कलाकार

कलाकार

महाभूकम्पको मारमा परेर मेरो पुन्टे पुस्तकालय पुराना जुटका बोराहरूमा निर्वासित थियो। एकपल्ट तिनै बोरातिर मलाई हात बढाउन मन लाग्यो। त्यसै क्रममा भेटियो, भारतको विकास पब्लिसिङ हाउसद्वारा प्रकाशित तथा पीभी रामचन्द्रन्द्वारा सम्पादित कथा किताब ‘टेल्स अफ अल टाइम्स’। किताबमा जापानी कथाकार सिगा नाओया (१८८३–१९७१) को ‘द आर्टिस्ट’ शीर्षकले मलाई आकर्षित गर्‍यो। १३ सय चानचुन शब्दको त्यो कथा मैले एकै सासमा पढिसकेँ। पढ्दै गर्दा बालक सेबेईका कलाकृति उसका बाबुले धुलोपिठो पारिदिँदा आँसु थाम्नै मुस्किल पर्‍यो। कथा सक्दा त भक्कानै फुट्लाजस्तो भयो। मलाई स्कुल गएर ज्ञानी भइन्छ भन्ने कुरामा सदैव सन्देह भइरह्यो। हामीलाई स्वविवेक प्रयोग गर्न नदिएर पहिला परिवार र समाजले, त्यसपछि नीतिशास्त्रका कथित आदर्शको पर्खाल उभ्याएर स्कुलले अनि व्यवस्था अनुकूलको शिक्षा लादेर कलेज र विश्वविद्यालयले विवेकको अन्धा बनाउँछन् र हाम्रो सिर्जनशीलताको हत्या गर्छन्। यस्तो व्यवस्थामा सिद्धार्थ गौतमको जस्तो पृथक् चेतना नभई मानिसले ज्ञान प्राप्त गर्नै सक्दैन। नत्र, आफूलाई उच्च शिक्षित, एमफिल, मास्टर्स, पीएचडी डिग्रीधारी भनेर चिनाउनेहरू नै यो देशमा सबैभन्दा बढी अज्ञान र अहंकार प्रदर्शन गरिरहेका हुँदैनथे। नाओयाको कथा पढेपछि मेरो सन्देहलाई सबुद मिलेझैं भयो। तर, यसको आशय मानिसहरूलाई स्कुल, कलेज वा विश्वविद्यालय जान निरुत्साहित गर्नु होइन। ज्ञान र सिर्जनशीलताका लागि मौलिक मार्ग अन्वेषण गर्नु जरुरी छ भन्ने मात्र हो। नाओयाको कथामा पढाइका नाममा स्कुल र परिवारले बालक सेबेईको सिर्जनशीलताको हत्या गरेको छ। के हामीले हाम्रा बालबालिकाको सिर्जनशीलतालाई त्यसैगरी निमोठिरहेका त छैनौं ? नाओया बीसौं शताब्दीका महान् जापानी कथाकार हुन्। चरित्र चित्रणको गहिराइमा जाने उनको शैली जापानमा ‘सिगायो शैली’का रूपमा प्रख्यात छ। कथा पढिसकेपछि, हाम्रै वरिपरिका साधारण लाग्ने तर यति महत्वपूर्ण कुरा हामीले कथामा किन टिप्न सकेनौं भन्ने लागिरहन्द्धः - अनुवादक


सेबेई अक्सर लौका किन्न बाहिर निस्कन्छ भन्ने उसका बाबुआमालाई थाहा थियो। थोरै येनमा किनेका त्यस्ता ठीक्क आकारका लौकाहरू उसले संग्रह गरेको थियो। घर आउनेबित्तिकै पहिले ऊ लौकाको माथिपट्टि चट्टको प्वाल पाथ्र्यो, त्यसका बियाँहरू निकाल्थ्यो। त्यसपछि लौकाको दिक्कलाग्दो हरक हटाउन चियाको पात दल्थ्यो। अनि ऊ बाबुको गिलासमा बचेको थोरै रक्सीको थोपाले लौकाको बाहिरी भाग सफा गर्थ्यो। 

