फोक्सुन्डोको गहिराइ विवाद
उचाइको दृष्टिबाट डोल्पाको उत्तरी भू-भागमा रहेको मानवबस्ती संसारमै सबैभन्दा उपल्लो थलोको बस्ती हो। धौलागिरी, पुथा सिस्ने आदि हिमालहरूको पारिपट्टि रहेको भूगोल, जहाँ एक गाउँपछि अर्को गाउँ पुग्न पाँच हजार मिटरभन्दा अग्ला भन्ज्याङ काट्नुपर्छ। सयौं हिमाल, पर्वतीय शृंखला उठेका छन्, जसले पर रहेको संसार चियाउन सकिँदैन। डोल्पा छिर्ने देशविदेशका विद्वानहरूले लेखेका छन्, संसार देख्न कि त डोल्पाबाट बाहिर निस्कनुपर्छ, कि त संसारकाहरूले डोल्पाभित्र छिर्नुपर्छ। फोक्सुन्डो तालको दृश्य समेटिएको ‘क्याराभान’ ओस्कार छनोटमा परेपछि यो क्षेत्र अझ चर्चित भयो।
हिमाल पारि छिर्दा देखिने डोल्पाको मुख्य विशेषता जीवबिनाको फोक्सुन्डो ताल पनि एक हो। नेपालमा सबैभन्दा गहिरो ताल भनेर यसलाई चिनिन्छ। फोक्सुन्डो ताल दुर्गमको घुम्टोभित्र छोपिएकी अप्सरा हुन्, जो विश्वको पर्यटन जगत्मा समेत चर्चाको विषय बनेको छ। केही वर्षपहिले यसको गहिराइ नाप्न जलवायु तथा मौसम विज्ञान विभागबाट एक टोली पुग्यो। तर टोलीको गहिराइ नाप्ने मेसिनरी यन्त्र बिग्रियो, गहिराइ यकिन गर्न सकेन। तर भत्ताको लोभमा कार्य सम्पन्नताको प्रतिवेदन तयार पारियो।
सामान्य ज्ञानमा ६ सय ५० मिटर लेखिएको यो तालको गहिराइबाट पाँच सय पाँच मिटर घटाएरमात्र एक सय ४५ मिटर देखाइयो। प्रतिवेदन एक राष्ट्रिय दैनिकमा प्रकाशित भयो। यस्तो समाचारले डोल्पा जिल्ला तरंगित हुने नै भयो। नागरिक समाज डोल्पा तात्तियो। समाजको अध्यक्षको हैसियतले यो पंक्तिकारलगायतबाट प्रेस विज्ञप्तिका अलावा फर्जी प्रतिवेदन रद्द गर्न मुद्दा जाहेर गरियो। सम्भवतः २०५९ सालतिर जलवायु तथा मौसम विज्ञान विभागका महानिर्देशकको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन भयो। आयोगमा शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाको संरक्षकलाई पनि सदस्य राखियो। आयोगले फोक्सुन्डो तालको गहिराइ पुनः नाप्नुपर्ने रिपोर्ट बुझायो।
सामान्य ज्ञानमा ६ सय ५० मिटर लेखिएको फोक्सुन्डो तालको गहिराइलाई पाँच सय पाँच मिटर घटाएर एक सय ४५ मिटर देखाइएपछि डोल्पावासी खिन्न छन्।
हामीले थाहा पाएको जानकारीअनुसार दुई सय मिटर गहिराइ मात्र नाप्न ‘इकोसाउन्डर’ मेसिन लगिएको थियो, त्यो पनि थियो। यसलाई मर्मत गरी काठमाडौंको टौदहमा परीक्षण गरिएपछि फोक्सुन्डो तालको गहिराइ नाप्न डोल्पा लाने निर्णय गरिएछ। टोेली डोल्पा हिँड्यो। आधा दर्जन कर्मचारीमध्ये टेक्निसियन टोलीसँग मत बाझिएपछि फोक्सुन्डो नगई आधाबाटो साङ्टाबाटै काठमाडौं फर्किएछन्। टेक्निसियनविहीन टोली ताल पुग्यो। उक्त मेसिनले तालको गहिराइ नाप्न सकेन र पुनः बिग्रियो। टोलीसँग अर्को वैकल्पिक उपाय स्टिल रोपमा कुनै गरुंगो धातु बाँधेर डुंगाबाट पानीमा छोड्ने र गहिराइ नाप्ने सामान्य तरिका स्टिलरोप थियो।
त्यो पनि लगभग दुई सय मिटर लम्बाइको मात्रैको रहेछ। नेपाली सेनासँग घैती मागी, त्यसैमा डोरी बाँधी पानीमा छोड्दै जाँदा डोरी बीचैमा चँडिएर घैती तालमा खस्यो। ढंग नपुर्याई काम गरिँदै थियो। यस्तैमा प्रकृतिले पनि साथ दिएन। एक्कासि तालमा हुरी आएपछि नापी टोलीको डुंगा अनियन्त्रित हुन थाल्यो। सेनाले रेस्क्यु गर्यो। टोली काठमाडौं फक्र्यो। यसरी मेसिनरी र सामान्य विधि दुवै असफल भयो। तर टोलीले कार्य सम्पन्नताको प्रतिवेदन वनायो। पत्रपत्रिकाहरूमा तालको गहिराइ केवल एक सय ४५ मिटर भनेरै समाचार आयो।
आयोगको छलफलमा फोक्सुन्डोको गहिराइ अंग्रेजी अक्षरको ‘भी’ सेप र राराको ‘यू’ सेप भएकाले फोक्सुन्डो तालको गहिराइ चार सय मिटरदेखि माथि नै हुनुपर्छ भन्ने सबै वैज्ञानिकहरूले आआफ्नो विचार व्यक्त गरेका थिए। स्थानीय जन श्रुतिअनुसार १४ चौरीको छालाबाट डोरी बनाई तालभित्र छोड्दा पनि तालको फेद भेटिएको थिएन भनिन्छ।
ताल पुनः नाप्ने कुनै प्रक्रिया अगाडि नबढेपछि २०७३ सालमा फोक्सुन्डो ताल छेउका बासिन्दा सुम्डुक लामा, नीमा लामा र आङबहादुर लामालगायतका फोक्सुन्डोवासी र यस पंक्तिकारसहितको टोली काठमाडौं पुग्यो। त्यहाँ विभिन्न निकायमा गइयो। मौसम विज्ञान विभागका निर्देशकले तपाईंहरू ठीक समयमा आउनु भयो। यो वर्षको कार्यक्रममा बजेट छुट्ट्याई भदौ महिनामा ताल नापी गर्न आउने छौं भनेका थिए। तर यसको कार्यान्वयन भएन।
सुनिँदै छ, विभागले फोक्सुन्डो तालको गहिराइ नाप्न कन्सल्टेन्ट हायर गर्दैछ। यदि यसो हो भने आधुनिक र करिब एक हजार मिटर गहिरो नाप लिन सक्ने अत्याधुनिक मेसिन लिएर जानुपर्छ। हप्तौं लगाएर भए पनि वास्तविक गहिराइ पत्ता लगाउनुपर्छ। दक्ष प्राविधिक र त्यस्तै औजारबाट हुने नापी मात्रै सर्वस्वीकार्य हुनेछ।
(लेखक, ठूलीभेरी नगरपालिका, डोल्पाका उपप्रमुख हुन्)