प्रिय डाक्टरको सम्झना
मैले खर्चिने शब्दहरू केवल सस्तो आडम्बर र गुणगान गाउन मात्र होइन। मैले यस्तो अकबरी सुनको कुरा कहन लागेको छु, जसलाई कसी लाउन आवश्यक छैन। गाउँले परिवेशबाट चिकित्सा क्षेत्रमा उदाएका वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापाका कतिपय अन्तरकुन्तर जनमानसबीच नराख्ने हो भने इतिहासमा मात्र समेटिन बेर लाग्दैन।
मानवीय त्रुटिका कारण सोमबार विमान दुर्घटनामा बालकृष्ण थापाको मृत्युबाट पुगेको अपूरणीय क्षतिलाई तौलिँदा आज फेरि उहिलेको जस्तो वादविवादमा ‘विज्ञान अभिशाप नै हो’ भन्ने पक्षको पल्ला भारी हुन गएको छ।
तीस र चालीसको दशकमा नेपालमा अहिलेजस्तो बग्रेल्ती मेडिकल कलेज थिएनन्। र, पैसाकै बलबुतामा चिकित्सा शिक्षा अध्ययन गर्ने त कल्पनै गर्न सकिन्नथ्यो। देशभरका मेधावी विद्यार्थीको लिगलिगे दौडमा नेपालकै एकमात्र चिकित्सा शास्त्र अध्ययन संस्थानमा केवल ३०-४० जनाभित्र नाम निकाल्नु चानचुने थिएन। त्यो पनि नेपालका अन्यत्रभैंm सालाखालाको काभ्रेको सरकारी स्कुल कुशादेवीको प्रडक्टले। अहिलेजस्तो च्याउसरि उम्रिएका मेडिकल कलेजहरू अनि पैसा भएकै कारणले पढ्न पाउने माहोलका बीच मेडिकल क्षेत्रका विकृतिलाई लिएर हिलो छ्यापाछ्याप हुन्थ्यो। डा. थापाले मेडिकल प्रवेश परीक्षा दिनेताका तात्कालीन डिनकै छोरीले एकाध पटक प्रवेश परीक्षामा नाम निकाल्न नसकेर विदेशमा पढ्न पठाएका थिए। परीक्षालाई लिएर त्यति गुणस्तर, संवेदनशीलता अनि शुद्धता थियो। त्यस्तो बेलामा पनि बालकृष्ण थापाले एकै पटकमा नाम निकाले।
नेपालमा अझै पनि डाक्टर हुन कम्ताको मेहनत आवश्यकता पर्दैन। त्यसमाथि विशेषज्ञता हासिल गर्न। सबैभन्दा ठूलो कुरा बिरामीको नातेदारको हृदयमै बस्ने डाक्टर बन्न। पैसा कमाउने डाक्टर होइन, गाउँको माटो सुँघेर, खेलेर हुर्केका थापालाई गरिबी के हो अनि गरिब गुरुवाहरूको स्वास्थ्यमा कतिको पहुँच छ ? गाउँमा, दुर्गमा एकजना मानिस बिरामी हुँदा अप्रत्यक्ष रूपमा अन्य कति जना बिरामी सरह हुन्छन् ? तिनका पशुपंक्षी कतिका भोका प्यासा हुन्छन् ? यसको हिसाब देखाउन थापालाई क्याल्कुलेटर थिचेर देखाउन आवश्यक थिएन। त्यसैले पनि उनले आवश्यक उपचार त निःशुल्क भइहाल्यो, कतिपटक उल्टै बिरामीलाई पकेट मनी, बाटो खर्च दिई पठाएको दृष्टान्त छ। महाराजगन्ज क्याम्पसबाटै प्रमाणपत्र तहको हेल्थ असिस्टन्ट कोर्स पढाइपछि जागिरको सिलसिलामा बागलुङमा सेभ द चिल्ड्रेन संस्थाअन्तर्गत मातृ तथा शिशु क्षेत्रमा काम गर्दा देशको कुनाकाप्चाको भ्रमण गरे। त्यहाँ छँदै आफू एपेन्डिसाइटिसबाट थलिएर पोखरा हुँदै काठमाडौंसम्मको अपरेशन यात्राले डा. थापाले काठमाडौं केन्द्रित मेडिकल सेवाको प्रतिपक्ष कित्तामा उभ्याए।
