महाकविको सिग्नेचर
महाकवि लक्ष्मीप्रसाद देवकोटासँग जोडिएका अनेकौं प्रसंग नेपाली साहित्य–समाजको विशेष सम्पत्ति हुन्।
नेपालका धुरन्धर विद्वान्, जसले देवकोटाबाट शिक्षा ग्रहण गरेका थिए, उनको घरमै गएर ट्युसन पढेका थिए; त्यसरी पढ्नेहरू अधिकांशतः लेखक–कविहरू नै थिए/छन्।
देवकोटासँग पढ्दाताका भएका धेरै किसिमका घटना/परिघटनाको उल्लेख आज पनि बराबर हुने गरेको छ। कवि गोमाका अनुसार, ट्युसन–फीको बारेमा कुरा नमिल्दा उनी देवकोटाका घरबाट अपमानित तवरले बाहिरिनु परेको जस्ता छिटपुट नकारात्मक घटनाबाहेक अन्य धेरै घटना त रोमाञ्चकारी छन्, प्रेरणादायी पनि छन्। चिसोको मौसममा खास्टो मात्रै ओढेर पढाउने उनको विशेष चरित्रको कुरो र पढाइरहँदासमेत उनको औंलामा चुरोटको ठुटो च्यापिएकै हुने प्रसंगले देवकोटाको सर्वथा अलग्गै पहिचानलाई स्पष्ट पार्छ।
ट्युसन पढाउँदाको सबैभन्दा उल्लेखनीय पक्ष थियो— उनको पढाउने शैली, बोली। उनले बोल्न लागेपछि मन्त्रमुग्ध हुन्थे पढ्ने विद्यार्थी। उनको बोलीमा नम्रता थियो, मिठास थियो। पढुन्जेल उनका सामु हर एक विद्यार्थी नतमस्तक रहन्थे। भावविभोर हुन्थे। देवकोटा स्वयं भने बोल्न लागेपछि, खास गरेर पढाइरहँदा र त्यसमा पनि कविता पढाउँदा कविताभित्रै स्वयं हराउन पुग्थे। डा. प्रभा बस्नेतले कहीँ लेखेका थिए, ‘ट्युसन पढाउने क्रममा उहाँले एक दिन मलाई युगकवि सिद्धिचरणको ‘मेरो प्यारो ओखलढुंगा’ पढाउनुभयो। र, एकसुरे देवकोटा मेरो प्यारो ओखलढुंगा पढाउँदा पढाउँदै कविताभित्र यसरी हराउनुभयो कि आफ्नै औंलामा च्यापेको सल्किँदै गरेको चुरोट सकिएर औंला पोल्दा मात्रै थाहा भयो उहाँलाई।’
यही दृष्टान्तबाट पनि ज्ञात हुन्छ— खास गरेर कवितात्मक विषयप्रति मोहित भइसकेपछि उनी संसार नै बिर्सन्थे।
यहाँ फेरि प्रसंग जोडौं ! ट्युसन पढाउँदा औंला पोलेको घटनाको सिलसिला यत्तिकैमा पूर्ण हुँदैन। एक दिन यो घटनाको वर्णन युगकविको सामु गरियो। युगकविले आफ्नै विनम्र शैलीमा भने, ‘कहाँ देवकोटा, कहाँ मेरो कविता ? ’
उता महाकवि के कम ? युगकविको विनम्रता सुनेर उनले फेरि प्रतिक्रिया व्यक्त गरे, ‘होइन होइन, कहाँ सिद्धिचरण ? कहाँ म ? ’
उनीहरूबीचको आपसी सम्बन्ध कतिसम्म सुमधुर थियो ! एक त, दुवैको कवि–व्यक्तित्व हनु; अर्को, आ–आफ्नो पारिवारिक जीवनको गोरेटोमा कुनै समय दुवैले पुत्र–वियोगको दुर्घटना बेहोर्नु परेको कारण पनि कवि–हृदयको संवेदनशीलताले त्यस प्रकारको सम्बन्धमा अझ बढी भूमिका खेलेको हुन सक्छ। जब युगकवि सिद्धिचरणले आफ्नो कलिला पुत्र विश्वको निधनबाट विक्षिप्त भएर ‘विश्वव्यथा’ लेख्दै थिए, सँगसँगै महाकवि देवकोटाले पुत्र–वियोगले दुखेको सिद्धिचरणको मुटुलाई सान्त्वना दिँदै अत्यन्तै भावुक कवितात्मक पंक्तिहरू लेखेका थिए। ठीक दुरुस्तै जब फेरि देवकोटा पनि पुत्र–वियोगले छटपटाइरहेको बखत उनीप्रति समर्पण गर्दै सिद्धिचरणले लेखे—
‘हात फिँजाई, रोई–कराई बन्दैन जगत् यो साथी
सहानुभूति भन्ने ढोंग बदली के हुन्छ तिमीलाई
मृत्यु पठाई कलिलो वयमै जसले तिम्रो पुत्र लग्यो
