पृथाको स्वयम्वर

पृथाको स्वयम्वर

१.

राजा कुन्तीभोजलाई पटक्कै निद्रा परेको थिएन। आजै हस्तिनापुरबाट राजकुमारीको लागि विवाह प्रस्ताव आएको थियो। हस्तिनापुरजस्तो शक्तिशाली राज्यबाट आएको प्रस्ताव अस्वीकार गर्ने आँट उनमा थिएन। हस्तिनापुरका संरक्षक बनेर बसेका भीष्मको सौर्य आर्यावर्तमा अद्वितीय थियो। स्वयम्वर स्थलबाटै तीन–तीन राजकुमारी हरण गरेर लगेको घटना दन्त्यकथाझैं मान्छेको मुखमा झुन्डिरहेको थियो। शाल्वजस्ता शक्तिशाली राजासमेत पराजित भएका थिए। केहीअघि त हो, गान्धार नरेश सुबलले आफ्नी एकमात्र पुत्रीलाई हस्तिनापुरका दृष्टिविहीन राजकुमार धृतराष्ट्रसँग विवाह गरिदिएको।

हस्तिनापुरबाट सन्देशवाहकमार्फत आएको प्रस्तावकै भरमा सुबलपुत्र शकुनी बहिनी लिएर भीष्मका हजुरमा टक्य्राउन हस्तिनापुर पुगेका थिए। गान्धार राजकुमारीले आजीवन कुमारी नै रहने तर यो प्रस्ताव कुनै हालतमा नस्वीकार्ने जिद्दी गरेकी थिइन् रे ! सुबलले राज्य बचाउन पुत्रीको बलि चढाइदिए। दृष्टिविहीनसँग जबरजस्ती विवाह गर्नुपर्‍यो भनेर राजकुमारीले पिताकै सम्मुख आँखामा पट्टी बाँधेर विरोध गरेकी रहिछन्। तर, हस्तिनापुरको अगाडि गान्धारको के जोर चल्थ्यो ! राजा सुबलजस्तै बाध्यतामा अहिले कुन्तीभोज परेका थिए।

००००

गान्धारबाट पटकपटक गरेर आएका खबरहरूलाई सम्झिँदै कुन्तीभोज तर्कना गर्दै थिए। पृथा बीस वर्ष पुग्नै लागेकी थिइन्। विवाहका लागि ठाउँठाउँबाट प्रस्ताव आइरहेका थिए। तर, ती प्रस्तावप्रति कुन्तीभोज त्यति उत्साहित थिएनन्। आजै आएको हस्तिनापुरको प्रस्तावले राजालाई विचलित बनाएको थियो। त्यहाँको यो प्रस्ताव पृथालाई सुनाएर अलिकति हल्का हुन मन लाग्यो उनलाई।

कुन्तीभोजले पृथालाई एक वर्ष पनि नपुग्दै शूरसेनकहाँबाट ल्याएका थिए। शिक्षादीक्षामा कुनै कञ्जुस्याइँ गरेका थिएनन्। शीलस्वभाव पनि भन्नुको थियो। राजकाजको काममा पनि भाग लिन थालेकी थिइन् पृथा। आर्यावर्तमै यिनी जत्तिको सुन्दरी अरू छैनन् भन्ने चर्चा चल्न थालिसकेको थियो। राजकाजमा भाग लिने स्त्री त झन् दुर्लभै थियो। दुर्वासाजस्ता ऋषिसमेत प्रभावित भएका थिए, यिनीसँग। यिनको सेवा, टहलबाट प्रभावित भएर दुर्वासाले यिनलाई दुर्लभ वशीकरण मन्त्र प्रदान गरेका थिए। मन्त्रको प्रयोग गरेर कुन्ती जोसुकै पुरुषलाई आफूसमक्ष नतमस्तक तुल्याउन सक्थिन्।

कुन्तीभोज भीष्मका पितामह हस्तिनापुर नरेश प्रतीपले पनि आफ्नो पहिलो सन्तान ससुरालाई दिएका थिए। आर्यावर्तको उत्तर तथा उत्तरपश्चिममा अद्यापि त्यो प्रचलन भए पनि अन्यत्र भने हराउँदै गएको थियो। बरु नियोग प्रथा फस्टाउँदो थियो। समाज परिवर्तन द्रुत गतिमा हुँदै थियो।

