दक्षिण एसियामा नेपाली कविता
भारतइतरका दक्षिण एसियाली देशहरूको कलासाहित्यका अगाडि सदैव एउटा साझा चुनौती खडा भएको देखिन्छ। त्यो के भने, दक्षिण एसियाली कलासाहित्य अथवा संकथन भन्नेबित्तिकै विश्वमा भारतीय कलासाहित्य अथवा संकथन हो भन्ने भ्रम सिर्जना हुन जान्छ। यसका केही प्रमुख कारणहरू छन्ः भारतको ठूलो भूगोल, दक्षिण एसियामा यसको पुरानो वर्चस्व, पश्चिमा मुलुकसँगको यसको पुरानो प्राज्ञिक विनिमय, भारतीय सिद्धान्तकारहरूको विश्वव्यापी उपस्थिति तथा भारतीय कवि, लेखक र कलाकारको विश्वमञ्चमा पुरानो उपस्थिति र प्रभाव।
नेपाललगायतका साना मुलुकहरूमा आ–आफ्नो मौलिक ज्ञानकोशको अनुवाद र अन्तर्राष्ट्रियकरणको प्रयास तुलनात्मक रूपमा कम हुनु पनि यसको अर्को कारण हो। त्यसैले, दक्षिण एसियाली डिस्कोर्स मोटामोटी इन्डिक डिस्कोर्स अर्थात् भारतीय संकथन हुन पुगेको छ। फलस्वरूप यस क्षेत्रलाई हेर्न भारतलाई दृष्टिविन्दु मान्ने चलन पनि देखिएको छ।
यसो हुँदा, साना मुलुकहरू एक प्रकारको ‘एपिस्टेमिक भायलेन्स’ अर्थात् ज्ञानको हिंसाबाट प्रभावित हुने गर्छन्। श्रीलंका, पाकिस्तान, भुटान, बंगलादेश र भारतका लोकसंस्कृति र अनुभव भिन्दाभिन्दै छ। तर, धार्मिक र सांस्कृतिक मानकविन्दु र आद्यचिन्तन एकैखाले सभ्यता र शास्त्रीय आधारबाट विकसित भएको हुँदा यी देशका कलासाहित्य र चिन्तनहरूको जग, अधिकांश अवस्थामा, तिनै आद्यप्ररूप अर्थात्, धर्म, सभ्यता र शास्त्रीय विरासतबाट विकसित भएर आएका हुन्छन्। तर, पश्चिमा जगत्सँग भारतको अन्तरक्रिया, ऐतिहासिक कारणले, अरू देशभन्दा छिटो विकसित भयो। यसले दक्षिण एसियाली चिन्तन र कला भारतीय चिन्तन र कलाको रूपमा सम्प्रेषित भयो। फलस्वरूप, भारतइतरका दक्षिण एसियाली मुलुकसामु पहिचानको संकट देखियो।
साहित्यको हकमा यसका केही गम्भीर परिणामहरू भएका छन्। ‘दक्षिण एसिया’ लाई अतिशय सामान्यीकृत गरेको पाइन्छ, जसको असर नेपालजस्ता साना मुलुकमा पर्छ। हुन त यसमा नेपालको आफ्नै पहल र प्रयास कमजोर हुनु पनि एक दोष हो, तर साहित्यलाई हेर्ने पश्चिमा आँखा पनि पूर्वाग्राही हुनु दुर्भाग्यपूर्ण हो। उदाहरणका लागि बार्बरा स्टोलर मिलरको ई.१९९४ मा प्रकाशित मास्टरवर्कस् अफ एसियन लिटरेचर इन कम्पेरेरिभ पर्सपेक्टिभमा नेपालको उपेक्षा भएको छ। दक्षिण एसियाली नारीवादी चिन्तनबारे उमा नारायणनले ई. १९९७ मा निकालेको डिस्लोकेटिङ कल्चरमा कहीँ पनि नेपालको नाउँ आउँदैन। पल ब्राइनले २००३ मा आधुनिक दक्षिण एसियाली साहित्यबारेको अनुसन्धान कृति प्रकाशित गरे, नेपाल छुट्यो। यसमा समाविष्ट १५ साहित्यकारमा १२ भारतका छन् र एक एक श्रीलंका, बंगलादेश र पाकिस्तानका। उनी लेख्छन्, ‘दक्षिण एसियाभित्र धेरै राष्ट्र पर्छन् तर यस ग्रन्थका लागि पाकिस्तान, श्रीलंका र भारत छानिएको छ। यी ती देश हुन्, जसलो विश्वमै चर्चित कृतिहरू दिएका छन्।’
