किन झुट बोल्छन् बेलायती ?
बेलायतमा अत्यधिक प्रयोग गरिने शब्द हो, ‘सरी’ अर्थात् माफ गर्नुहोला। मौसममा गडबडी देखिँदा होस् या कोही मान्छे आफूसँग ठोक्किँदा, उनीहरू भनिरहेकै हुन्छन्— सरी। पछिल्लो एकदुई घन्टाभित्र प्रायः बेलायतीले कम्तीमा एकपटक सरी भनेका हुन सक्छन्।
लगभग एक हजार बेलायतीमा गरिएको सर्वेक्षणमा प्रायःजसोले दैनिक आठपटकसम्म ‘सरी’ भन्ने गरेको पाइयो। र, हरेक आठमा एकजनाले दैनिक २० पटकसम्म माफी माग्ने रहेछन्।
‘आफूले नगरेको गल्तीमा माफ माग्न ब्रिटिसहरू जति अग्रसर हुन्छन्, गरेका गल्ती स्वीकार्न त्यति नै पछि हट्छन्’, हेनरी हिटचिङ्स आफ्नो पुस्तक ‘सरी : द इङ्लिस एन्ड दियर म्यानर’मा लेख्छन्।
के अन्य समुदाय÷संस्कृतिका मान्छेभन्दा बेलायतीले साँच्चै नै धेरै माफी माग्छन् ? माग्छन् भने यसको कारण के हो ? यो कति खराब बानी हो ? विभिन्न देशका मान्छेले दैनिक कतिपटक माफी माग्छन् भनेर सही तथ्यांक निकाल्न सोचेझैें सजिलो छैन। ‘अमेरिकनभन्दा बेलायती र क्यानेडियनले अलि बढी माफी माग्छन् कि जस्तो लाग्छ’, युनिभर्सिटी अफ पिटर्सबर्गकी मनोविद् करिना चुमन भन्छिन्, ‘चित्तबुझ्दो परिणाम ल्याउने गरी यस विषयमा अध्ययन गर्न जटिल छ।’
एउटा दृष्टिकोण हुनसक्छ, सैद्धान्तिक अवस्था (थ्योरेटिकल सिच्वेसन)मा के गर्नुहुन्छ भनेर सर्वसाधारणलाई प्रश्न राख्ने। ‘यु गभ पोल’ले १६ सय बेलायती र एक हजार अमेरिकनमा माफी माग्ने विषयलाई लिएर अध्ययन गर्यो। माफी माग्ने बेलायतीको संख्या बढी देखियो। अर्थात्, आफूले गरेको गल्तीमा सरी भन्नेहरूमा बेलायती १५ जना हुँदा अमेरिकन १० मात्र भए। ८४ प्रतिशत बेलायतीले मिटिङमा ढिलो आइपुग्दा माफी माग्दा रहेछन्। जब कियही परिस्थितिमा ७४ प्रतिशत अमेरिकनले मात्र माफी मागे।
मैले भनेको गर, गरेको होइन
सैद्धान्तिक परिस्थितिमा के गर्छौ भनेर उनीहरूलाई प्रश्न सोध्नु र वास्तविक जिन्दगीमा उनीहरूले के गर्छन् भनेर मूल्यांकन गर्नु फरक छ। एउटा उदाहरण लिऊँ— यु गभ सर्भेका अनुसार अरूको मूर्खता र हेलचेक्य्राइँमा आफूले माफी माग्नेहरूमा ३६ प्रतिशत बेलायती छन्। जब कि त्यही अवस्थामा २४ प्रतिशत अमेरिकीले मात्र माफी मागे।
तर, मानवशास्त्री केट फक्सले आफ्नो पुस्तक ‘वाचिङ इङ्लिस’मा एउटा परीक्षणको बयान गरेकी छन्। अध्ययनका लागि बेलायतका सहरहरूमा सयौं मान्छेसँग आफू ठोक्किँदै हिँडेको बताएकी छन्, उनले। यस्तै अभ्यास अन्य देशमा पनि गर्न उनले साथीहरूलाई भनेकी थिइन्।
‘बेलायतीहरू धेरैपटक सरी भन्छन् तर यसको अर्थ उनीहरूले माफी नै मागेका हुन् भनेर ठोकुवा गर्न सकिँदैन।’
- लिन्डा गेड्स
विभिन्न देशको संस्कृति दाँज्न यस्तो अध्ययनले मद्दत गर्छ। झन्डै ८० प्रतिशत बेलायतीले आफू पीडित हुँदा पनि ‘सरी’ भनेको फक्स बताउँछिन्। मान्छेसँग ठोक्किँदै हिँड्नु फक्सको गल्ती हो। तर पनि माफीचाहिँ फक्ससँग नै मागिन्थ्यो। सोचविचार नै नगरी सरी भनिदिन्थे बेलायती। बेलायतको सहरमा कुनै विदेशी पर्यटकसँग ठोक्कियो भने अवस्था अलि फरक हुने बताउँछिन् फक्स। किनकि, यसरी ठोक्किँदा बेलायती र अन्य देशका नागरिकले गर्ने प्रतिक्रिया नै फरक हुन्थ्यो।
