कुमारको फुटबल व्यवस्थापन
उनीसँगै खेलेका प्रायः खेलाडीले सन्न्यास लिइसकेका थिए। कुमार थापा भने उमेरले चार दशक नाघ्दासमेत नेपाली फुटबलको माथिल्लो श्रेणीको प्रतियोगिता सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका थिए। नेपालमा पछिल्लो पटक २०७०/७१ को लिग खेलेका कुमार सायद सबैभन्दा पाको उमेरमा ए डिभिजन लिग खेल्नेमध्येका खेलाडी हुन्। यसपछि घरेलु लिग भएको छैन।
नेपाली फुटबलको केही ऐतिहासिक प्रसंगसँग जोडिएका कुमारले घरेलु फुटबलको सफलमध्येका मनाङ मस्र्याङदी क्लब र एपीएफबाट झन्डै २२ वर्ष खेले। ३८ वर्षको उमेरमा अन्तिम पटक लिग फुटबल खेलेका कुमार लामो समय खेल्ने नेपाली खेलाडी पनि हुन्। मनाङ मस्र्याङ्दीलाई घरेलु लिगकै सर्वाधिक सफल क्लब बनाउन मात्रै हैन, ए डिभिजन लिगको कान्छो विभागीय टोली एपीएफलाई नेपाली फुटबलमा स्थापित गराउन पनि खेलाडी र कप्तानको हैसियतमा कुमारको ठूलो योगदान छ।
मनाङ मस्र्याङदीबाट लामो समय खेलेका उनी २०६३ सालमा सशस्त्र प्रहरी बलको जागिरे बनेपछि भने एपीएफबाट खेल्न थालेका हुन्। सशस्त्र प्रहरी बल गठन भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले एपीएफ क्लबलाई सीधै विभागीय टोलीको हैसियतमा ए डिभिजन लिग खेल्न दिने निर्णय गरेको थियो।
एपीएफलाई सुरुवाती केही सिजन निकै मुस्किल बन्यो। भर्खरै जन्मिएको क्लब, नयाँ खेलाडी लिएर खेल्दा एपीएफ सुरुवातका प्रायः सिजन रेलिगेसन क्षेत्रमै रह्यो। मुस्किलले एपीएफ ए डिभिजन लिगमा टिक्न सफल भएको थियो। एपीएफलाई यो अवस्थासम्म ल्याई पुर्याउन कुमारले खेलाडी र कप्तानको हैसियतमा पुर्याएको योगदान ठूलो छ।
कुमारसँग खेलाडीको अनुभवसँगै फुटबल व्यवस्थापन र नेपाली फुटबलको राजनीतिको पनि राम्रो ज्ञान छ। उनी फुटबलको पक्षमा आवाज उठाउँदा सधंै नेतृत्वबाट अवसरमा पछाडि पारिए। आठ वर्ष राष्ट्रिय टोलीबाट फुटबल खेलेका कुमार पछिल्लो डेढ वर्ष नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षक पनि रहे। उनको नेतृत्वमा नेपाली महिला टोलीले सन् २०१६/१७ को साफ च्याम्पियनसिप खेलेको थियो।
अहिले कुमार आफ्नो करिअरको नयाँ इनिङ सुरु गरेका छन्, जसमा ठूलो पालीको अपेक्षा गरिएको छ। उनी अहिले युरोपेली फुटबल महासंघ (यूईएफए) ले पूर्वफुटबलरहरूलाई लक्षित गरी सुरु गरेको फुटबल व्यवस्थापनसम्बन्धी स्नातकोत्तर तहको कोर्स गर्दैछन्।
इङ्ल्यान्ड र फ्रान्सको दुई विश्वविद्यालयले सञ्चालन गर्ने यो कोर्समा कुमारले सिंगो एसियाको प्रतिनिधित्व गरिरहेका छन्। सन् २०१७ देखि सन् २०१९ सम्मको तीन वर्षको अवधिमा युरोपका विभिन्न सात देश स्विट्जरल्यान्ड, जर्मनी, फ्रान्स, इङ्ल्यान्ड, स्पेन, नेदरल्यान्ड्स र अमेरिकामा सञ्चालन हुने यो कोर्सका लागि उनले यूईएफएबाट २७ हजार युरो छात्रवृत्ति पनि पाएका छन्।
अन्तर्राष्ट्रिय फुटबलको नमुना मानिने युरोपेली फुटबल व्यवस्थापन प्रणाली/शैलीबारे ज्ञान दिने उद्देश्यले तयार पारिएको यो कोर्स र त्यसबारे पोख्त भएर फर्किएपछि कुमारबाट नेपाली फुटबलले लिन सक्ने फाइदा निकै महत्वपूर्ण हुनेछ। हालको अवस्थालाई हेर्दा पूर्ण रूपमा अव्यावसायिक देखिएको नेपाली फुटबललाई व्यवस्थित र व्यावसायिक बनाउन यो कोर्सले निकै सहयोग गर्नेछ।
फुटबल व्यवस्थापन सम्बन्धमा एसियाबाट एक्लै स्नातकोत्तर तहको कोर्स गरिरहेका कुमार एन्फा, राखेपलगायत निकायबाट सहयोग पाएनन्। ऋण नै लिएर भए पनि यो पढाइ पूरा गरेरै छाड्ने अठोटमा छन्, उनी।