एमबीबीएसमा नाम निकाल्न कठिन छ, यो सबैले बुझेको कुरा हो। आफ्नै मेहनत अनि लगनले चिकित्सा विषयमा राखिएका भएभरका गोल्ड मेडल कुम्ल्याउनु निकै भिन्न कुरा हो। त्यसो त मेडिसिन घोकेर, कण्ठस्थ पारेर पढिने विषय होइन। दिमाग अनि भित्री मनले पढ्न आवश्यक हुन्छ। बालकृष्ण थापा नै एकमात्र यस्ता चिकित्सा क्षेत्रका विद्यार्थी होलान्, जसले एमबीबीएस उत्तीर्ण गर्दा त्यो बेलाको दसमध्ये आठवटा गोल्ड मेडल हात पारेका थिए। अन्य दुई पनि महिला विद्यार्थीको लागि छुट्याएको भएर उनले पाएनन्। त्यसो भएर पनि होला, उनको तीक्ष्ण मस्तिष्कको चर्चाको विषय हुन्थ्यो।
हामीले गुरुलाई चिन्छौं, प्रोफेसरलाई चिन्छौं तर बालकृष्ण थापाले जस्तो उत्तर पुस्तिकामा लेखेको उत्तरले, अनि मौखिक परीक्षामा दिएको मौलिक उत्तरले अनि इन्टर्नसिपका क्रममा बिरामीलाई पुर्याएको सेवाले गुरुवर्गको मनमस्तिष्कमा छाप छोड्नु चाहिँ चानचुने कुरा थिएन। प्रोफेसरले चिन्न चाहने, आफूसँगै काम गर्न चाहने, आफ्नै युनिटमा काम गराउन चाहने विद्यार्थी थिए, उनी। हि इज द स्मार्ट पर्सन विथ ब्रेन।
कुशादेवीको साधारण स्कुलेजीवनदेखिको कक्षामा प्रथम हुने रेकर्ड ढाकामा एमसीएच सरहको एमएस न्यूरो गर्ने बेलासम्म कायम राखे। २०५१ मा चिकित्सा शास्त्र अध्ययन संस्थानबाट पास आउट हुँदा उनी कन्ट्री टपर बन्न सफल भए। मेडिकल पढ्ने विद्याथीलाई सोध्नुस्, बंगलादेशमा त्यो बेलाको मेडिकल पढाइ कति गाह्रो अनि त्रासमयी हुन्थ्यो। तर, थापाले ढाकास्थित बंगबन्धु शेखमुजिव मेडिकल युनिभर्सिटीमा एमएस न्युरो सर्जरी पढेर पास गर्ने पहिलो विदेशी विद्यार्थी मात्र भएनन्, आफ्नो ब्याचमा पास गर्ने प्रथम विद्यार्थी पनि। गिनिजमै समावेश गर्ने खालको रेकर्डमाथि रेकर्ड।
मेडिकल क्षेत्रमा पढाइपछि पनि आपूmलाई अपडेट बनाइराख्नुपर्छ, त्यसमा पनि सर्जरी एलाइडका विषयमा। न्युरो सर्जरीमा त झनै। यदि उम्दाको मेडिकल एकेडेमिसिएन बनिरहने हो, यसलाई कायम राखिरहने हो भने मेडिकल क्षेत्रको क्यारियरमा सभा सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने तथा शोधग्रन्थ, जर्नलहरूमा शोधकार्यका नतिजाहरू प्रकाशित गरिरहनुपर्छ। थापा यस मामिलामा पछि पर्ने कुरै थिएन।