जसको प्रेरित बेथितिद्वारा तिम्रो यस्तो हविगत भो
त्यसमा बदला लेऊ कविजी, गाऊ गाऊ अग्नि गीत
लाखौं लाख पुत्र वियोगी हुनेछन् तिम्रा मीत
हाम्रा अगणित छोराहरूको मुर्दा पनि जुरुजुरु उठ्ने
कविजी, त्यस्तो गीत सुनाऊ युग–युगको मूच्र्छा फुट्ने।’
स्मरणीय छ, १९९६ सालमा जब ‘क्रान्तिबिना यहाँ हँदैन स्वच्छ शान्ति...’ लेखेर राज्यविरुद्ध विगुल फुकेबापत सजायस्वरूप राणाशासकले सिद्धिचरणलाई सर्वस्वहरणसहित कारावास दिएको बखत उनको घरबाट ‘विश्वव्यथा’का कतिपय पृष्ठहरू लुटिएका थिए। नेपाली साहित्यका धेरै पाठकलाई थाहा नहुन सक्छ— विश्वव्यथाका पृष्ठहरूसँगै त्यहीँबाट देवकोटाका केही अंग्रेजी कविताहरू पनि शासकले लुटेका थिए। सम्भवतः यो तथ्य युगकविले कतै लेखेका होलान् कि महाकविका ती अंगे्रजी कविताहरू (आफूले लेखेका कविताहरू एकले अर्कालाई सुनाउने क्रममा) उनको घरमा छाडेका थिए। कस्तो सौहार्दता थियो दुईबीच !
इतिहासले पुष्टि गरिसकेको छ— दुवै कविहरूको त्यो विशाल हृदयको तस्बिर आज नेपाली काव्य–जगत्मा अंकित भइसकेको छ। तर दुर्भाग्य हेरौं, हाम्रो साहित्यिक वर्तमानको !
वास्तवमा त्यही इतिहासको जगमा आजको नेपाली साहित्य खडा हुनुपर्ने आवश्यकीयतामा आजका कविहरूमा ती दिग्गज कविहरूको त्यो व्यवहार, त्यो उदारता, हार्दिकता, त्यो विनम्रताको सानो अंश मात्रै पनि व्यवहारतः देख्न पाइन्न। आजका एक–एक कविहरू अरूका कवितालाई आफ्नो कविताले पछारेको अहंकार पालेर आत्मरतिमा रमाउनमै व्यस्त छन् यहाँ। त्यति नभए कम्तीमा पनि एक–आपसलाई केवल प्रतिस्पर्धी मान्नु र अभैm अघि बढेर दोस्रो कविसँग ईष्र्या/डाह गरेर बस्नु प्रायः कविहरूको मूल चरित्र नै बनेको छ। कविता लेख्न कलम समात्नुभन्दा अगावै ती मान्यवर महाकवि–युगकविहरूको आदर्शबाट प्रेरणा लिन सके आजका कविहरूले प्राप्त गर्ने सबैभन्दा ठूलो उपलब्धि हुने थियो।
०००
प्रसंग महाकवि देवकोटाकै। देख्ने–सुन्नेहरूले भन्छन्— कसैले देवकोटालाई अनुरोध गरेपछि उनी तत्कालै कविता लेखिदिन्थे। उनी कुन मात्रामा कविता लेख्थे र यसरी कति कविता लेखे होलान् भन्नेचाहिँ खोजको विषय हुन सक्छ। पछिल्लो चरणमा यस्तोसम्म पनि चर्चा चल्ने गरेको छ कि देवकोटाद्वारा लेखिएका त्यस्ता धेरै कविता आजका केही स्वनामधन्य कविहरूले आफ्नो नाममा छपाएका छन्। यो एउटा भिन्नै खोजको विषय हुन सक्ला।
यसरी नेपाली कविता त कति लेखे होलान् देवकोटाले ! यसका अलावा अंग्रेजी भाषामा पनि कविता लेख्थे भन्ने तथ्यलाई यहाँ दोहो¥याइरहन परेन। तर, योचाहिँ भन्नैपर्छ कि नेपाली साहित्यका अनुसन्धाताहरूलाई समेत थाहा नहुन सक्छ— कुनै अर्को कविले लेखेका नेपाली कविता उनलाई अत्यधिक मन पर्यो भने उनले त्यसलाई तत्काल अंग्रेजीमा अनुवाद पनि गर्ने गर्थे।
उनकै हस्तलिपिमा अंकित यो तथ्य (देवकोटाको हस्तलिपि) नै यसको प्रमाणीकरण हो। अंग्रेजी ‘एड्रेस टु सोल’ शीर्षकमा लेखिएको यो कविताको शिरमै (अनुवादक) इङ्लिस बाई एलपी (लक्ष्मीप्रसाद) भनेर लेखिएको छ। मूल कविता भने बीएनएल (भैरवनाथ रिमाल)को हो।