धनीको गाडी मोह
नेपालमा लक्जरी गाडीको बिक्री बढ्दैछ। विश्वका प्रख्यात प्रिमियम कार नेपाली सडकमा हुइँकिन थालेका छन्। साढे तीन करोडका कार नेपाल भित्रिएका छन्। लक्जरी कार स्टाटस अपग्रेड गर्ने माध्यम पनि बनेको छ। मर्सिडिज, ल्यान्डरोभर, टोयोटा, जगुआर, भक्सवागन, हम्मरलगायत प्रिमियम ब्रान्ड कारका सौखिन बढेरै नेपाल भित्रिएका हुन्।
नेपालका धनाढ्य व्यवसायी कुन गाडी चढ्छन् ? धेरैको चासोको विषय हुन सक्छ। गाडी चढ्ने सवालमा पुराना व्यवसायी त्यति धेरै सौखिन देखिँदैनन्। तर, नयाँ पुस्तामा लक्जरी गाडीको भूत सवार छ। ‘स्टाटस मेन्टेन’ गर्नका लागि भए पनि लक्जरी गाडी नचढी नहुने नेपाली पनि देखिन्छन्। नेपालका उद्योगी व्यवसायी कुन गाडीमा हुइँकिन्छन् भनेर पाठकलाई जानकारी गराउन अन्नपूर्णले धेरथोर प्रयास गरेको छ।
नेपालका डलर अर्बपति विनोद चौधरी रेन्जरोभर चढ्छन्। उनको सेतो रङको रेन्जरोभर छ। नेपालमा रेन्जरोभरको मूल्य साढे दुई करोडभन्दा बढी छ। उनले पुरानो ल्यान्डरोभर पनि सुरक्षित राखेका छन्। फोब्र्सले भर्खरै सार्वजनिक गरेको अर्बपति सूचीमा उनी १५६१ स्थानमा उक्लिएका छन्। उनको सम्पत्ति एक खर्ब ५० अर्ब रुपैयाँ रहेको छ।
विनोदका भाइ बसन्त चौधरी मर्सिडिज बेन्ज एस क्लास चढ्छन्। बसन्तले तीन करोड रुपैयाँ हालेर मर्सिडिज किनेका हुन्। उनको एसयूभी मर्सिडिज बेन्ज डीएलई पनि छ जुन ज्वाई पारस शाक्य चढ्छन्। व्यवसायीको बिचमा चौधरी सर्वाधिक महँगो गाडी चढ्नेको सूचीमा पर्छन्।
व्यवसायी सुरज वैद्य टोयोटा ल्यान्डक्रुजर चढ्छन्। उनी चढ्ने गाडीको मूल्य अहिले साढे दुई करोडको हाराहारीमा पर्छ। सार्क चेम्बर अफ कमर्सका अध्यक्ष वैद्य टोयोटा गाडीको नेपाली बिक्रेता पनि हुन्। नेपालमा टोयोटाका दर्जनभन्दा बढी भेरियन्टको मूल्य एक करोडभन्दा माथि छ।
नेपालमा सबैभन्दा बढी आम्दानी कर बुझाउने सिद्धार्थ शमशेर राणासँग मर्सिडिज बेन्ज एस क्लास र ल्यान्डरोभर छ। दुवै प्रिमियम सेगमेन्टका महँगा गाडी हुन्। टाटा गाडीको नेपाली बिक्रेता राणा गाडीका सौखिन पनि हुन्। राणा फेरि फेरि लक्जरी गाडी चढ्ने गर्छन्।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका पुरानो ल्यान्डरोभर चढ्छन्। ‘मेरो गाडी पुरानो भइसक्यो, ६/७ वर्षअघि ल्यान्डरोभर किनेको हुँ’, उनले भने, ‘गाडीमा मेरो त्यति धेरै सौख छैन।’ नेपालमा ल्यान्डरोभर धेरै बिक्री भएका छन्। उनी कहिले काहीँ आफैं ड्राइभिङ पनि गर्छन्।
गोल्छा अर्गनाइजेसनका निर्देशक शेखर गोल्छा महँगो भक्सवागन चढ्छन्। उनी चढ्ने गाडीको मूल्य अहिले पौने दुई करोड रहेको छ। नेपालमा भक्सवागनका प्रिमियम कार उपलब्ध छन्। भक्सवागनले पोलो र भेन्टोजस्ता सस्ता कार पनि बिक्री गर्छ।
व्यावसायिक घराना आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग तीनवटा महँगा कार छन्। उनीसँग एसयूभी सेगमेन्ट मर्सिडिज बेन्ज जीएलएस छ। जसको मूल्य अहिले तीन करोडभन्दा बढी छ। उनीसँग अर्को पनि मर्सिडिज कार छ। साथै, उनी रेन्जरोभर पनि चढ्छन्। छोटो अवधिमै व्यावसायिक छलाङ मार्ने ढकाल महासंघका उपाध्यक्ष पनि हुन्।
पर्यटन व्यवसायी भोला थापा कारका सौखिन हुन्। उनी प्रिमियम सेगमेन्ट बेन्ट्ले पनि चढिसकेको बताउँछन्। उनीसँग तीनवटा कार छन्। अफिसियल काममा कालो रङको जगुआर चढ्छन्। व्यक्तिगत काममा ल्यान्डरोभर र स्कोडा लउरा चढ्छन्। उनले जगुआर र ल्यान्डरोभर हालसालै किनेका हुन्। सोखसँगै स्टाटस मेन्टेनका लागि लक्जरी कार चढ्ने गरेको उनी बताउँछन्।
प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचनले ल्यान्डरोभर किनेका छन्। उनले ल्यान्डरोभर दुई करोडभन्दा बढी रकम तिरेर किनेका हुन्। प्रभु समूह व्यावसायिक क्षेत्रमा फड्को मार्ने घराना हो।
नेपालमा एक करोडभन्दा बढी मूल्यका गाडी चढ्ने धेरै छन्। किशोर गियरका अनुसार दुई दर्जन मर्सिडिज कार व्यक्तिगत प्रयोगका लागि किनेका छन्। यस्तै, ल्यान्डरोभरको संख्या तीन/चार सय पुगिसकेका छन्। एक करोडभन्दा बढी मूल्यका गाडी मर्सिडिज, टोयोटा, ल्यान्डरोभर, जगुआर, बीएमडब्लू, हम्मर, भक्सवागन, माज्दा, किया, हुन्डाई, फरारी, पिजो, निसान, होन्डा, सुवारु कम्पनीले बिक्री गर्छन्।