युवाहरूको कथा

युवाहरूको कथा

जमुना नेउपाने कैली उपन्यास लिएर आएकी छिन्। उपन्यासको कथावस्तुअनुसार कैली एसएलसी पास गरेर फुपूकोमा बस्नेगरी काठमाडौं पढ्न आउँछे। उसको यो पहिलो काठमाडौं यात्रा हुन्छ। ऊ चढेको गाडी निकै राति मात्रै काठमाडौं पुग्ने भएपछि सँगैको सिटमा भएकी एकजना दिदीकोमा बस्न जान्छे। त्यो दिदीको बच्चा पनि हुन्छ। दिदीले राति खाना खाएर सुत्ने बेलामा ‘तिमी र म बिहे गरम्, सँगै बसम्’ भनेपछि कैली चकित पर्छे। डर नै डरबीच उसले रातभर केटीकेटीबीच कसरी बिहे हुन्छ र भन्ने कल्पना गर्छे।

अर्को दिन कैली फुपूकोमा जान्छे। गाउँले परिवेशबाट आएकी कैलीलाई सहरिया चालचलन सिक्न समय लाग्छ। साथीहरूको प्रेमको, उतारचढावको ऊ साक्षी भइरहेकी हुन्छे। उसलाई पनि आफ्नो कुनै प्रेमी भइदेओस् भन्ने लागिरहेको हुन्छ। यस्तैमा उसले सपनामा कुनै केटालाई देख्छे। सपनामा देखिएको त्यस्तै केटा फेसबुकमा भेटिन्छ र सुरु हुन्छ कैलीको प्रेमकथा। अमेरिका बस्ने दीप र नेपाल बस्ने कैलीबीचको वार्तालाप बढ्दै गएर प्रेममा परिणत हुन्छ। गहिरो प्रेममा परेपछि दीपको आग्रहमा कैली अमेरिका उड्छे। यत्तिकैमा उनीहरू इन्डोनेसिया घुम्न जान्छन्। बालीमा एक होटेलमा हेल्परको रूपमा कैलीले आफ्नी कलेजको साथी प्रतिलाई चिन्नै मुस्किल अवस्थामा भेट्छे। बढीजसो समय नशामा बिताउने दीप, कैलीलाई एउटा सन्देश छोडेर कता हो कता हराउँछ।

उपन्यासमा थोरै पात्रहरू भए पनि तिनका आआफ्नै छुट्टै उपकथा भएकोले यसमा कथानकता छ। नयाँ पात्रसँग नयाँ कथा पनि थपिने भएकोले उपन्यास पढ्न रमाइलो लाग्छ। उपन्यासको मुख्य विषयवस्तु आम युवाकै हो। म युवा पाठकले पढ्दै गर्दा उपन्यासमा भएको युवाजन्य क्रियाकलाप, बोलीचाली, भाव, सबै कुरा एकदम परिपक्व लेखकले लेखेजस्तो लाग्यो। उपन्यासमा यौनलाई एकदम दार्शनिक वा अति सामान्य विषय बनाइएको छैन।

अर्को पक्ष हेर्दा उपन्यास एकदम एकोहोरो कल्पनामा लेखिएको छ। जस्तो कि धेरै संगत गरेको साथी जस्तोसुकै बदलिए पनि चिन्न सकिन्छ। अनि बसमा भेटिएको दिदीले पहिलो रातमै बिहे गरम् भनेको, दीपले बोलाउनेबित्तिकै अमेरिका गएका कुरा एकदम अविश्वासिलो लाग्छ। फेसबुकमा दीपको फोटो देखे पनि उसलाई हवाइयात्रामा चिन्न नसक्नु एकदम अस्वाभाविक देखिन्छ।

पूरै उपन्यासमा कैलीको परिवार छुटेको छ। मूल पात्र कैलीबाटै उपन्यासको नाम राखिएपछि कैली नाम किन कसरी भन्ने अलिकति पृष्ठभूमि हुनुपर्ने तर त्यो छैन। अन्तिममा प्रतिको कथा निकै लामो छ। प्रतिलाई आफ्नो श्रीमान् नपुंसक हो कि भन्ने शंका लाग्नेबित्तिकै कथाले अर्को मोड लिनु पथ्र्यो, त्यो नभएर कथा पुरानै बहावमा बगेको छ। धेरै ठाउँमा मूल पात्र कैली चोखो प्रेमको भोको भएको देखाउन खोजे पनि ऊ यौनको भोको भएकी जस्तो मात्र देखिएकी छे, क्यारेक्टराइजेसनको यो एउटा कमजोरी हो।

कुनै पनि कृतिका सबल पक्ष र दुर्वल पक्ष हुन्छन्। जमुना नेउपानेको कैली पहिलो उपन्यास कृति भएकाले आगामी लेखनमा राम्रो गर्न सक्ने छनक भने देखिन्छ। यसको प्रकाशक बुलबुल प्रकाशन हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.