‘सरी’ शब्द पुरानो अंग्रेजीको ‘सरिग’बाट आएको हो। सरिगको अर्थ हुन्छ— तनाव, शोक, पीडा, अभाव, कष्ट आदि। अवश्य पनि बेलायतीहरू यो शब्दलाई अधिक प्रयोग गर्छन्। र, भाषामा सांस्कृतिक भिन्नता अध्ययन गर्दै जाँदा अर्काे समस्या आइपर्छ। ‘हामी ‘सरी’लाई विभिन्न तरिकाबाट प्रयोग गर्छौं’, भाषाविद् एड्विन बाटिस्टेला बताउँछन्। उनी ‘सरी अबाउट द्याट ः द ल्यांग्वेज अफ पब्लिक एपोलोजी’का लेखक पनि हुन्। उनले भने, ‘बेलायतीहरू धेरैपटक सरी भन्छन् तर यसको अर्थ उनीहरूले माफी नै मागेका हुन् भनेर ठोकुवा गर्न सकिँदैन।’
‘हामी यसलाई ‘इम्पेथी’ देखाउन प्रयोग गर्छौं त्यसैले पानी पर्दा पनि म सरी भनौंला’, बाटिस्टेला भन्छन्, ‘बेलायती र क्यानेडियनले बढी सरी भन्छन् होला। तर, उनीहरूले हरेकपटक माफी मागेका हुँदैनन्। केही अनुसन्धानदाताले भनेका छन्, सरी शब्दको प्रयोग फरक सामाजिक वर्गसँग बोल्नुपर्दा प्रयोग गरिन्छ। तपाईं आफ्नो सुविधाअनुसार माफी माग्न सक्नुहुन्छ।’
बेलायती समाजमा कसैलाई व्यक्तिगत रूपमा हस्तक्षेप नगरीकन मान्छेलाई सम्मान गर्ने कुराले अर्थ बोक्छ। उनीहरू अरूलाई डिस्ट्रब गर्न चाहँदैनन्। यसलाई भाषाविद्हरू ‘नेगेटिभ-पोलाइटनेस’ रूपमा परिभाषित गर्छन्। अर्काेतिर, अमेरिकीहरू समूहमा घुलमिल हुने स्वभावका हुन्छन्। उनीहरू समूहमा रमाउँछन्। यसलाई भाषाविद्हरू ‘पोजेटिभ-पोलाइटनेस’को रूपमा व्याख्या गर्छन्।
बेलायतीहरूले भन्ने गरेको ‘सरी’ कहिलेकाहीँ बाहिरी देशका मानिसलाई अनावश्यक लाग्न सक्छ। जस्तो अमेरिकनले पनि त्यस्तै सोच्लान्। कसैसँग सूचना लिनुपर्दा होस् या कसैको छेउमा बस्नुपर्दा, बेलायतीहरू पहिले सरी भन्छन्। सरी नभन्ने हो भने अपरिचितको ‘प्राइभेसी’मा ठूलो धक्का लाग्ने उनीहरूको सोचाइ हुन्छ।
‘अत्यधिक र अनावश्यक प्रयोगले यसको महत्व घटाउँछ। हाम्रो सरी भन्ने संस्कृतिले कहिलेकाहीँ बाहिरिया (विदेशी)लाई भ्रम र अप्ठ्यारोसमेत पारिदिन्छ’, फक्स थप्छिन्, ‘तर, मलाई लाग्दैन सरी भन्नु गलत हो।’ यहाँ सरी भन्नुका केही फाइदा पनि छन्, तपाईंप्रतिको विश्वास बढ्न सक्छ। रमाइलो के छ भने आफ्नो गल्तीमा मात्र मान्छेले माफी माग्छन् भन्ने होइन। आफ्नो नियन्त्रणभन्दा बाहिरको घटना छ भने पनि माफी मागिरहेका हुन्छन्।
हार्भड बिजनेस स्कुलका एलिजन वुड ब्रुक्स र उनको एक केटा साथीले अनुसन्धान गरे। उनीहरूको टिमले पानी परेको दिन अमेरिकाको रेल स्टेसनमा उभिएका ६५ जनासँग टेलिफोन मागे। तीमध्ये आधाले जवाफ फर्काए, ‘सरी अबाउट द रेन।’ ४७ प्रतिशतले खल्तीबाट निकालेर मोबाइल दिए। यसमध्ये नौ प्रतिशतले माग्नेबित्तिकै आनाकानी नगरीकन खुरुक्क मोबाइल दिए। (एलिजन वुड ब्रक्सले ‘आई एम सरी अबाउट द रेन ! सुपरफ्लज अपोलोजिज डेमोन्सट्रेट इम्प्याथिक कन्सर्न एन्ड इन्क्रिज ट्रस्ट’ शीर्षकमा आर्टिकल तयार पारेका छन्।)