ई. २००५ मा विलार्ड स्पिगिलमेनले लेखेको ‘हाउ पोएट्स सी द वल्र्ड’मा नेपाली परेनन्। एसियाको अन्तर्देशीय सांस्कृतिक अध्ययन सम्बन्धमा कुअन–सिङ चेन र चुआ बेङ् हुआतको इन्टर एसिया कल्चरल स्टडी २००७ मा नेपाली समेटिएन। बेन्जी झेङले ई.२००८ मा सम्पादन गरेको उत्तर अमेरिकामा बस्ने एसियाली कविहरूको कविता संग्रहमा नेपालको नाम छैन। भर्खर २०१२ मा रोजमेरी एम केन्फिल्ड रेइसमेनले प्रकाशित गरेको एसियन पोएट्समा नेपाली कविले प्रवेश पाएको देखिँदैन। सबैमा भारतीय लेखकहरूको बाक्लो उपस्थिति छ।
यस स्थितिमा समग्र नेपालका अगाडि विद्यमान पहिचानको संकटबाट नेपाललाई जोगाउने हो भने नेपालका प्राज्ञिक समुदायबाट केही महŒवपूर्ण प्रयास गर्नु वाञ्छनीय छ। पहिलो, दक्षिण एसियालाई हेर्ने भारतकेन्द्रित पारम्परिक दृष्टिविन्दुलाई कसरी परिवर्तन र प्रभावित गर्न सकिन्छ भन्ने कुरामा नेपाली साहित्यकार, साहित्यप्रेमी, अनुसन्धाता र समालोचकहरूले गम्भीर चिन्तन गर्नु जरुरी देखिन्छ। कोलोम्बिया विश्वविद्यालयको एउटा प्राज्ञिक समूहले हालसालै यस दिशामा एउटा प्रयास सुरु गरेको छ, जसको ध्येय वैकल्पिक एसियाली दृष्टिविन्दुको विकास गर्नु हो। त्यस समूहले आफ्नो काम नेपालबाट सुरु गरेको छ। नेपाललाई केन्द्रमा राखेर दक्षिण एसियालाई हेर्ने कोसिस त्यसको मूल अभीष्ट हुने बताइएको छ। तर यसको परिणाम भने केही वर्ष कुर्नै पर्ने देखिन्छ।
नेपाली कविता र समग्र दक्षिण एसियाली कविताको स्वभावमा थुप्रै समानता छन्। दुवै कविताको जग पूर्वीय सभ्यता, संस्कृति र धर्मदर्शन हो र यी अधिसंरचनामा समानता भएको हुनाले कवितामा पनि स्वतः समानता छ। धेरैजसो मुलुकका आर्थिक–सामाजिक स्थिति र संरचना पनि उस्तै छन्। यी मुलुकका प्रकृतिवादी र नारीवादी कविताको ध्वनि समान छ। तर साम्यभन्दा पनि वैषम्य कहाँ छ र नेपाली कविताले आफ्नो एउटा छुट्टै वैशिष्ट्यको दाबी कसरी गर्न सक्छ, त्यसको खोजी यस लेखको मूल ध्येय भएको हुँदा त्यस्ता समान कथ्य भएका कवितालाई यस लेखको परिधिभन्दा बाहिर राखिएको छ।