सन् २०१७ को दुई सेसन सकाएर हाल नेपाल फर्किएका कुमार नेपाली फुटबललाई व्यावसायिक बनाउन अझै धेरै गर्न आवश्यक रहेको अनुभव सुनाउँछन्। स्विट्जरल्यान्डको नियोन र जेनेभामा रहेका अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ), अन्तर्राष्ट्रिय बास्केटबल महासंघ (फिबा), युरोपेली क्लब फुटबल संघ (ईसीए) र यूईएफएको मुख्यालयमा पुगेर तिनको सञ्चालन र व्यावसायिकताबारे ज्ञान लिएपछि कुमारलाई पनि नेपाली फुटबलको व्यवस्थापनमा धेरै गर्न बाँकी रहेको अनुभव भएको हो।
‘यदि फुटबलले समाजलाई केही दियो भने समाजले फुटबललाई सबै दिन सक्छ। तर, हामीले फुटबललाई समाजसँग जोड्न सकेनौं’, कुमार भन्छन्, ‘खेलाडी, प्रशिक्षक, रेफ्रीको व्यवस्थापन, ग्रास रुट फुटबल, प्रसारण अधिकार र प्रायोजन जुटाउने कार्य केही सही तरिकाबाट भइरहेको छैन। नेपाली फुटबललाई व्यावसायिक बनाउन धेरै गर्न बाँकी छ।’
कुमारले भनेजस्तै नेपाली फुटबल निकै अव्यवस्थित रूपमा चलिरहेको छ। वर्षाैंदेखि नेपाली फुटबल सीमित व्यक्तिको कब्जामा छ। फुटबललाई बचाइराख्ने लिगसमेत हुन सकेको छैन। फलस्वरूप देशकै लोकप्रिय खेल फुटबलमा नयाँ प्रतिभा देखिन छाडेका छन् भने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीको प्रदर्शन निरन्तर खस्कँदो छ। दक्षिण एसियाबाट माथि उठ्न नसकेको नेपाल अझ कमजोर बन्दै छ।
यसले पनि नेपाली फुटबलमा सक्षम व्यवस्थापकको अभाव महसुस गराएको छ, जसको परिपूर्ति कुमारले गर्न सक्नेछन्। त्यसका लागि अझै केही समय कुर्नुपर्ने छ। उनी आफ्नो कोर्सको अन्तिम सेसनअन्तर्गत सन् २०१९ को च्याम्पियन्स लिग फाइनल सकाएर केही महिनाको ‘इन्टर्नसिप’ पछि फर्कंदा नेपालले एक कुशल फुटबल व्यवस्थापक मात्रै पाउने छैन, नेपाली फुटबलले पनि त्यसपछि व्यावसायिकताको अपेक्षा गर्नेछ।
घरेलु फुटबलमा नयाँ नेतृत्वका लागि जुटिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्यसतर्फ पनि अहिलेबाटै ध्यान पुर्याउन आवश्यक छ। सुरुवातबाटै दुई/चार जनाको हुकुमबाट चल्दै आएको नेपाली फुटबलमा विषयगत ज्ञान र विज्ञता भएका व्यक्तिहरूलाई अवसर दिइनु आवश्यक छ।
खेलाडीको रूपमा देश र नेपाली फुटबललाई लामो समय योगदान पुर्याएर पनि नेतृत्वबाट अवसरमा सुरुवातबाटै पछाडि पारिँदै आएका कुमार स्वयमलाई भने अवसर पाइहाल्नेमा विश्वास लाग्दैन। उनी अहिलेको कोर्सका लागि छनोट भएपछि सहयोगको अपेक्षा गर्दासमेत फुटबल नेतृत्वले बेवास्ता गरेको तीतो अनुभव सुनाउछन्।
तीन वर्षको कोर्सका लागि कुमारले आधा रकम मात्रै छात्रवृत्ति पाएका हुन्। तीन/तीन महिनाको सेसनमा सहभागी हुन युरोपका विभिन्न सहर पुग्नुपर्ने, अनि उनीहरूले भनेकै होटेलमा बस्नुपर्ने बाध्यता रहेका उनलाई कोर्स पूरा गर्न थप २७ हजार युरो रकम चाहिएको छ। तर, उनलाई एन्फा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगायत निकायबाट सहयोगको आश्वासनभन्दा अरु केही पाएनन्। उनका लागि साथीभाइहरूको सानो समूहले गरेको थोरै सहयोगबाहेक अन्य सहयोग जुटेको छैन।
परिस्थिति ऋण लिने अवस्थासम्म पुगेको छ। कुमारले आफ्नो पढाइ पूरा गर्न कर्मचारी सञ्चय कोषबाट ऋण लिने प्रक्रिया थालेका छन्। उनी ऋण नै लिएर भए पनि फुटबल व्यवस्थापनबारेको यो पढाइ पूरा गरेरै छाड्ने अठोटमा छन्। अनि, आफूले सिकेको त्यो ज्ञान नेपाली फुटबललाई दिने योजनामा पनि छन्।