लौकाप्रति सेबेईको रुचि अनौठो थियो। एक दिन ऊ समुद्री किनारमा टहलिइरहेको थियो। त्यहाँ आफ्नो प्रिय कुरा देखेर एकछिन ऊ अचम्भित भयो। तालु खुइलिएको लामो टाउको भएको एक जना बूढोमान्छे छाप्रोबाट हतारिँदै बगरतिर गइरहेको थियो। ‘क्या गजबको लौका !’ उसले सोच्यो। आफ्नो खुइले टाउको हल्लाउँदै बूढो गायब भयो। त्यसपछि मात्र सेबेईलाई गलत आभास भएको महसुस भयो। अनि ऊ त्यहाँ एक्लै जोडले हाँसिरह्यो। घर पुग्दासम्म पनि हाँसिरहेको थियो।

खुद्रा पसल, क्युरियो, मिठाई पसल वा लौका बेच्ने अन्य ठाउँ पुग्दा ऊ कति बेरसम्म उभिएर हेरिरहन्थ्यो। उसका आँखा त्यो अमूल्य चिजमा टाँसिएको हुन्थ्यो।

सेबेई १२ वर्षको थियो। अझै प्राथमिक कक्षामा थियो। कक्षा सकिनेबित्तिकै ऊ साथीभाइसँग खेल्नुको साटो लौका खोज्दै बजारतिर भौंतारिन्थ्यो। अनि बेलुकी पलेँटी कसेर नयाँ लौकामा काम गरिरहन्थ्यो। यो सुसे धन्दा सकिएपछि त्यसमा अलिकति रक्सी राख्थ्यो, आफ्नै किसिमले बनाएको बिर्को लगाउँथ्यो, गम्छाले बेरेर यसलाई एउटा टिनभित्र राख्थ्यो। अनि सबै चिज खुट्टा तताउन गोल सल्काइने चुलोसामु राख्थ्यो। बल्ल सुत्न जान्थ्यो।

बिहान उठ्नेबित्तिकै ऊ टिन खोल्थ्यो र लौकाको जाँचपड्ताल गथ्र्यो। रातभरिको तापले लौकाको छाला पूरै सुक्खा हुन्थ्यो। बीचमा इँजार बाँधेर घाममा सुकाउन झुन्ड्याउनुअघि सेबेई मख्ख परेर यो अमूल्य चिजलाई हेर्थ्यो। बल्ल ऊ स्कुल जान्थ्यो।

सेबेईको घर बन्दरगाहमा थियो। हुन त यसलाई सहर भनिन्थ्यो। तर, बीस मिनेटमा यस कुनाबाट त्यस कुना चहार्न सकिन्थ्यो। ऊ सडकमा टहलिइरहन्थ्यो। अतः लौका बेच्ने सबै ठाउँ उसलाई थाहा थियो। अनि बजारमा पाइने सबैजसो लौकाबारे उसलाई ज्ञान थियो।

सामान्यतया संकलकहरूले प्राथमिकता दिने पुरानो, चाउरी परेको, विशेष आकारको लौकाप्रति ऊ त्यति ध्यान दिँदैनथ्यो। उसलाई आकर्षण गर्न लौका सामरो र सुन्दर बुनोट भएको हुनुपथ्र्यो।

‘तिम्रो केटो सामान्य देखिने कुरालाई नै मन पराउँछ’, एकपल्ट घरमा आएको बाबुको साथीले भन्यो। कुनामा सामरो र गोलो लौका पुछिरहेको सेबेईतर्फ उसले संकेत गर्‍यो।

‘मानौं, एउटा केटो जाबो लौकासँग खेलेर समय बर्बाद गरिरहेको छ’, सेबेईप्रति अप्रिय नजर लगाउँदै उसको बाबुले भन्यो।

‘यता हेर, सेबेई’, बाबुको साथीले भन्यो, ‘यस्तो काम न काजको कुरा बटुलेर केही हुँदैन। यो कतै लछारपाटो लाउने कामै होइन, बुझिस् त ? तैंले गर्नुपर्ने चाहिँ असाधारण केही कुरा संकलन गर्नु वा पत्ता लगाउनु हो।’

‘म यस्तै काम गर्न चाहन्छु’, सेबेईले भन्यो र चलिरहेको सामान थन्कायो। बाबु र साथीचाहिँ लौकाबारे गफ गर्न थाले।

‘त्यो बाकिन जातको लौकाबारे तिमीले बिर्सियौ होला, जुन गएको वसन्तमा कृषि प्रदर्शनीमा राखिएको थियो’, बाबुले भन्यो, ‘गजब थियो, होइन त ? ’

‘हो, मैले सम्झेँ। त्यो ठूलो, लामो...।’

