अभयमुद्रामा नमोनमः

अभयमुद्रामा नमोनमः

पाठकलाई शब्दसन्देशबाट चेतनाको काउकुती लगाउने काम हो हास्यव्यंग्य लेखन। राजनीतिदेखि समाजका अनेकन बेथितिको बिस्कुनमा सापेक्ष ढंगले विषय, पात्र र चरित्र चयनसँगै विकृत रूपलाई सरल र व्यंग्यात्मक ढंगले पस्कने विधा हो हास्यव्यंग्य। भद्दा मजाक र सस्ता शब्द खेती गरेर विकृतिमाथि प्रहारका नाममा अर्को विरूप प्रदर्शन पनि होइन, हास्यव्यंग्य।

अर्थात् हँसाउन सजिलो छैन। पाठक, श्रोता, दर्शक यति सचेत छन् कि कतै सानो कुरामा चिप्लियो भने भने लेखक, स्रष्टा सामाजिक सञ्जालमा उछित्तो काढिने विषय बन्छन्। त्यसैले सजगता अपनाएर संयमित हुँदै सन्तुलित ढंगले विषय उठान नै व्यंग्य लेखनको विषय बनाउन जरुरी छ।

सर्लाहीका महेश थापाको व्यंग्यसंग्रह ‘नमोनमः’ एकसरो पढेपछि व्यंग्यका नाममा बगिरहेको विकृतिको हावा स्वात्तै घटेको महसुस हुन्छ।

पाठक, श्रोता, दर्शकलाई हँसाउने नाममा प्रयुक्त शब्दहरू विकृत बनेको आरोप छ अचेल। र, शालीन ढंगले कुनै पनि विकृतिमाथि प्रहार गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् थापाले। ५२ थान निबन्ध छन् नमोनमःमा। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसद्मा बोलाएर सम्बोधन गर्न लगाउँदै नेपाली नेताहरू सपेराका अघि नाचेका सर्पझैं भएको विषयमा थापाले नमोनमः र भारतीय नाकाबन्दीको पृष्ठभूमिमा नमोनमः दोबारा शीर्षक दुईवटा व्यंग्य पस्केका छन्। यही लेखबाटै कृतिको नाम जुराइएको छ। सरल लेखाइमा शाब्दिक प्रहारबाट सकारात्मक सन्देशका बान्किला छनक दिने प्रयास गरेका छन् लेखकले।

थापा पत्रकार हुन् सर्लाहीका। राजनीतिक सन्दर्भका लेखहरू लेख्थे काठमाडौंबाट प्रकाशित हुने अखबारमा। पछिल्लो समय उनी लेखिरहेका छन् हास्यव्यंग्य। यद्यपि अन्य विधामा पनि लेख्छन्। अखबारका घरानिया पाठकलाई कमसल व्यंग्य पस्किइयो भने पाठकले एकैपटक रद्दीको घु¥यानतिर मिल्काइदिन्छन् भन्ने बोध छ लेखकमा। त्यसैले थापा हिमाल खबरपत्रिकमामा साताका विषय छानेर पाठकलाई व्यंग्यात्मक कथा दिन्छन्, मनोरञ्जन दिन्छन्, सन्देश दिन्छन्। समाजमा नंग्याउनैपर्ने पात्र र चरित्रलाई बाँकी राख्दैनन्। सस्तो चर्चाका लागि कसैलाई पात्र बनाएर लेखमा मिसाउँदैनन् र आफ्नो लेखनी अनि त्यस्ता पात्रहरूलाई दूषित पनि बनाउँदैनन्। यही नै थापाको लेखनी सफलता हो। यही सफलताको डोरी बाट्दै आएका थापाले लेखेका व्यंग्यहरूको संग्रह नै आएपछि उनका समकक्षी अखबारका व्यंग्य लेखकहरूले पनि भनेका छन्, ‘थापाको लेखनी अब्बल छ, विषय चयन कमसल छैन।’

समाजका सबै विकृतिबारे जानकार छन् थापा। पुस्तक पढ्ने संस्कृति बढिरहे पनि पुस्तक प्रकाशनमा लेखक अन्यायमा परिरहेको र प्रकाशन गृह मोटाइरहेको विषय पनि थापाले लेख्न भुलेका छैनन्। आफ्नै वर्गको पीडा नलेख्ने चलन तोडेका छन्। उनले पत्रकारितामा हुर्कंदो कपी पेस्ट, प्राध्यापक डाक्टर बन्न थेसिसको किनबेच, राज्यलाई प्रभावमा पार्ने व्यापारी, राजनीतिज्ञबारे पनि व्यंग्य गरेका छन्। उनको लेखाइमा हाँस्यरस कम छ। व्यंग्यवाण निशाना लाग्ने गरी प्रहार भएका छन्। इन्धनका कालोबजारीसँग सरकारले माफी माग्नुपर्ने नियति, झरीले चुट्दा पनि घुम नै ओढ्ने तर सामुन्नेको चिनियाँ छाता टिप्न अन्कनाउने नेपाली नेतृत्वको मनोवृत्ति अनि धर्मको आडमा सार्वजनिक सम्पत्ती हड्पी सुविधासम्पन्न जीवन बाँच्ने थ्रीजी महाराजदेखि धर्मान्तरणको धन्दामा लागेकाहरूको देव एजेन्ट उवाच जस्ता विषय थापाको लेखनीमा समेटिएका छन्।