उनमा बौद्धिक अब्बलताका साथै राजनीति र साहित्यमा उत्तिकै दक्खल थियो। अहिलेको राजनैतिक परिवेशलाई सुहाउँदो घोचक कविता उतिबेलै कोर्न सिपालु थापा वामपन्थी विचारधाराप्रति झुकाव राख्थे। २०४६ को जनआन्दोलनताका टिचिङ अस्पताल र महाराजगन्ज होस्टेलबीचको पर्खाल चढी क्लिस्ट नेपाली भाषामा त्यो बेलाका शासकहरूप्रति प्रहार गरेर गरेका उनका भाषण सुन्दा रगत नै उम्लिन्थ्यो। पृथक् विचारधाराकै विद्यार्थी किन नहोऊन्, उनको भाषणमा ताली पिटिरहेको हुन्थ्यो। उनको वाकपटुता गजबको थियो। बहुसंख्यक मेडिकल विद्यार्थी प्रजातान्त्रिक विचार भएको बेलामा पनि उनले नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीको अध्यक्ष पद जिते। जनआन्दोलनकै क्रममा कति पटक महाराजगन्ज होस्टलमा मेडिकल विद्यार्थी र प्रहरीबीच मुसा बिरालो खेल भयो। तर शासक समर्थित प्रहरीको टार्गेट चाहिँ बालकृष्ण थापा भइरहे।
डाक्टर र बिरामीबीच अहिले नाना तरहको रस्साकस्सी भइरहेको बेला डा. थापाको उपलब्धि अपवाद सरह हुन सक्छ। २०६२ मा उनले चितवन छाड्ने निर्णय गर्दा रूपन्देही तथा चितवनका करिब १४ सय बिरामीले बीपी क्यान्सर अस्पतालमा उहाँको सेवा अनवरत पाउँ भनी निवेदन नै दिएका थिए। कसैको नजरमा बस्न गाह्रो। त्योभन्दा गाह्रो त कसैको आँखा नबिझिकन बसिरहन। तर थापा धेरै सेवाग्राहीको नजरमा बसिरहन सफल भइरहे। उनको शरीर टिचिङकै फरेन्सिक ल्याबमा पोस्टमार्टम भइरहँदा विमान दुर्घटनाप्रति अनभिज्ञ कतिपय सेवाग्रहीहरू अभैm पनि उनकै बाटो हेरिरहेका होलान्, सायद।
सायद, भगवान् छन् भने उनको लागि पनि थापाजस्तै राम्रो मान्छे चाँडै चाहिने रहेछ। सायद, पुनर्जन्म भन्ने चिज छ भने कति दीनदुःखी क्यान्सर रोगीले अर्को जुनीमा पनि थापा फेरि सहृदयी, अब्बल, उम्दाको न्युरो सर्जन नै भएर आऊन् भनी कामना गरिरहेका होलान्।
बालकृष्ण थापा नै एकमात्र यस्ता चिकित्सा क्षेत्रका विद्यार्थी होलान्, जसले एमबीबीएस उत्तीर्ण गर्दा त्यो बेलाको दसमध्ये आठवटा गोल्ड मेडल हात पारेका थिए।
साहित्यिक मन
मानवीय संवेदना, पीडा, दुःख अनि आशाबीच गुज्रिरहनुपर्ने पेसा हो चिकित्सा क्षेत्र। त्यसैले पनि बिरामी अनि तिनीहरूका नातेदारको आशा, अपेक्षा अनि विश्वासमा अलिकति पनि तल माथि हुँदा हिस्रंक भइहाल्ने, उग्र भइहाल्ने हुन्छ। डाक्टर पनि मानिस हो। डाक्टरको मन र मुटु हुन्छ। डाक्टरलाई पनि मानवीय संवेदनाले भित्रैदेखि छुन्छ, भलै शब्दमा कोर्ने एकाध डाक्टरहरू मात्र भए पनि। डा. थापा पनि यस्तै साहित्यिक मन भएका डाक्टर थिए। ‘डाक्टरका कविता’ संग्रहमा आफ्नो अन्तर आत्माको चोट उनले कवितामा यसरी पोखेका छन्ः