राजीव पटकेले २००६ मा आफूले गरेको उत्तरउपनिवेशिक अंग्रेजी कविताको सर्वेक्षणमा दक्षिण एसियाली कविताका केही स्वभावको निरूपण गरेका छन्। दक्षिण एसियासँग अझै बिर्सन नसकेको साम्राज्यवादको घाउ छ र नवसाम्राज्यवादको भय छ। त्यसैले, अधिकांश दक्षिण एसियाली कविता साम्राज्यवादको विपक्षमा, विशेष गरी अंगेजी सांस्कृतिक उपनिवेशको विरुद्धमा लेखिएको राजीव पटकेको ठहर छ। लामो साम्राज्यवादले यी देशको इतिहासको दिशा पनि मोडिदिएको छ र उनीहरू कवि सुजाता भट्टले भनेअनुसार एउटा ‘खण्डित आख्यान’ (ब्रोकन नेरेटिभ) बाँचिरहेका छन्। त्यसैले, इतिहास उनीहरूको कविताको अर्को विशाल कथ्य हो।
स्थानीय भाषामा होस् वा अंग्रेजी भाषामा, दक्षिण एसियाका अधिकांश कविहरू यस खण्डित आख्यानको बारेमा लेखिरहेका छन्, जसमा ८० को दशकमा भारतमा विकसित ‘सबाल्टर्न स्टडिस’ को प्रभाव स्पष्ट देखिन्छ। ई.१९५० को दशकदेखि प्रभावकारी ढंगबाट अगाडि आएको उत्तरउपनिवेशिक साहित्यको पहिलो खण्ड मोटामोटी रूपमा साम्राज्यवादको विरोधमै केन्द्रित रह्यो। पछि, बेनिता पेरी र वोले सोयेङ्काजस्ता चिन्तक र लेखकको हस्तक्षेपकारी मध्यस्ताका कारण तथा एडवार्ड साइदजस्ता पूर्ववादी चिन्तकका कारण यी मुलुकका लेखकहरू साम्राज्यवादको विरोध कम र आफ्नै मौलिक ज्ञानकोशको उत्खननमा बढी केन्द्रित भए। तर पनि त्यसमा एउटा जटिल समस्या भने विद्यमान थियो।
दक्षिण एसियाली चिन्तन र कला भारतीय चिन्तन र कलाको रूपमा सम्प्रेषित भयो। फलस्वरूपः भारतइतरका दक्षिण एसियाली मुलुकसामु पहिचानको संकट देखिएको छ।
ब्रिटिस साम्राज्यका पूर्व कालोनीहरूका सन्दर्भमा टेरी इगल्टन लेख्छन्, कि साम्राज्यवाद विरोधी संकथनको उपस्थितिका कारण यी देशमा उठेका नश्ल, भाषा र पहिचानका मुद्दाले विभिन्न जातजातिसँग रहेको साझा भौतिक अवस्थितिको मुद्दा नेपथ्यमा परेको छ। यसका कारण यी देशको समाजवादी कविता जमिनी यथार्थमा कम र वैश्विक तर्कमा बढी अल्झेको पाइन्छ। साथै, ससाना जातको मौलिक ज्ञान यी देशका कवितमार्फत खासै सतहमा आएको देखिँदैन।
आन्तरिक भौगोलिक र जातीय विभाजनको प्रभाव पनि यी देशका कवितामा यथेष्ट छ। १९६५ मा मलेसियाबाट सिंगापुर अलग हुनु, १९७२ मा बंगलादेश स्वतन्त्र हुनु, ई.१९९२ मा भारतमा अयोध्या काण्ड हुनु र श्रीलंकामा लामो समय गृहयुद्धको स्थिति हुनुले कवितामा तरंग नै पैदा गरेको छ। उपनिवेशिक कालमा हराएका अथवा नेपथ्यमा परेका पूर्वीय मूल्यहरूको पुनरउत्खनन पनि यी क्षेत्रका कविताको रुझान हो। श्रीलंकाली कवि माइकल ओन्दात्जीको हेन्डराइटिङ, पाकिस्तानी कवि अहमद अलिको द पर्पल गोल्ड माउन्टेनलाई उदाहरणका रूपमा लिन सकिन्छ। बढ्दो उपभोक्तावाद र विश्वव्यापीकरणको विरोध पनि दक्षिण एसियाली कविताको अर्को रुझान हो।