हँसाउन सजिलो छैन। पाठक, श्रोता, दर्शक यति सचेत छन् कि कतै सानो कुरामा चिप्लियो भने भने लेखक उछित्तो काढिने विषय बन्छ।

थापाले मृतात्मालाई उभ्याएर पनि कुशलतापूर्वक व्यंग्य सिर्जना गरेका छन्। उनले मकवानपुरका थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्ट (रुदाने)सँग वार्तालाप र भैरव अर्यालको दौरा सुरुवालको विषय जोडेर संवाद गर्दै विकृतिमाथि चोटिलो आक्रमण गरेका छन्। कम्युनिस्टहरूले भैंसीपूजा गरेकोदेखि एउटा व्यापारीले ‘सुमार्ग’मा नाममा द्रव्य ‘भूजा’ गरेका विषयसमेत लेखनीमा समेटेर पाठकलाई सचेत पारेका छन्। यस्ता पात्र र चरित्र उधारेका छन्। समयमै यस्ता स्वार्थका जामाहरू च्यात्न सके समाज प्रगतिपथमा हिँड्न सक्छ भन्ने सन्देश दिन थापाले गरेका प्रयासहरू हुन् ५२ थान व्यंग्यात्मक निबन्ध। समाज निर्माणमा खिल बनेर बसेका विकृति, समाज फुल्न नसक्दा झाँगिएको काँडालाई बाहिर ल्याएका छन् र पाठकलाई सन्तुलित ढंगमा सन्देश दिएका छन्। पढ्दा केही मनोरञ्जन तर यथार्थमा समाजका त्यस्ता विकृत एक एक पात्रहरूको परिचय पाठकको मस्तिष्कमा बस्न जान्छ। उनीहरूबारे पाठकमा धारणा बनाउने शक्ति थापाका कलमले सहजै निर्माण गरिदिएका छन्।

उसो त थापा आमलेखकका जामामा समेटिएका सामान्य हस्ताक्षर होइनन्। उनले पुस्तकमा पनि भनेका छन् आफ्नाबारे। यो पंक्तिकारले भने उनको पहिलो पुस्तक आत्मकथा शैलीको ‘अल्पविराम’ पढेकाले थापाबारे पाठकलाई केही भन्नैपर्ने धारणा राख्छ। धेरै पाठक यो पाटोबारे जानकार पनि छैनन्। भूमिकामा थोरै लेखेका छन् केदार शर्माले। भनेका छन्, ‘नित्यकर्महरूबाट निवृत्त गराएर, खुवाइपियाई तयार पारेर कम्प्युटर भए ठाउँमा पु¥याउनुपर्छ, कम्प्युटर अन गरेर थापाको हात उचालेर माउसमा राखिदिनुपर्छ, उनी अनस्क्रिन किबोर्ड खोल्छन् र दाहिने हातका दुई औंलाका भरमा लेख्छन्।’ हो, थापालाई एमियोट्रफिक ल्याटरल स्कलेरोसिस अर्थात् एएसएल एक किसिमको मोटरन्युरोन डिजिज छ। यसबारे उनले पहिलो पुस्तक अल्पविराममा सविस्तार उल्लेख गरेका छन्। मांसपेशी चल्दैन, बोलेको प्रस्ट बुझिँदैन। टिचिङ अस्पतालमा डाक्टरले छेउमै ‘अब यो दुई÷तीन वर्ष त बाँच्छ नि’ भनेको सुन्ने बिरामी आफैं हुन् थापा। उनले हास्यव्यंग्यका माध्यमबाट जसरी समाजलाई हँसाउन खोजेका छन्, उनको निजी जिन्दगीको कष्टकर अध्यायहरू अल्पविराममा टंकण भएका छन्।

यस्तो मान्छेले यसरी समाजबारे हामीलाई बुझाइरहेको, हँसाइरहेको ? नजिकबाट थापालाई बुझ्ने जोकोही उनको लेखनप्रति नतमस्तक नरही रहनै सक्दैन। थापाको यही क्षमता, आत्मविश्वास, कडा परि श्रम, आँसुका भेलमा दशक बढी पौडिएपछि आफैंले आफैंलाई स्वर्ण पदकका लागि उभ्याएका संघर्ष उस्तै नुनिला छन्। अक्षरहरूमा चाहिँ थापा प्रतिस्पर्धी हास्यव्यंग्य लेखन बजारमा बिकाउ हस्ताक्षर बनेर उभिएका छन्। उनले पुस्तकमा भनेका पनि छन्, ‘व्यंग्यलेखनले अरू आत्मविश्वास बढायो।’

पुस्तक नमोनमःमा प्रकाशित अधिकांश लेख हिमाल खबरपत्रिकामा निरन्तर छापिएका लेख हुन्। तर, यस्तो ‘व्यंग्यवाज’को निजी जिन्दगी यस्तो पो भन्नेहरूमा स्वयं हिमालकै सम्पादक किरण नेपाल पनि हुन्। उनको पुस्तकले समाज चित्रण गरेको छ। समाजलाई उज्यालो गोरेटोमा हिँड्न नदिने पात्र र चरित्र चिनाएको छ। कसैसँग पनि लेखकले सम्झौता गर्दैन र अभयमुद्रामा लेखक उभिनुपर्छ भन्ने सन्देश नमोनमःले दिएको छ।

पुस्तक : नमोनमः

विधा : व्यंग्य

लेखक : महेश थापा

प्रकाशक : मञ्जरी पब्लिकेसन

मूल्य : रु. २५०


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.