पृथाजस्ती रूप, गुण, स्वभावमा अद्वितीय युवतीको विवाह जहाँ पनि हुन सक्थ्यो। कुन्तीभोज पृथाको पहिलो सन्तान आफूले पाउनुपर्ने सर्तमा पृथाको विवाह गरिदिने विचारमा थिए। तर, पृथाचाहिँ पिताका लागि विवाहअघि नै एउटा सन्तान जन्माइदिन चाहन्थिन्। दुर्वासाबाट प्राप्त मन्त्र प्रयोग गरेर राज श्री सूर्यमार्फत कुन्तीले एक पुत्र पनि प्राप्त गरिन्। सूर्यले आफूसँग भएको एक जोडी दिव्य कुण्डल र स्वर्ण रङको एक अभेद्य कवच पृथाबाट जन्मेको पुत्रको लागि प्रदान गरे। कानमा कुण्डल लगाएकाले पृथाले बालकको नाम नै कर्ण राखिदिइन्। दिव्य कुण्डलले बालक कर्णको व्यक्तित्व झल्मलाएको थियो। त्यसो त कर्णको जन्म सार्वजनिक गरिएको भने थिएन। दरबारका केही सुसारेलाई मात्र थाहा थियो, कर्णको बारेमा। उचित अवसरमा सार्वजनिक गरेर युवराज घोषित गर्ने विचारमा थिए कुन्तीभोज।

कर्ण जन्मेको केही महिनापछि नै हस्तिनापुरबाट विवाहको प्रस्ताव आयो। हस्तिनापुरसँग सम्बन्ध गाँस्न राजा हच्किनुका केही कारण थिए। हस्तिनापुरमा नारी स्वतन्त्रता लगभग शून्यजस्तै थियो। स्त्रीहरूलाई पर्दाभित्र राख्न थालेका थिए। आर्यावर्तको उत्तर र उत्तरपश्चिम क्षेत्रमा भने नारीहरू अझै मुक्त थिए। युद्धमा भाग लिन चाहनेलाई रोक्ने चलन थिएन। आफूले चाहेका पुरुषसँग विवाह गर्न वा नगर्न उनीहरू स्वतन्त्र थिए। विवाहअघि नै सन्तान जन्माउने वा एकभन्दा बढी पुरुषसँग विवाह गर्नेजस्ता घटनालाई अस्वाभाविक मानिँदैनथ्यो। हस्तिनापुर त्यसको ठीक उल्टो थियो। एउटै पुरुषका एकभन्दा बढी पत्नी हुन सक्थे। उनीहरू एकभन्दा बढी स्त्रीसँग विवाह गर्न, दासीहरूसँग विवाहेतर सम्बन्ध राख्न र तिनबाट सन्तान जन्माउन पनि स्वतन्त्र थिए। सन्तान बढी चाहनेले दासीमा समेत नियोग विधिबाट गर्भाधान गराउँथे।

उनीहरू उत्तरतिर विद्यमान नारी स्वतन्त्रतालाई घृणा गर्थे भन्नेसम्म पनि सुनिन्थ्यो। धृतराष्ट्र दृष्टिविहीन भएकाले मात्र कन्याको खोजीमा यता आएका थिए। अझ कान्छा राजकुमार त जन्मजात चेचकका विमारमात्र होइन, पुंसत्वविहीन पनि छन् भन्ने हल्ला थियो। गान्धार राजकुमारीको पनि केही खोट थियो रे ! गान्धार प्रचलनअनुसार तिनको पहिल्यै भेडासँग विवाह गरिएको थियो। तर, विवाहलगत्तै त्यो भेडाको मृत्यु भएछ। यसरी विवाह गरिएको पशुको मृत्युलाई अपशकुन मानिन्थ्यो। यसले गान्धार नरेशलाई चिन्तित तुल्याएको थियो रे। त्यसैले, दृष्टिविहीनसँग विवाहको प्रस्ताव आएको अर्थ लगाएछन् उनीहरूले। त्यसमाथि हस्तिनापुरको प्रस्ताव अस्वीकार गर्नसक्ने आँट गान्धारसँग कहाँ हुनु ! तर, पृथाको त्यस्तो कुनै खोट थिएन।