जहाँसम्म गणतन्त्रपछिको नेपाली कविताको प्रश्न छ, भौगोलिक विभाजन, जातीय विभेद र कुनै खास उपनिवेशवादी सत्ताको विरुद्धमा स्वाभाविक कारणले खासै कविता लेखिएनन्। बितेको करिब डेढ दशकमा नेपाली कविता केही विशेष विषयबाट बढी प्रभावित भएको पाइन्छः शासन व्यवस्थाका लागि भएका आन्दोलनहरू, मार्क्सवाद, उत्तरआधुनिकता तथा जातिजातिको आन्तरिक सौन्दर्यशास्त्रको उत्खनन, नारीवाद, वैदेशिक रोजगार र आप्रवासन तथा जीवनका विविध दर्शन। यी सम्पूर्ण प्रभावहरूको परिणामस्वरूप, अन्य दक्षिण एसियाली कविताले भन्दा नेपाली कविताले केही पृथक् बाटो अख्तियार गरेको देखिन्छ। ती पृथकताहरूलाई मोटामोटी रूपमा ६ वटा शीर्षकअन्तरर्गत अध्ययन गर्न सकिने देखिन्छ। पहिलो हो, इतिहासको व्यतिरेकमा कविता। उनीहरू उपनिवेशी इतिहाससँग जुधिरहँदा नेपालमा हामी आफ्नै राणा, शाह र अन्य स्वेच्छाचारी शासकको इतिहाससँग जुधिरहेको छौं। दोस्रो, हामी वैकल्पिक राष्ट्रवादको पक्षधरतामा कविता लेखिरहेका छौं, जसमा जातीय पहिचानका कविताको बाहुल्य छ।
जुन परिमाणमा सांस्कृतिक सचेतनाका कविता नेपालमा आज लेखिँदैछन्, त्यति नेपाली कविताको इतिहासमा कहिल्यै लेखिएका थिएनन्। तेस्रो, आर्थिक–सामाजिक रूपान्तरणको अपिल, जसमा प्रगतिशील कविताको बाहुल्य छ। यसमा दुई धार देखिन्छन्। कविताको कथ्य र स्वरूपको सम्यक संयोजनसहित लेखिएका कविता तथा स्वरूपभन्दा पनि कथ्यमा केन्द्रित रेडिकल कविता। चौथो, सार्वभौमिकताको खोजी समकालीन नेपाली कविताको एउटा स्वभाव हो। राष्ट्र स्वतन्त्र हुँदाहुँदै पनि नेपालमा बाह्य हस्तक्षेप धेरै नै हुने हुँदा, यस प्रकारका कविता जन्मिरहेका छन्। पाँचौं, दार्शनिक र जीवनबोधी कविता, जसका सर्जकहरूको संख्या निकै ठूलो छ। उनीहरू मान्छेको भित्री ब्रह्माण्डलाई चिहाउने कोसिसमा छन् र जीवन र जगत्का रहस्य र अन्तर्यको उद्घाटनमा केन्द्रित देखिन्छन्। नेपाली लोकजीवन र मिथकहरूको जगमा नवीन कथ्य लिएर उभिने यी कविता पनि अन्य दक्षिण एसियाली कविताभन्दा पृथक छन्। वैदेशिक श्रम र आप्रवासनका कविताले बिदेसिनुको पीडा र नेपालको गरिबीले सिर्जना गरेका बाध्यात्मक नियतिहरू लेखिरहेका छन्।
यसरी हेर्दा २०६५ पछिको नेपाली कविताले दक्षिण एसियाका समकक्षी राष्ट्रहरूको सापेक्षतामा विभिन्न समान विषय र लक्षणका कविता लेख्दालेख्दै पनि केही विन्दुमा आफूलाई पृथक राखेको छ। नेपाली कविता अपवादबाहेकका अवस्थामा आफूलाई शासकीय इतिहासको पूर्ण व्यतिरेकमा उभ्याएको छ। शास्त्रीय मार्क्सवादभन्दा फरक, नेपाली समाजको बहुसांस्कृतिक व्यवस्था र जमिनी यथार्थसँग गाँसिएको समाजवादी धारा नेपाली कविताको मौलिक निर्मिती हो। उत्तरआधुनिक चिन्तनसँग सन्निकट वैकल्पिक र बहुलतावादी नेपाली राष्ट्रवादको कुरा नेपाली कविताको एक पृथक स्वभाव हो। सार्वभौमिताको खोजी र नेपाली चिन्तनबाट निस्रित एक विशिष्ट विश्वदृष्टि नेपाली कविताका मौलिक रुझान हुन्।
