कहिले सरकारमा जान्छ फोरम ?
काठमाडौँः संघीय समाजवादी फोरम केपी ओली नेतृत्वको सरकारमा जाने कुराको अझै टुंगो लाग्न सकेको छैन । आफ्ना मुद्दाहरु सम्बोधन हुने गरी सरकारमा जाने निर्णय गरेको फोरमले प्रधानमन्त्रीले लिखित प्रतिवद्धता नजनाएसम्म खुट्टो उचाल्ने छाँट नदेखएको हो ।
प्रधानमन्त्री ओलीले शुक्रबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका बेला फोरमले भने अझै केही दिन कुर्ने अडान लिएको हो । फोरमले गृह, परराष्ट्र, सञ्चार र रक्षाबाट एक, भौतिक, सहरी विकास, स्वास्थ्य, कृषिमध्येबाट एक र सामान्य, वातावरण, भूमिसुधारमध्येबाट एक मन्त्रालयबाट दिनुपर्ने अडान राखेको छ।
प्रदेशको सीमांकनसहितका आफ्ना मागको सम्बोधन हुने ग्यारेन्टी नभएसम्म सरकारमा नजाने फोरमका महासचिव रामसहाय यादवले बताए ।
फोरमबाट अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने पक्का पक्की छ । तर अर्को मन्त्रालय लिने नेताबारे अहिलेसम्म टुंगो लागेको छैन । राजेन्द्र श्रेष्ठले अर्को मन्त्रालयमा बलियो दाबेदारी गरेका छन् । तर, उनीसँगै मोहम्मद इस्तियाक राई र रेणु यादवले पनि बलियो दाबेदारी प्रस्तुत गरेका छन् ।
संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलार्इ पनि सरकारमा ल्याउन केपी ओली नेतृत्वको सरकारले मन्त्रालय बढाउने निर्णय पनि गरिसकेको छ ।
फोरमसँगै राष्ट्रिय जनता पार्टिले पनि सरकारमा जान ओली सरकारसँग कम्तिमा पनि ३र३ मन्त्रालय मागेका छन् । फोरमलाई ओलीले शुक्रबारै सरकारमा ल्याउन खोजेका छन् । तर फोरमले सरकारमा जाने व्यक्तिबारे पदाधिकारी बैठकबाट सहमति जुटाएकै छैन । आकांक्षी धेरै भएपछि अध्यक्ष यादव अफ्ठेरोमा परेका छन् ।
फोरमले यसअघि नै सरकारमा जाने निर्णय गरिसकेको छ । राजपाले भने सरकारलार्इ समर्थन गरे पनि सरकारमा जाने निर्णय गरिसकेको छैन । उसले पनि तीन मन्त्रालय मागेको छ । फोरम र राजपा सरकारमा जाने भएमा ओली नेतृत्वको मन्त्रिमण्डल कम्तिमा पनि २२ सदस्यीय हुनेछ । सरकारमा संविधानअनुसार संघीय सरकारका २५ सदस्यसम्म मन्त्री रहन सक्नेछन् ।