‘माफी माग्नेहरूले ‘माफ गर्नुहोला, पानी परिरहेको छ’ भन्दै अचानक आइपरेको घटना स्वीकार्छन्। त्यसपछि उनीहरू पीडित (अर्को पक्ष)को भनाइ÷दृष्टिकोण लिन्छन्। भन्न खोजेको के हो भने आफ्नो नियन्त्रणमा नरहेको घटना सामना गर्नुपर्दा पनि उनीहरू सरी भन्छन्’, वुड बु्रक्स भन्छन्।
यो ‘स्टेरियोटाइप’लाई परीक्षण गर्न चुमनले विश्वविद्यालयका विद्यार्र्थीलाई जर्नल नै तयार पार्न लगाए। उनीहरूले आफूले सामना गरेको वा माफी माग्नका लागि उपयुक्त घटनालाई टिपे। यस्ता घटनामा माफी माग्नेहरू कति थिए र नमाग्नेहरू कति थिए भनेर पनि उनीहरूले टिपोट गरे। अध्ययनबाट नयाँ सूचना बाहिर आयो। पुरुषभन्दा महिलाले धेरै माफी माग्ने रहेछन्। तर, जब माफी माग्न उपयुक्त घटना घट्छ, उनीहरू बढी आक्रोशित हुन्थे— आक्रोशित हुनेहरू पीडित र पीडक दुवै हुन्थे।
कमजोरीको संकेत ?
माफी माग्नुपर्छ भनेर हामीले सचेत हुनुपर्ने घटनाहरू के हुन् ? हामीले कति बेला माफी माग्नुपर्छ ? तपाईंको इज्जत÷मान÷घमण्डलाई एकातिर थन्क्याएर ‘सरी’ भन्नु ठीक हो ? अथवा, अमेरिकन फिल्मका नायक जोन वायनले भने÷गरेझैं माफी माग्नु कमजोरीको संकेत हो ?
‘गल्ती नभए पनि विश्वसनीय वा जिम्मेवार देखिन मात्रै माफी मागिएको हो भनेर मान्छेहरू सोच्ने गर्छन्’, वुडी ब्रुक्स भन्छिन्, ‘प्रभावकारी माफीले अर्काे पक्षको भावनालाई सम्बोधन गर्छ। उपयुक्त ठाउँमा माफी माग्दा त्यसले तपाईंप्रति विश्वास बढाउँछ।’
यो कसरी गर्ने भन्ने विषयमा बाटिस्टेलाको एउटा सुझाव छ, ‘आफ्नी आमाले सिकाएअनुसार नै तपाईंले माफी माग्नु ठीक हुन्छ।’ तपाईले आफन्तलाई ढुंगाले हिर्काउँदा आमाले केही भनेकी होलिन्। कसरी माफी माग्ने भनेर सिकाएकी होलिन्। जसलाई ढुंगा हान्नुभएको छ, तपाईं उसको छेउमा पुग्नुहुन्छ र भन्नुहुन्छ, ‘माफ गर्नुहोस्, मैले तपाइलाई ढुंगा हानेँ। अब कहिल्यै यस्तो गर्दिनँ।’
‘माफी माग्नलाई आफ्नो गल्ती के हो भन्ने थाहा हुनुपर्छ। गल्ती गरेपछि तपाईंले माफ माग्नुपर्छ’, बाटिस्टेला भन्छन्। कतिपटक माफी माग्नु आवश्यक हुन्छ भन्ने कुराचाहिँ तपाईं बसेको ठाउँअनुसार फरक पर्छ। वुड ब्रुक्स र हार्वडमा पीएचडी गर्दै गरेका विद्यार्थी ग्रान्ट डोनेलीले यस विषयमा केही तथ्यांक संकलन गरेका छन्। सानो गल्ती छ भने एकपटक ‘आई एम सरी’ भन्नु उपयुक्त हुन्छ। ‘गल्ती ठूलै छ भने दुईपटक सरी भन्नुस्। सहानुभूति देखाउन, ग्लानि महसुस गर्न र आफूप्रति विश्वास जगाउन पनि दुईपटक माफी मागिन्छ’, वुड ब्रुक्स भन्छिन्।
अवश्य पनि, बेलायती हुनुहुन्छ भने तपाईंले दुईपटक सरी भन्नु आवश्यक हुन्छ। एकपटक भनिएको ‘आई एम सरी’लाई त माफीका रूपमा गणनै गरिँदैन त्यहाँ। बरु हामीले दोहोर्याएर सरी भन्नुपर्छ। सरीमा पनि अनेक विशेषण जोड्नुपर्छ।
किरण दहालको अनुवाद