अहिले लेखिँदै गरेका कवितामा केही समस्या पनि छन्। पुरानो आक्रोशको प्रतिध्वनि आज पनि सुनिन्छ, जबकि जनताकै निर्मितीमा व्यस्थामा धेरै परिवर्तन आइसक्यो। विश्वको घटनाक्रमसँग नेपाली कविताको अन्तरक्रिया न्यून छ। पहिचान र लैंगिक समानताको वकालतमा जातीय विद्वेष र गालीगलौजले कतै पनि समतामूलक समाजको निर्माणलाई टेवा पुर्याउँदैन। नेपाली कविताको पछिल्लो पुस्ताको शब्दकोश निकै तरल छ र भावुकता बढी छ। मानसपटलमै अनुवाद गरेरे हेर्ने हो भने ती कविताका खासै नेपालीपन बाँकी रहेको भेटिँदैन। दलगत राजनीतिको सीधा प्रभाव पनि निकै छ। नेपाली नारीवादले पश्चिमको शास्त्रीय नारीवादले प्रतिपादन गरेका मान्यतामा एउटा पनि नयाँ इँटा थप्न सकेको छैन।
समकालीन नेपाली कविताले एउटा नयाँ पुस्ता पनि हुकाइरहेको छ, जुन तरल र सम्प्रेष्य भाषामा रुमानी कविताहरू लेखिरहेको छ। तिनका कवितामा यथेष्ट मात्रामा ग्रामीण र लोक अनुभवहरू आइरहेका छन्। निजी आख्यानजस्ता लाग्ने ती कविताले एउटा संकेत गरेको देखिन्छ कि आगामी दशकमा नेपाली कविताको कमसेकम एउटा धारले तन्नेरीहरूको नेतृत्वमा फेरि एउटा रुमानी र स्वच्छन्दतावादी बाटो समाउने छ। साझा सामाजिक र राष्ट्रिय सरोकारभन्दा पनि ती कविताहरू ससाना, निजी अथवा मानवीय सम्बन्धका सूक्ष्म विषयमा कविता लेखिरहेका छन्। ती कविताले एउटा ठोस आकार लिँदासम्म र मूलधारमा प्रवेश गर्दासम्म नेपाली कविताले मानवतावादको एउटा नवीन संस्करणमा प्रवेश गरेको हुनेछ भन्दा अत्युक्ति हुँदैन सायद।
नेपाली कवितालाई वैकल्पिक एसियाली आधुनिकताको स्वर बनाउन सकिने थुप्रै आयामहरू छन्, जुन दिशामा अनुसन्धान जरुरी देखिन्छ। कति लेख्यो नेपाली कविताले आफ्नै आदिम सहिष्णुताको गीत ? कति उत्खनन गर्यौं हामीले आफ्नो लोक गौरव, जो नितान्त मौलिक हो ? कति प्रोत्साहित छ नेपालका आदिवासी, जनजाति र मौलिक नेपाली सभ्यताको विश्वदृष्टिहरूको उत्खनन ? द्वन्द्वहरूको व्यवस्थापन गर्ने नेपालको मौलिक शैली छ। त्यसमा टेकेर पनि हामी केही मौलिक पद्धतिको विकास गर्न सक्छौं। हाम्रो हिमाल र नदीको इकोलोजी विशिष्ट छ। हाम्रो वातावरणीय कविताले यहाँ पनि डिपार्चर दिन सक्छ।
यसो भयो भने दक्षिण एसियाली कवितामा नेपालको आफ्नो हकदाबी बलियो हुनेछ। नत्र, प्रश्न सधैं रहने नै छः कुन दक्षिण एसिया ?