दोस्रो कारण थियो, पृथाको पुत्र। हस्तिनापुरले पुत्रसहित पृथालाई स्वीकार्छ भन्नेमा कुन्तीभोजलाई विश्वास थिएन। एक त नपुंसक, त्यसमाथि भएको पुत्र पनि त्याग्न पर्‍यो भने पृथा कसोगरी बस्ली भनेर राजालाई चिन्ता थियो। त्यसो त, पृथाले त्यो पुत्र पिता कुन्तीभोजको लागि जन्माइदिएकी थिइन्। तैपनि भविष्यमा सन्तान जन्मिन नसक्ने हुँदा त्यही पुत्र पृथाको भरोसाको आधार हुन सक्थ्यो। नियोग भनेर उनीहरू आफूले छानेको पुरुषसँग समागम गर्न बाध्य पार्न सक्थे। पृथाजस्तो मुक्त स्वभावकी युवतीलाई त्यस्तो जबरजस्ती सह्य नहुन सक्थ्यो। तर, भीष्मको आँखा परेपछि उम्किन सकिन्न थियो। नदिए अपहरण गरेरै लैजान सक्थे। पृथाको भविष्यलाई लिएर कुन्तीभोजको निद्रा थिएन। शूरसेनको अगाडि कुन मुख देखाउनु भनेर पनि कुन्तीभोज उत्तिकै चिन्तित थिए।

पृथालाई बोलाउन पठाएर आफंैभित्र हराइरहेका कुन्तीभोजलाई पृथा खोपीमा प्रवेश गरेको पत्तो नै भएन।

पृथा नै बोलिन्, ‘पिताजी, हजुरबाट मर्जी भएको थियो ?’

कुन्तीभोजले भने, ‘हो पुत्री ! तिमी अब मेरी पुत्री मात्र होइनौ। राज्यकी राजकुमारी पनि हौ। तिम्रो बारेमा निर्णय गर्ने अधिकार तिमीमै छ।’

पृथा कुरा नबुझेर अलमलमा परिन्। भनिन्, ‘के मर्जी भएको पिताजी ?  फेरि यति राति ! मैले त केही पनि बुझिनँ।’

कुन्तीभोजले प्रस्ट्याउँदै भने, ‘हस्तिनापुरबाट तिम्रो लागि प्रस्ताव आएको छ।’

‘हस्तिनापुरबाट ? ’, पृथाको तर्सिएको आवाज निस्क्यो, ‘ती नेत्रहीनले फेरि अर्को बिहे गर्ने रे ?’

थकित आवाजमा कुन्तीभोजले भने, ‘नेत्रहीन नै भए पनि कम्तीमा पुरुष त हुन् ती। तर, तिम्रो लागि प्रस्ताव आएको तिनका भाइ पाण्डुको लागि हो। जन्मँदै चेचकको बिमार पाण्डु नपुंसक पनि छन् भन्ने हल्ला छ।’

‘त्यस्ताले विवाह किन गर्नुपर्ने नि पिताजी ?  हजुरले पृथाले मानिन भनिदिए भइहाल्छ नि।’

‘कुरा त्यति सजिलो छैन पुत्री। यिनै पाण्डु र धृतराष्ट्रका माताहरूलाई भीष्मले स्वयम्वर सभाबाट अपहरण गरेर लगेका थिए। परशुरामले समेत युद्ध गर्न नसकेर भागेका यी भीष्मको आँखा परेपछि बच्न मुस्किल छ पुत्री। राज्य बिस्तार र युद्धको नाममा पाण्डु दरबारमै पनि कम बस्छन्। धृतराष्ट्रको बास जहिल्यै दासीहरूको माझमा हुन्छ भन्ने सुनिन्छ। तर, पाण्डु दरबारमा हुँदा पनि एक्लै बस्छन् रे ! शक्तिको भरमा भीष्म जे पनि गर्न पछि पर्दैनन् पुत्री।’

‘सन्तानै जन्माउन नसक्ने नपुसंकको विवाहचाहिँ किन गरिदिनु परेको रहेछ पिताजी ?’