बूढाहरूको कुरा सुनेर सेबेई मनमनै हाँस्यो। बाकिन लौकाबारे त्यस बेला खुब चर्चा चलेको थियो र ऊ हेर्न पनि गएको थियो (बाकिन लौका कुन हो, उसलाई थाहा थिएन), बरु उसले त्यहाँ मूर्खतापूर्ण लाग्ने काम न काजको चिज देख्यो र प्रदर्शनीबाट फर्कियो।

‘मलाई त त्यस्तो केही लागेन’, सेबेई बीचमै बोल्यो, ‘त्यो त हेर्दै दिक्कलाग्दो थियो।’

बाबुले अचम्म मानेर रिसले ठूला आँखा पारेर उसलाई हेर्‍यो।

‘के चाला हो ? ’ बाबुले हकार्‍यो। ‘आफूले के बोलिरहेको छु भन्ने थाहा छैन भने चुपै लाग्नू नि !’

त्यसपछि सेबेई केही बोलेन।

एक दिन ऊ बेचल्तीको बाटो हिँडिरहेको थियो। एउटी बूढी आइमाईको फलफूल पसल देखियो। ऊ हलुवाबेद र सुन्तला बेचिरहेकी थिई। पसलको पछाडि घरको सटरमा लहरै लौका झुन्डिएका थिए।

‘एकपल्ट म हेरौं है’, सेबेईले भन्यो र तत्काल पसलपछाडि गएर लौका जाँचपड्ताल गर्न थाल्यो। अचानक पाँच इन्च लामो लौकामा उसको ध्यान गयो। पहिलो नजरमै त्यसमा उसको दिल बस्यो। यसले सेबेईको दिलको धड्कन बढायो।

‘यसको कति हो ? ’ सास फुलाउँदै उसले शब्द निकाल्यो।

‘अँ, तिमी यति फुच्चो छौ, त्यसैले तिमीलाई म यो १० येनमै दिन्छु’, बूढीले भनी।

‘त्यसो भए, यो कसैलाई नदिनू’, सेबेईले आपाधापीमा बोल्यो’, ‘म पैसा लिएर तुरुन्त आइहाल्छु।’

ऊ घरतिर दौडियो र तुरुन्तै आइहाल्यो। उसले त्यो लौका किनेर घर लग्यो।

त्यस दिनदेखि उसले त्यो नयाँ लौकालाई कहिल्यै छाडेन, स्कुलमा पनि ऊ त्यो लौका लिएरै जान्थ्यो र क्लासटाइममै बेन्चमुनि राखेर पुछापाछ गरिरहन्थ्यो। एक दिन एउटा शिक्षकले थाहा पायो। ऊ रिसले आगो भयो। किनभने यो नैतिक शिक्षाको कक्षा थियो।

त्यो शिक्षक जापानकै अर्को ठाउँबाट आएको थियो। उसलाई बच्चाहरू लौका संकलन गर्ने आइमाईको जस्तो काममा संलग्न भएर समय बर्बाद पारेको अत्यन्त हेपाहा व्यवहार लाग्यो। बच्चाहरूले जति खराब स्वरमा नानीवाबुसी गीत गाउँदा पनि उसले आपत्ति जनाएको थिएन। तर, अहिले सेबेई चुपचाप लौका पुछेर टल्काइरहेको देख्दा रिसले उसको स्वर थरर्र काम्यो।

‘मूर्ख !’ ठूलो स्वरमा उसले हकार्‍यो। ‘तँजस्ता गोरुको कुनै भविष्य छैन, बुझिस् ? ’ त्यसपछि उसले त्यो लौका खोस्यो, जसमा सेबेईले त्यत्रोविधि काम गरिसकेको थियो। बिलखबन्द भएर सेबेई चुपचाप अगाडितिर हेरिरह्यो। तर, ऊ रोएन।

घर पुग्दा उसको अनुहार फुस्रो थियो। केही नबोली उसले चुलोमा खुट्टा सेकायो र शून्य आँखाले भित्तातिर हेर्‍यो।

एकैछिनमा शिक्षक आइपुग्यो। सेबेईको बाबु आफूले काम गर्ने सिकर्मीको पसलबाट फर्किसकेको थिएन। शिक्षकको रिसको तारोमा अनि त सेबेईकी आमा परिहाली। ‘यस्तो कुराको जिम्मेवारी परिवारकै हुनुपर्छ’, धोत्रो स्वरमा उसले भन्यो। ‘यस्तो नहोस् भनेर बाबुआमाले पो ध्यान दिनुपर्छ त !’ सेबेईकी आमाले लज्जित भएर भकभकाउँदै माफीका केही शब्द चुहाई।

यसबीच, सेबेई सकेसम्म देखा नपर्ने गरी कुनामा लुकेको थियो। डरले थरथरी भएर उसले घृणाले उम्लिरहेको शिक्षकलाई हेर्‍यो अनि पछिल्तिर भित्तामा आँखा लगायो, जहाँ सारा काम पूरा भइसकेका लौकाहरू झुन्ड्याइएका थिए। शिक्षकले त्यो देख्यो भने के होला ?