कतिन्जेल हजुर
कतिन्जेल हो हजुर
म गुलाम बन्नैपर्ने
कतिन्जेल हो हजुर
निगाहा मैले सहनै पर्ने
कतिन्जेल हो हजुर
मैले मेरो भावना मार्नैपर्ने
कतिन्जेल हो हजुर
मेरो अन्तरआत्मामा चोट लगाइराख्ने
बिरामी देश नेपालले उहाँको मन, मुटु छोएको हुनुपर्छ। त्यसैले त जातीय तथा क्षेत्रीय प्रतिनिधित्व तथा पेसाकर्मीहरूको थलो हुनुपर्छ राष्ट्रियसभा भन्ने शीर्षकको लेखबाट लेखन क्षेत्रमा आएका डा.थापाले एकपछि अर्को कृति दिए। डाक्टरी कविता (२०६१), डाक्टरका कविता (२०६९) र चिरफार निबन्धसंग्रह (२०७०) उनका प्रकाशन हुन्। यसको अलावा आफ्नोबारे, आफ्नो कर्मस्थल, आफ्नै बिरामी तथा शोधकार्यका कतिपय लेखहरू समेटेर न्युरो अन्को सर्जरी इन् नेपाल (२०१३) नामक पुस्तक पनि प्रकाशन छ। यस्तै संविधान लेखनमा अन्योल भइरहेको बेला बाबापुरा मोडेल समावेशी संविधान २०६३, जेठ (सहलेखन) प्रकाशनमा ल्याएका थिए। नेता र राजनैतिक वातावरणप्रति मात्र नभएर आफ्नै पेसाप्रति पनि व्यंग्य कोर्न पछि परेनन् थापा।
ऐ डाक्टर के डाक्टर
औषधि नै मात्र लेख्न त
किन डाक्टर बन्नु पर्यो र ?
मेडिकल पसलेले पनि त दिएकै छन्
कम्पनीलाई थर्काउन मात्र त
किन डिग्री भिर्नु पर्यो र ?
भन्सारियाहरूले थर्काएकै छन
आफूलाई घमण्डी देखाउन त
किन डाक्टर बन्नु पर्यो र ?
राजनेताले नै देखाएका छन्।
यूएस बांगला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धलपल गर्दै रनवे बाहिर धसिएलगत्तै विमानमा भएको आगलागी अनि क्षत्विक्षतले नेपाली चिकित्सा क्षेत्रमा ठूलो धक्का लाग्यो। यो धक्काले असंख्य बिरामीको विश्वास ढल्यो। कुशादेवी क्षेत्रले एक सपुत गुमायो। नेपालको चिकित्सा क्षेत्र अनि न्युरो सर्जरी क्षेत्रमा कहिल्यै नपुरिने घाउ बन्यो। परिवारजन, आफन्तको मनमा मात्र नभई चितवनवासी अनि हजारौंको सेवाग्रही आशा, भरोसा ढल्यो।
बालकृष्ण दाइसँग हामी एउटै डुंगाको सहयात्री, सहधर्मी अनि सहकर्मी थियोै। यी पंक्ति लेख्न बस्दा उनका आगत विगतका सम्झनाहरू एकपछि अर्को गर्दै तँछाडमछाड गर्दै थिए। तर, शब्द लेख्न मेरा हातका औँलाहरू ल्यापटपका किबोर्डमा थर्थराइरहेका थिए। उक्त विमान दुर्घटनामा मृत्यु भएका अन्य यात्रुहरूसँगै बालकृष्ण दाइलाई श्रद्धाको एक पूmल चढाएँ। कुशादेवी पुत्रको वैकुण्ठबास होस्।