भारतीय परिवारकै नेपाली नागरिकता

भारतीय परिवारकै नेपाली नागरिकता

विराटनगर : एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ।

भारतको अररिया जोगबनी नगरपञ्चायत–१० का स्व.गजेन्द्र साहकी ६१ वर्षीया पत्नी पार्वतीदेवी साह, छोरा सन्तोषकुमार साह, नरेशकुमार साह, धीरेन्द्रकुमार साह र बुहारी (नरेशकी पत्नी) रिङ्कीदेवी साहले नेपाली नागरिकता लिएका हुन्।

विराटनगर–१६, दरैयामा बस्दै आएका पार्वतीका छोरा सन्तोषलाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेपछि नागरिकताको रहस्य खुलेको हो। उनको साथबाट भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र र नेपाली नागरिकता तथा मतदाता परिचयपत्र बरामद भएको इप्रका रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए। प्रहरीले नागरिकतासम्बन्धी कसुरमा अनुसन्धान गर्न सन्तोषको म्याद थप गरेको छ। निरौलाले भने, ‘परिवारका अन्य सदस्य भने अझै पक्राउ परेका छैनन्।’

नागरिकता बनेसँगै यो परिवारका सदस्यले नेपालमै जग्गा किनेर व्यापार गरिरहेको प्रहरीले फेला पारेको छ। छोराहरूका नाममा जारी भएको नेपाली नागरिकतामा बुबा भनेर गजेन्द्रको नाम उल्लेख भएका कारण उनले पनि नेपाली नागरिकता लिएको हुन सक्ने प्रहरीको भनाइ छ। प्रहरीले गजेन्द्रको मृत्यु भइसकेका कारण थप कुरा अनुसन्धानपछि मात्रै खुल्ने बताएको छ।

सन्तोषले सन् २००३ जनवरी २ तारिखमा बिहार अररिया जिल्लाको फारबिसगन्ज इन्द्रनगर– ४ बाट भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र प्राप्त गरेका थिए। त्यसको नम्बर जीवाईक्यू ११५१९७६ हो। उनीसँग भारतीय मतदाता परिचयपत्र पनि छ। यसमा पनि बुबाको नाम स्व.गजेन्द्र साह उल्लेख छ। सन्तोषले ०६४ साल जेठ १३ गते मोरङ जिल्ला प्रशासन कार्यालयबाट जन्मको आधारमा लिएको ९१ नम्बरको नागरिकतामा जन्ममिति ०३४ चैत १५ गते उल्लेख छ। यसमा बुबाको नाम स्व. गजेन्द्र साह उल्लेख छ भने प्रशासकीय अधिकृत पर्वप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन्। नेपाली नागरिकतामा ४० वर्ष उमेर देखिएका सन्तोषकी पत्नी पुनमदेवीको साथबाट भने नेपाली नागरिकता फेला नपरेको प्रहरीले जनाएको छ। उनी भारतीय नागरिक नै भएको देखिन आएको प्रनि निरौलाले बताए।

 विराटनगर–१६, दरैयामा बस्दै आएका पार्वतीका छोरा सन्तोषकुमार साहलाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेपछि नागरिकताको रहस्य खुलेको हो।

सन्तोष जेठा, नरेश माइला र धीरेन्द्र कान्छा छोरा हुन्। तर, उनीहरूले लिएको भारतीय नागरिक भएको प्रमाणित हुने परिचयपत्रमा भने नरेशको उमेर बढी छ। सन्तोषको उमेर ३७ वर्ष र नरेशको ३८ वर्ष उल्लेख छ। परिचयपत्रअनुसार सन्तोषभन्दा नरेश एक वर्ष जेठो रहेको ठहरिन्छ। धीरेन्द्रको उमेर ३३ वर्ष छ।

नरेशले सन् १९८० जनवरी १ तारिख जन्ममिति राखेर ३६३५९९१२९९५६ नम्बरको भारतीय परिचयपत्र लिएका छन्। जसमा बुबाको नाम गजेन्द्र नै उल्लेख छ। प्रनि निरौलाका अनुसार सन्तोष र नरेशले एकैदिन अर्थात् ०६४ जेठ १३ गते नेपाली नागरिकताको प्रमाणपत्र मोरङबाट लिएको प्रमाण फेला परेको छ। सन्तोषले ९१ र नरेशले ९२ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन्।

नरेशकी पत्नी ३४ वर्षीय रिंकीदेवी साहले लिएको नेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा समेत पतिको नाम नरेश नै उल्लेख छ। रिंकीदेवीले भने १६६८९७७९ नम्बरको नेपाली मतदाता परिचयपत्र र १४२५४ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएको फेला परेको जानकारी निरौलाले दिए। उनको नाममा सन् २०१० जुन १५ तारिखमा जारी भएको टीएफएस ०७७१३५२ नम्बरको भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र फेला परेको छ।

