बालश्रमिक मुसहर बालबालिका बिहानी कक्षामा रमाउँदै

 बालश्रमिक मुसहर बालबालिका बिहानी कक्षामा रमाउँदै

गौशाला(महोत्तरी) :  गौशाला नगरपालिका—४ बिर्ता टोलमा शिक्षाको ज्योति बलेको छ। चार पुस्तापछि बिर्ता टोलामा मुसहर समुदायका बच्चाहरुले काँखमा कलम कपी च्याएर पढ्न जान थालेका छन्। रोग, भोक, शोकले पुस्तौंसम्म थिचिएका मुसहर बस्तीकी १२ बर्षीया नन्दनी मुसहरको अचेल दैनिकी फेरिएको छ।

बिहान उठेर मुख धुनेबितिकै ईट्टा भट्टामा जान उनलाई हतार हुन्थ्यो। काँखमा ईट्टा बनाउने फर्मा चेपेर ईट्टा भटट तिर जान्थिन्। तर, अहिले उनको दैनिक अलि फरक भएको छ। अहिले उनलाई बिहान घरआँगनको सरसफाई गरेर हातमुख धोएपछि गाउँकै बिहानी कक्षामा जान हतार हुन्छन्। हातमा जुटको बोरा र कपी कलम च्याएर उनी ट्युसनमा पुग्छिन्। दुई महिनादेखी उनको गाउँमा रेडियो गौशाला ९३.६ मेगाहर्जले ‘विबहानी शिक्षा’ कक्षा संचालन गरेपछि उनी पढ्न थालेकी छन्।

तर, उनलाई बिहानी कक्षामा पढ्न त्यति सहज भने छैन। बिहान पढेर घर गएपछि उनी स्कूल जान पाउदैँन। खान जुटाउनु पर्ने बाध्यता उनमा अहिले पनि कायम छ। बुवा शिव र आमा महेशीसँग ईटा उद्योगमा जानुपर्ने उनमा अझै बाध्यता छ। बिहानी कक्षा पढेर गएपछि १२ बर्षीया किशोरी दुई सय इट्टा बनाउँछिन्। बिहानी कक्षामा कखरा सिक्दै गरेका उनलाई स्कूल गएर पढ्ने ठूलो धोको छ। तर, आर्थिक अवस्थाले उनको जीन्दगीको बाटो छेकिदिने गरेको छ।

रेडियो गौशाला ९३.६ मेगाहर्जले समाजिक उत्तरदायित्व अन्तर्गत मुसहर बस्तीमा बिहानी कक्षा संचालन गरेपछि स्थानीय कविता मुसहरले आफ्नी ६ बर्षीया छोरी करिनालाई पढ्न पठाउँछिन्। गाउँको बच्चाहरु पढ्न थालेपछि बस्तीको मुहार फेरीने आशामा छिन् बस्तीका ६० बर्षीय वृद्धा चन्दरीया सादा। उनी भन्छिन्,‘ गरिवीले हाम्रो तीन पुस्तो पढ्न पाएन। गाउँभरीकै बच्चाहरु पढ्न थाले। खुशी लाग्यो।’

रेडियो गौशालाले दुई जना शिक्षक राखेर बस्तीमा कक्षा सञ्चालन गरेको छ। गुच्चा खेल्ने, मुसा मार्न जाने, बरालिएर हिड्ने, बालश्रम गर्ने बच्चाहरु बिहानी कक्षामा रमाउँछन्। कखरा सिकिरहेका बच्चाहरु नेपाली राष्ट्र गान गाउन सिकेका छन्। फुटवल, ब्याडमिन्टनमा खेलमा रमाउँछन्। बिहानको कक्षामा सबैले आफ्नो परिचय दिदैं बिहानी कक्षामा पढ्न थाल्छन्। आफु भन्दा ठूलालाई आदर सत्कार र सानालाई माया गर्न बच्चाहरुले सिकेकोमा स्थानीय अजित चौधरीले खुशी व्यक्त गरे।

‘गरिवीले दलित बच्चाहरु पढ्दैनथें। बालबालिकाहरुलाई बालश्रममा लगाइएको थियो। कोही इट्टाभट्टामा काम गर्थे। कोही नोकरीचाकरीमा थिए । बच्चाहरुलाई पढाउनु पर्छ भनेर कसैलाई चासो थिएन,’ उनले भने,‘ हामी गाउँलेहरु अहिले निर्णय नै गरेका छौं, सबै बच्चाहरुलाई पढाउन पठाउन।’ स्कूल बाहिर रहेका अधिकांश बच्चाहरु नजिकैको विद्यालयमा पढ्न जान पनि थालेको उनले बताए।

बस्तीकी ५५ बर्षीय कासी देवी सादालाई बच्चाहरुको हेरचाह गर्न गाउँलेले जिम्मा दिएका छन्। उनले दैनिक बच्चाहरु पढ्न गएको वा नगएको बारे सोधिखोजी गर्छिन्। जसको मुद्दा उनकै नेतृत्व भन्ने नियम बस्तीमा लागु गरेपछि मुसहर बस्तीका बच्चाहरु कक्षा कोठामा पुगेका स्थानीय मोहिवुल अन्सारीले बताए।

ईट्टा उद्योगमा काम गर्न जाने बच्चाहरुलाई शैक्षिक सत्र २०७५ मा स्कूल भर्ना गर्न तयारी भइरहेको रेडियो गौशालाका व्यवस्थापक दिनेश महतोले बताए। ‘दलित बस्तीका स्थानीयहरुलाई तपाइहरु नपढेर गरिव भएको बुझायौं। त्यसपछि हामीले सञ्चालन गरेको कक्षामा बच्चाहरु पढाउन अभिभावकहरु तयार भए। अहिले केही बच्चाहरु स्कूल पढ्न जान थालेका छन्।

अरु बच्चाहरु इट्टा उद्योगमा गएर खाना जुटाउन ईट्टा बनाउन जान्छन्,’ व्यवस्थापक महतोले भने, ‘आउँदो शैक्षिक सत्रदेखि उद्योगमा काम गर्न जाने बच्चाहरुलाई स्कूल पठाउछौं।’ बच्चाहरुको जन्मदर्ता नहुँदा विद्यालयमा नाम लेखाउन समस्या भएको अभिभावहरुले बताएका छन्।

गौशाला नगरपालिका वडा नम्बर—४ का वडा अध्यक्ष रामबाबु साहले दलित बस्तीका सबै बालबालिकाहरुलाई आउँदो शैक्षिक सत्रभित्र विद्यालय भर्ना गर्न काम थालिएको बताए। जन्मदर्ता बनाउन घुम्ती टोली गाउँ पठाएर सबै बालबालिकाको जन्मदर्ता बनाउने आफ्नो योजना रहेको उनले बताए।

स्कूल पोसाक, शैक्षिक समाग्री, खाजाको व्यवस्थान मिलाएर दलित बालबालिकाहरुलाई पढ्न तर्फ आकर्षित गर्ने नगरपालिकाको योजना रहेको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताए। गौशाला नगरपालिकामा कम्तीमा ३० हजार बालबालिकाहरु स्कूल बाहिर रहेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.