कृष्ण-सुस्केरा
मधुर संगीतले ढोकामै स्वागत गर्छ। त्यो घरको प्यासेजमा छिर्दा नछिर्दै सुमधुर आलापको गुञ्जन सुनिन्छ। घरको भुइँतल्लामा छ, रेकर्डिङ स्टुडियो। प्यासेजमा आगन्तुकका लागि सोफा राखिएको छ। संगीतको मधुरता र भित्रबाट आइरहेको रियाजको आलाप मिसिँदा पनि सुन्नेको मन शान्त भइरहन्छ। यही वातावरणमा भेटिन्छन् कृष्णभक्त राई।
‘नमुछे आमा दहीमा टीका, नछरे जमरा’ बोलको गीत जब कतै बज्छ, सुन्नेको मनमा एक खालको स्तब्धता छाउँछ। २०५७ सालमा उक्त गीत राईको आवाजमा रेकर्ड भएको थियो। यही गीतले उनलाई नेपाली संगीत जगत्मा परिचय दिलायो।
नेपाली संगीतको बजारमा अलग्गै चिनिने बेग्लै खालको स्वर र विशिष्ट धुन रचना गर्ने राई संगीतकार पनि हुन्। १२ सय जति आधुनिक नेपाली गीतमा आफ्नो स्वरको जादु चलाइसकेका राईले तीन सयभन्दा बढी गीतमा संगीत पनि भरेका छन्।
संसार हेर्ने आँखा उनीसँग छैन। तर दुनियाँमा सल्बलाइरहेका धुन देख्न, अनि आफ्नो स्वर र संगीतले दुनियाँसँग आँखा जुधाउन उनी सक्छन्। बाल्यकालमा आँखा पाक्ने रोग लागेर आँखाको नानी नै गुमाउनु परेको पीडा छ उनीसँग। भन्छन्, ‘त्यसपछि मैले संसार नै देख्न छाडेँ।’ उनले हिम्मत हारेनन्। निरन्तर संघर्ष गरेर जीवनलाई सार्थक र सिर्जनशील बनाए। बुवा दिलबहादुर र आमा देउमायाले उनलाई यो यात्रामा निरन्तर प्रेरणा दिइरहे।
उनको जन्म धनकुटाको दिलुङटार, आहालेमा भएको थियो। सानै उमेरदेखि उनको गाउने र नाच्ने कलामा लगाव थियो। सारंगी, मादल र बाँसुरी बजाउन सिकिसकेका थिए। गाउँका मेलापर्व, पूजाआजामा गीत गाउँदागाउँदै उनको कलाको चर्चा हुन थाल्यो। जब प्रशंसा गर्नेहरूको संख्या बढ्न थाल्यो, उनलाई जीवनको लक्ष्य भेट्टाए जस्तै लाग्यो।
‘साथी छुट्यो, दोबाटोमा हिँडिरहेछु एक्लै’ बोलको गीतबाट उनको औपचारिक सांगीतिक यात्रा आरम्भ भयो। गाउँतिरबाट आएका कुनै कलाकारलाई कुनै क्षेत्रमा सजिलै नामदाम कमाउने मौका मिल्दैन। उनी त झन् दृष्टिविहीन। दृष्टिविहीन भएकै कारण विभिन्न अवसरबाट वञ्चित भएको तथा सांगीतिक कार्यक्रमका आयोजकहरूले पनि बेवास्ता गरेको तीतो अनुभव छ उनीसँग। भन्छन्, ‘क्षमता हुनेभन्दा पनि छाडा गीत गाउने र पैसा हुनेहरूले यो क्षेत्रमा बढी अवसर पाउने रहेछन्।’
१० वर्षको हुँदा बुवा र त्यसको दुई वर्षपछि आमा गुमाएको पीडा छ उनीसँग। आफूले उपचार गराउन सकेको भए आमाबुवा अलि बढी बाँच्थे भन्ने बिझिरहन्छ उनलाई। अभिभावकविहीन भएपछि संघर्षको यात्रा झन् कठोर बन्न पुग्यो।
परिवारमा कान्छो उनी, आमाबुवाको मृत्युपछि दाजुभाइले पनि वास्ता गरेनन्। दुःखका पहाड निकै चढे तर पनि सुखको समथर फाँट भेटिएन। आर्थिक अवस्था कमजोर, धेरै ठाउँमा ठेस मात्र लाग्थ्यो। समयमै कोठाको भाडा बुझाउन नसक्दा घरबेटीले पानी र बिजुलीसमेत काटेकोदेखि श्रीमतीले छाडेर गएको घटनाले पोल्छ उनलाई।
गाउँकै एक सहयोगी हरिकुमार राईको सहयोगमा २०४४ सालमा १४ वर्षको उमेरमा मात्र धरान झरे उनी। धरानस्थित ज्ञानचक्षु विद्यालयबाट ७ कक्षा मात्र औपचारिक शिक्षा लिएका उनले त्यही विद्यालयमा व्यावसायिक शिक्षाअन्तर्गत प्रारम्भिक सांगीतिक ज्ञान पनि हासिल गरे। संगीत सिक्ने मौका त मिल्यो नै, विद्यालयभित्र र बाहिर आयोजना हुने कार्यक्रममा समेत उनको प्रस्तुतिको माग बढ्न थाल्यो। आफ्नै भोगाइ र दुःखलाई नै गीत र धुनमा बुन्ने राम्रो मौका बन्यो यो। ‘परदेशी दाजु आँगनीमा देउन मलाई बास’ बोलको गीत सारंगी रेटेर गाउँदा श्रोताहरू झुम्मिन्थे।
संगीतका क्षेत्रमा काम गर्ने लक्ष्य धरानबाट उनी २०५५ सालमा काठमाडौं छिरे। विष्णुकुमार जोशीको सहयोगमा उनले झरना संगीत पाठशालामा वाद्यवादनको काम गर्ने अवसर पाए। सानो कमाइमा गुजारा गर्दै गायन तथा संगीतमा क्षमता तिखार्ने काममा लागिरहे।
राईको स्वरमा भिजेर प्रेम गर्ने पनि आखिर कोही भेटियो। अन्ततः इलामकी आशा राईसँग २०५३ वैशाखमा उनको बिहे भयो। अनि दुई छोरा पनि जन्मिए। जेठा अकिल अहिले बीए र कान्छा मनसुन ८ कक्षामा पढ्छन्। दुःखका पहाड पार गर्दै श्रीमती, बच्चाहरूसँग उनी खुसी थिए। ‘हाम्रो माया चर्किएको मायासरि नफुटोस्’ गिदाउथे उनी। तर नियतिको खेल। २०६९ सालमा श्रीमती आशाले सम्बन्धै फुटाएर हिडिन्।
‘हुँ म एउटा विवश यात्री, आफ्नै पाइलामा अल्झिएको’ बोलको उनको गीत रेडियो नेपालमा पहिलो पटक रेकर्ड भएको थियो। गीतसंगीतमै राम्रो गर्न पाउँ, आफ्ना गीत मन पराउने र सहयोग गर्नेहरूलाई सधैं राम्रो गर्न पाए हुन्थ्यो भन्ने उनको चाहना छ। राईले जीवनयात्रा, आकांक्षा, सुस्केरा, विश्वासलगायत १६÷१७ वटा एकल एल्बम निकालेका छन्। प्रकृतिले दृष्टि खोसेर लगे पनि राईको स्वरको जादु कायम छ। उनले संगीत क्षेत्रमा बनाएको पहिचान दृष्टि भएकाहरूका लागि प्रेरणादायी छ।