भित्रभित्रै काम्दै ऊ अझ चर्को बर्बादीको समय कुरेर बसिरह्यो। तर, शिक्षक हकार्दा हकार्दा थाक्यो र रिसले मुर्मुरिँँदै फुत्त निस्कियो। सेबेईले छुटकाराको लामो सास फेर्‍यो।

सेबेईकी आमा बिस्तारै सुक्सुकाइरहेकी थिइन्। दिक्कलाग्दो स्वरमा भुनभुन गर्दै उनले छोरालाई गाली गर्न थालिन्। यसै बेला सेबेईको बाबु आइपुग्यो। कुरा सुनेपछि उसले सेबेईको कठालो समात्यो। दनादन हिर्काउन थालिहाल्यो। ‘तँ गरिखाने खालको मान्छे नै होइनस्’, बम्किँदै उसले भन्यो। ‘यस्तो तालले तँ कहीँ टिक्दैनस्। यस्तै हो भने तँलाई घरबाट ननिकाली काँ’ छाड्छु र ! तेरा लागि ठीक ठाउँ त सडक नै हो, बुझिस् ? ’

पछाडि भित्तामा झुन्डिएका लौकाहरूमा बाबुको नजर परिहाल्यो। तत्कालै उसले ठूलो घन ल्याएर पालैपालो तिनलाई धुलोपिठो बनाइदियो। सेबेईको अनुहार फुस्रो भयो तर केही बोलेन।

भोलिपल्ट शिक्षकले सेबेईको लौका स्कुलमै काम गर्ने बूढो पालेलाई दियो। ‘लौ लैजाऊ’, उसले यसरी भन्यो मानौं पालेलाई कुनै फोहोर कुरा थमाइरहेको होस्। पालेले लौका घरमा लग्यो र आफ्नो साँघुरो कोठाको फोहोर भित्तामा झुन्ड्यायो।

सारै खनखाँचो पर्दा अलिकति भए पनि पैसा पाइएला कि भनेर दुई महिनापछि पालेले त्यो लौका एउटा क्युरियो पसलमा लिएर गयो। पसलेले लौका राम्ररी जाँच्यो। अरुचि देखाएझैं गरी फिर्ता गर्दै उसले भन्यो, ‘यसका लागि पाँच येन मात्र दिन सक्छु।’

पाले अचम्भित भयो। तर, चलाख वृद्ध पालेले धैर्यपूर्वक भन्यो, ‘यतिमा त कसरी दिनू ? दिन्नँ।’ पसलेले तत्कालै १० येन दिन्छु भन्यो। बूढो अझै अटेरी भइरह्यो।

अन्त्यमा, उसले ५० येन दिएर त्यो लौका लियो। भाग्य चम्केकोमा मख्ख पर्दै पाले घर फर्कियो। यसरी एक वर्षको तलब बराबर निःशुल्क उपहार शिक्षकबाट उसले कहिल्यै पाएको थिएन। बूढो यति चलाख थियो कि उसले यो कुरा कतै चुहाएन। शिक्षक र सेबेई दुवैलाई उसले त्यो लौकाबारे केही बताएन। हो, ऊ चलाख थियो। तर, त्यति चलाख पनि होइन। क्युरियो पसलेले यो लौका जिल्लामा एकजना धनी संकलकलार्ई ६ सय येनमा बेच्छ भन्ने उसले साधारण अनुमान पनि गर्न सकेको थिएन।

सेबेई अब चित्र बनाउन थालेको छ। उसलाई शिक्षकसँग कुनै रिस छैन, लौकाका ती अमूल्य कलाकृति धुलोपिठो बनाइदिने बाबुसँग पनि कुनै गुनासो छैन।

चित्र बनाउनमा उसको रुचि देखेर बाबुचाहिँले फेरि उसलाई गाली गर्न थालेको छ।

अनुवाद : अभय श्रेष्ठ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.