‘कुरा धेरै गहिरो छ पुत्री। यिनीहरू स्त्रीलाई आफ्नो सम्पत्ति ठान्छन्। आफूबाट सन्तान जन्मेन भने आफूले तोकेको व्यक्तिबाट गर्भाधान गराउँछन्। पाण्डु र धृतराष्ट्र पनि त्यसैगरी जन्मेका हुन्। कोही मन परेकी दासी छन् भने तिनमा समेत नियोग गराउँछन्। नियोगको लागि तोकिने पुरुषचाहिँ परिवारभित्रैको वा आफूले तोकेको नै हुनुपर्छ भन्ने यिनीहरूको मान्यता छ। विचित्रवीर्य तेस्रोलिंगी थिए भन्ने गाइँगुइँ हल्ला आर्यावर्तमा फैलिएको थियो। यिनलाई कसैले आफ्नी पुत्री दिने कुरै थिएन। आर्यावर्तमा भइरहने स्वयम्वर समारोहहरूमा हस्तिनापुरलाई निमन्त्रणा आउनै छोडेको थियो। त्यसैले भीष्मले कासीबाट राजकुमारीहरू अपहरण गरेर ल्याइदिएका थिए। कासीका दुई बहिनी राजकुमारीसँग यिनको विवाह त भयो तर सन्तान भने भएन। त्यसमाथि विवाह गरेको छोटो समयमै के कसो भएर हो यिनको मृत्यु भइहाल्यो।’

‘भनेपछि पाण्डु र धृतराष्ट्र यिनका माताका नियोग विधिबाट जन्मेका पुत्र हुन् त पिताजी ?        ’

‘त्यही त म भन्दैछु, सुन। यता विचित्रवीर्यको मृत्यु भयो, उता उनकी माता सत्यवतीले यी दुई दिदीबहिनीमा गर्भाधान गर्न भनी आफ्नो पहिलो छोरा व्यासलाई बोलाइन्।’

‘व्यास ?’

‘हो पृथा। सत्यवती एउटा मछुवारीकी पुत्री हुन्। राजा वसुको वीर्यबाट अद्रिका नामकी मछुवारीले यिनलाई जन्माएकी हुन्। सत्यवती एकदमै सुन्दरी थिइन् रे ! पराशर ऋषि यमुनाको घाटमा यिनलाई देखेर मोहित भएछन्। ऋषिको अगाडि यी आदिवासीको के जोर चल्थ्यो ! ऋषिले जबरजस्ती आफ्नो कुटीमा लगे यिनलाई। एउटा पुत्र जन्माइदिएपछि मात्रै यिनी पराशरको कैदबाट मुक्त भइन्। पराशरबाट जन्मेको यिनको पुत्र नै व्यास हो। अहिलेका नामी पण्डित हुन् यी व्यास। सत्यवतीले यिनै व्यासबाट ती दुई बहिनीमा गर्भाधान गराइन्। आखिर जबरजस्ती भएको गर्भाधानबाट जन्मेको सन्तान किन सग्लो हुन्थ्यो ?  एउटा दृष्टिविहीन जन्मियो, अर्को चेचकको रोगी।’

‘अनि यी भीष्मचाहिँ को हुन् पिताजी ? यिनी किन हस्तिनापुरका राजा भएनन् ?’

