डढेलोको त्रास
दिपायल : गर्मीयाम सुरु भएसँगै वन जंगलमा डढेलो लाग्ने गर्छ । सुक्खायाम भढेसँगै डोटीका केही सामुदायिक वनमा आगलागी भइरहेको छ । डढेलोको जोखिम बढेको भन्दै जिल्ला वन कार्यालयले जोखिम न्यूनीकरणका लागि विभिन्न अभियान थालेको छ ।
जिल्लाभित्र रहेका वनमा लाग्ने डढेलोको अवस्थालाई वर्गीकरण गर्दै जिल्ला वनले अभियान थालेको वन अधिकृत बद्रीकुमार कार्कीले जनकारी दिए । विभिन्न किसिमका अभियान सञ्चालन गर्दै आइरहेको जिल्ला वन कार्यालयले जिल्लाका दुर्गम बस्तीमा समेत वन डढेलोबाट हुने क्षतिकाबारे लेखिएका सामग्रीहरू वितरण गरिरहेको छ।
बिभिन्न कार्यत्रलम मार्फत डढेलोको नकारात्मक प्रभावका विषयमा समेत समुदायलगायत सरोकारवाला व्यक्तिहरूलाई सचेतना दिइरहेको वन अधिकृत कार्कीले बताए । जिल्लाका केही वनमा डढेलो लागेको बताउँदै कार्कीले भने, ‘अन्य वनमा समेत नलागोस् र लागेका वनहरूको आगो नियन्त्रणका लागि पहल गरिरहेका छौं।’
जिल्ला वनले वैज्ञानिक वन व्यवस्थापनको अवधारणाअनुरूप काम अघि बढाइरहेका बेला वनमा डढेलो लगाउनु कदापि राम्रो नरहेको उनले बताए । डढेलो नियन्त्रणका लागि सामुदायिक वनका प्रतिनिधि, प्रहरीलगायत सरोकारवाला व्यक्तिहरूलाई तालिमसमेत दिइएको जिल्ला वन कार्यालयले जानकारी दिएको छ ।
यो वर्ष पानी नपरेका कारण अहिलेदेखि नै गर्मी बढेकाले वन जंगलमा डढेलो लाग्ने सम्भावना पनि त्यत्तिकै रहेको बताइएको छ । बर्सेनि हुने आगलागीका कारण हरियाली डाँडाहरू नांगा बन्दै गएका छन् । भएका नयाँ बिरुवाहरू डढेलोका कारण मरेर जाने भएकाले यस्तो भएको वन अधिकृत कार्कीले बताए ।