नेपाली नागरिकता लिएपछि नरेश, पत्नी रिंकीदेवी र नरेशका कान्छा भाइ धीरेन्द्र काठमाडौंको कोटेश्वरमा केही वर्षदेखि मोटरसाइकल ग्यारेज सञ्चालन गरेर बसिरहेको प्रहरीले पत्ता लगाएको छ। निरौलाका अनुसार नरेशका नाममा नेपाली नागरिकता नै अलग–अलग मितिमा दुईवटा बनेको सूचनाका आधारमा अनुसन्धान दायरा थप फराकिलो पारिएको छ। कान्छा भाइ धीरेन्द्रले १८९६४८६४ नम्बरको नेपाली मतदाता परिचयपत्र प्राप्त गरेको रेकर्ड भए पनि उनको भारतीय नागरिक प्रमाणित हुने अन्य कागजपत्र प्राप्त भइनसकेको प्रहरी स्रोतले बतायो।

मतदाता परिचयपत्रमा पनि बुबाको नाम गजेन्द्र नै उल्लेख छ। नरेश, रिंकीदेवी र धीरेन्द्र काठमाडौंमा बसेर नेपाली नागरिकसरह व्यापार–व्यवसाय सञ्चालन गरिरहेको आधारमा उनीहरूमाथि अनुसन्धान दायरा फराकिलो पारिएको घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए। उनका अनुसार तीनै जनालाई पक्राउ गर्न काठमाडौंस्थित प्रहरी कार्यालयसँग समन्वय गर्ने काम भइरहेको छ।

आमा पार्वतीदेवीले पनि नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रहरीको भनाइ छ। उनको नाममा जारी भएको टीएफएस ०१५१२९० नम्बरको भारतीय मतदाता परिचयपत्र भने प्रहरीले फेला पारेको छ। उनको नाममा जारी भएको नेपाली नागरिकता र मतदाता परिचयपत्र लिएको प्रमाण तत्काल फेला नपरे पनि यस विषयमा सम्बन्धित निकायसँग समन्वय गरेर थप अनुसन्धान गर्दै विवरण संकलन गर्ने काम भइरहेको प्रनि निरौलाले बताए।

प्रारम्भिक अनुसन्धानमा नेपालबाटै विधवा भत्ता लिने, नेपालमै मतदान गर्न जानेलगायत काम गरेको देखिने उनले बताए। ‘घरमा बिजुलीको बिल नै पार्वतीदेवीका नाममा तिर्ने काम भइरहेको देखिएपछि उनले पनि नेपाली नागरिकता लिएको प्रस्ट हुन्छ,’ उनले भने, ‘त्यही आधारमा अनुसन्धान दायरा फराकिलो पारिएको छ।’

उनको नाममा जारी भएको नेपाली नागरिकता फेला नपरेपछि जिल्ला प्रशासनसँग विवरण माग गरिएको छ। भारतीय नागरिक हुँदाहुँदै किर्ते, जालसाजी लिखत प्रमाण खडा गर्दै नेपाली नागरिकता लिएको पुष्टि भएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले झुटो विवरण पेस गरेर भारतीय नागरिकले नेपाली नागरिकता लिएको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको बताए। उनका अनुसार नागरिकता दिने कर्मचारी, सिफारिस गर्ने र रोहवरमा बस्ने सबै कारबाहीको दायरामा आउँछन्। उनले भारतीय नागरिकले नेपाली नागरिकता लिएको भन्ने सूचना आएको खण्डमा प्रहरीले अनुसन्धान गरेर प्रमाणित गरेपछि कारबाही दायरामा लगिने बताए।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले दुई वर्षयता मात्रै मोरङमा भारतीय नागरिकले झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिएका ३० वटा घटना छानबिन दायरामा रहेको बताए। ‘अनुसन्धान र छानबिन क्रममा भारतीय नागरिकले नेपाली नागरिकता प्राप्त गरेको पुष्टि गर्नुपर्छ,’ उनले भने, ‘त्यसपछि नागरिकता जारी गर्ने अधिकारीले त्यसलाई बदर गर्न सक्छ।’

आचार्यले विभिन्न प्रलोभनमा परेर भारतीयलाई नेपाली नागरिकता दिने कर्मचारी पनि कारबाहीको दायरामा आउने बताए। भारतीयले नेपाली नागरिकता लिएको पाइए त्यसलाई बदर गर्न सकिने बताउँदै उनले सजाय भने अदालतबाटै तोकिने जानकारी दिए। भने, ‘दोषी ठहर भए प्रशासनले नागरिकता बदर मात्रै गर्न सक्छ। कसुरदार ठहर गर्दै सजाय भने अदालतले मात्रै दिने हो।’

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.