुदेको गाडी चढ्ने मेरो रहर श्रीमतीले पूरा गरिदिउन भनेर हो। खासगरी स्कटल्यान्डमा गाडी चलाउन मज्जा आउँछ। त्यहाँको प्राकृतिक सौन्दर्यता, चिप्लो र अनुशासित सडकमा गाडी कुदाउनुको मज्जा बेग्लै छ।
लक्जरी गाडी सौखसँगै सान पनि होला ?
बुवाले कार किन्न सक्ने भए पनि नयाँ किन्नुभएन। कसैको आँखा लाग्ला भन्नुहुन्थ्यो। म फेरि फेरि गाडी चढ्छु। तर, फूर्ती लगाएर देखाउन होइन। मेरो सौख पूरा गर्न गाडी चढ्छु। म प्रायः नयाँ गाडी किन्छु। पुरानो गाडी मर्मत गर्न झन्झट र खर्चिलो हुन्छ।
गाडीमा लगानी अनुत्पादक लाग्दैन ?
लाग्दैन। गाडी मेरो सौख हो। मेरो बुवाले अलिकति सम्पत्ति जोडिदिनु भएको छ, त्यही सम्पत्तिबाट गाडी चढ्छु। म पहिला बुवाका गाडी चढ्थेँ। एक पटक हङकङ गाउन गएपछि गाडी किन्ने सौख बढेको हो। एक वारको जुनीमा गाडी चढ्नुपर्छ, मरेर लैजानु के छ र ! भन्ने लाग्यो।
निजी सवारी अत्यावश्यक भएको हो ?
पक्कै पनि। एक जनामात्र हुँदा बाइक चलाए पनि पुग्छ। परिवार हुनेबित्तिकै गाडीको आवश्यकता परिहाल्यो। तर, अझै पनि सरकार निजी साधनलाई लक्जरी ठान्छ। कि सरकारले यातायात सुविधा राम्रो बनाउनुप¥यो, सहज ट्रान्सपोर्टेसन सुविधा भएमा धेरै गाडी चढ्दैनन्। विदेशमा झै राम्रा बस, मोनोरेल, मेट्रो रेल चल्नुप¥यो। यदि सरकारले सहज यातायातको व्यवस्था गर्न सक्दैन भने निजी सवारी चढ्ने बढिहाल्छन्।
बाइकमा पनि रुची छ ?
छैन। पहिला दाईको बाइक चोरेर चलाउँथे। ५०० सीसीको बाइक चलाउँदा पल्लो गाउँसम्म सुनिन्थ्यो। तर, आफैं बाइक किनेर चलाएको छैन। म बाइकमा इन्जोए गर्न सक्दिन। मलाई फुल्ली लोडेड राम्रो गाडी चाहिन्छ। गाडीमा राम्रा गीत सुन्दै घुम्न रुचाउँछु।