मन्त्रिपरिषद् २२ सदस्यीय : यी हुन् ओलीका सारथि
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार २२ सदस्यीय बनेको छ। शुक्रबार ११ मन्त्री र चार मन्त्री थपिएपछि ओली मन्त्रिपरिषद् २२ सदस्यीय बनेका हो। नयाँ मन्त्रीले शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्।
शुक्रबार एमलेको तर्फबाट ६ जना मन्त्री बनेका छन्। प्रदीप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, रवीन्द्र अधिकारी पर्यटन, शेरबहादुर तामाङ कानुन, जगतबहादुर सुनार (विश्वकर्मा) युवा तथा खेलकुद, रघुवीर महासेठ भौतिक तथा पूर्वाधार मन्त्री बनेका छन्।
ओली सरकारमा यसअघि नै एमालेको तर्फबाट थममाया थापा महिला तथा बालबालिका, लालबाबु पण्डित सामान्य प्रशासन, ईश्वर पोखरेल रक्षा र युवराज खतिवडा अर्थ मन्त्री बनिसकेका थिए। मन्त्रिपरिषद्मा राज्यमन्त्री बाहेक एमालेका १० जना नेता मन्त्री बनेका छन्। यसअघि वातावरण मन्त्रालय सम्हालेका लालबाबु पण्डितको मन्त्रालय परिवर्तन गरिएको छ। शुक्रबारबाट पण्डित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन्।
यसअघि दुई जना मन्त्री पठाएको माओवादीको तर्फबाट पाँच मन्त्री थपिएका छन्। वर्षमान पुन ऊर्जा, गिरिराजमणि पोखरेल शिक्षा, चक्रपाणि खनाल ‘बलदेव’ कृषि सहकारी, शक्ति बस्नेत वन, बिना मगर खानेपानी मन्त्री बनेका छन्। माओवादीबाट यसअघि रामबहादुर थापा ‘बादल’ गृह र मातृका यादव उद्योग तथा आपूर्ति मन्त्री बनिसकेका थिए।
सरकारमा शुक्रबार नै चार राज्यमन्त्री थपिएका छन्। एमालेको तर्फबाट पद्मा अर्याल स्वास्थ्य तथा जनसंख्या, गोकुलप्रसाद बाँस्कोटा सञ्चार तथा सूचना प्रविधि, धनबहादुर बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री बनेका छन् भने माओवादीको तर्फबाट रामकुमारी चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री बनेकी छन्।
शुक्रबारको मन्त्रिपरिषद् विस्तारसँगै ओली नेतृत्वको सरकार २२ सदस्यीय बनेको छ।
संघीय समाजवादी फरोरम र राजपा पनि सरकारमा सहभागी हुने बताइएको भए पनि शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा मधेसकेन्द्रीत दलका मन्त्री बनेनन्। संविधान संशोधनको अडानलाई चर्को रुपमा अघि सार्दै आएका मधेसवादी दलले केही बुँदामा लिखित सहमतिपछि मात्र सरकारमा सहभागी हुने अडानलाई दोहोर्याएका छन्।
२५ जना मात्र मन्त्री बनाउँनुपर्ने संवैधानिक व्यवस्था अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री ओलीले फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने गरी सहमति गर्ने तयारी गरेका छन्।