कांग्रेसको गलत प्रवृत्तिविरुद्ध सिटौको आक्रोश

कांग्रेसको गलत प्रवृत्तिविरुद्ध सिटौको आक्रोश

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीमा गलत प्रवृत्ति हाबी हुँदै गएको भन्दै पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताएका छन्।

पार्टीको १३ औँ महाधिवेशनबाट अस्तित्वमा देखिएको सिटौला समूहका शुक्रबार आयोजित नेता कार्यकर्ता भेलामा उनले निर्वाचनपछिको अवस्थामा कांग्रेसले नयाँ मार्गचित्रका साथ अघि बढ्नुको विकल्प नभएको बताए।

नेता सिटौलाले पार्टीभित्र अहिले पनि सामन्ती संस्कार कायम रहेको बताउँदै यसलाई हटाउन पार्टीमा व्यावहारिक रुपमा लोकतान्त्रिक संस्कार निर्माण गर्नु जरुरी रहेको समेत बताए।

वर्तमान सरकारबाट सर्वसत्तावाद लागू गर्ने संकेत देखिन थालेको बताउँदै उनले त्यसलाई रोक्न सशक्त र बलियो का‌‌ग्रेसको आवश्यकता औँल्याए। आफू सही बाटोमा नहिँडी अरुलाई सही बाटोमा हिँडाउन नसकिने नेता सिटौलाको तर्क थियो।

कार्यक्रममा का‌‌‌ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी सुधारका लागि जोखिम मोलेर भए पनि बोल्नुपर्ने र दबाब दिने बेला आएको उल्लेख गर्दै अन्यथा थप मूल्य चुकाउनुपर्ने धारणा व्यक्त गरे।

उनले निर्वाचनमा कांग्रेसले हार व्यहोरे पनि नयाँ संविधानमार्फत मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेर राजनीतिक मुद्दा जितेको जिकिर गरे।कांग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीले पार्टीको टिकट वितरणमा पैसावाल र व्यापारी हाबी भएकोप्रति चिन्ता व्यक्त गर्दै पार्टीमा योगदान गरेका र दुःख पाएका कार्यकर्ता कहाँ जाने भनी प्रश्न गरे।

नेता चौधरीले हिजोका दिनमा नाकाबन्दी लगाउन सहयोग गर्ने र नाकाबन्दीको घोर विरोध गर्नेहरु आज एक भएको प्रसंग उल्लेख गर्दै वर्तमान सरकार खिचडी गठबन्धनको सरकार भएको आरोप लगाए।

पार्टी केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा व्यक्ति नभई विधान प्रधान हुनुपर्ने बताउँदै पार्टी सुधारका लागि संगठन सुदृढीकरणको आवश्यकता रहेको बताए। उनले भने , 'कांग्रेस सुध्रिएर सच्चियो भने काँग्रेसलाई कसैले हराउन सक्दैन।'

 

कांग्रेस समूहका भेला बढ्दै

कांग्रेसमा रहेका विभिन्न समूहले निर्वाचनपछि आफ्ना भेला तथा छलफललाई तीव्रता दिएका छन्। बिहीबारमात्रै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता कार्यकर्ता भेला भई पार्टी कमजोर भएको भन्दै कसरी बलियो बनाउने भन्ने सम्बन्धमा छलफल गरेका थिए।

भेलामा गाउँस्तरमा पार्टीको संरचना कसरी बलियो बनाउने, यही चैत ९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा छलफल गर्ने विषयका बारेमा समेत छलफल भएको नेता नवीन्द्रराज जोशीले जानकारी दिए।

निर्वाचन परिणामको विषयलाई लिएर काँग्रेसमा आरोप प्रत्यारोप जारी छ। मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसले अनपेक्षित परिणाम व्यहोरेको थियो।

उक्त निर्वाचनमा कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये २३ स्थानमा मात्र जित हासिल गरेको थियो। काँग्रेस केन्द्रीय कार्यसमितिमा निर्वाचनपछि परिणामका बारेमा विस्तृत रुपमा समीक्षा हुन सकेको छैन। त्यसका लागि यही चैत ९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ।

पार्टीको १३ औँ महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल र नेता सिटौला तीन समूह बनाएर निर्वाचनमा होमिनुभएको थियो। त्यसपछि यी तीन समूह पार्टीमा सतही रुपमा देखिएका हुन्।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.