‘सत्यवतीलाई विवाह गर्नुअघि शन्तनुले गंगा नामकी अर्की मछुवारीसँग बिहे गरेका थिए। गंगा पनि अप्रतिम सुन्दरी थिइन्। सुनेअनुसार गंगाले शन्तनुसँग आफूबाट जन्मेको सन्तानलाई युवराज बनाउनुपर्ने सर्त राखेकी थिइन् रे ! तर गंगाबाट जति पनि सन्तान जन्मे, ती सबै जन्मँदै मृत थिए। शन्तनुका पिता प्रतीपले पनि भरमग्दुर प्रयासपछि बुढेसकालमा यिनलाई प्राप्त गरेका थिए। आफ्नो समयमा शन्तनुलाई पनि कतै आफू निःसन्तान परलोक जाने त होइन भन्ने चिन्ता थियो। आफूले जन्माएका एकपछि अर्को सबै सन्तान मृत भएकाले गंगा पनि चिन्तित थिइन्। अचानक गंगाले शन्तनुलाई छोडेर गइन् भन्ने चर्चा चल्यो आर्यावर्तमा। हस्तिनापुरजस्तो शक्तिशाली राज्यको सानोभन्दा सानो कुरा पनि आर्यावर्तको चर्चाको विषय हुन्थ्यो।

एक दिन गंगा किनारमा घुम्दै गर्दा धनुषवाणको अनौठो अभ्यास गर्दै गरेको एउटा किशोरलाई देखेर शन्तनु आकर्षित भएछन्। वाणहरूको लस्कर लगाएर गंगाको धारलाई नै अन्तै मोडिदिएका थिए रे ती किशोरले। सोधपुछ गर्दै जाँदा ती किशोर आफूलाई त्यागेर जाने गंगाको पुत्र भन्ने पत्तो लगाए शन्तनुले। गंगाले तिनको नाम देवव्रत राखेकी थिइन्। शन्तनुलाई छाडेर गएपछि गंगाले राजा वसुबाट जन्माएकी रहिछन् देवव्रतलाई। आफूले त्याग गरेकी सीताबाट जन्मेका लव र कुशलाई रामले पनि अपनाएका थिए भन्ने उदाहरण दिएर शन्तनुले देवव्रत आफ्नो पुत्र भएको दाबी गरेछन्। उसमाथि गंगाले आफ्नो गर्भवाट जन्मेको पुत्र गद्दीको उत्तराधिकार हुनुपर्ने सर्त राखे पनि शन्तनुलाई कुनै पुत्र दिन सकेकी थिइनन्। गंगा आफ्नो वचनले मात्र बाँधिएकी थिइनन्, देवव्रत हस्तिनापुरको राजा हुने भयो भन्ने लोभले पनि यिनलाई तान्यो। यी भीष्म तिनै देवव्रत हुन्। गंगाले दिएको हुनाले शन्तनु यिनलाई गंगादत्त भनेर पनि बोलाउँथे।’

‘भनेपछि भीष्म शन्तनुका पुत्र होइनन् ?’

आफ्नी पत्नीबाट जन्मेको सन्तान आफ्नै हुन्छ भन्ने परम्परा विकास गरेका छन् यिनीहरूले। यस्ता विवाद पहिला पनि हुन्थे। वृहस्पतिकी पत्नी ताराबाट चन्द्रमाले बुधलाई जन्माए। पछि वृहस्पतिले बुधमाथि आफ्नो दाबी गरेका थिए। वृहस्पतिले पनि भाउजू ममताबाट एउटा पुत्र जन्माए। त्यो पुत्रमा वृहस्पति र उनका दाजु उतथ्यको विवाद भयो। दुवैले दाबी गरे। विवाद बढेकाले ती बालकको लालनपालनका लागि अन्तै दिनु परेको थियो। पछि गएर ती भारद्वाज नामले प्रसिद्ध भए। देवव्रतलाई पनि शन्तनुले परम्पराअनुसार नै आफ्नो पुत्र स्वीकारेका हुन्।

तर पछि सत्यवतीलाई देखेर यी मोहित भए। सत्यवतीको सुन्दरताको चर्चा हस्तिनापुरसम्मै फैलिएको थियो। सत्यवतीको बारेमा यिनलाई केही थाहा थिएन, केवल यमुना किनारको एक मल्लाहको पुत्री भन्नेबाहेक। सत्यवतीको पनि आग्रह के थियो भने आफूबाट जन्मेको सन्तान नै युवराज हुन पाउनुपर्छ। जब देवव्रतले यो कुरा थाहा पाए, उनी सत्यवतीको बारेमा बुझ्न आइपुगे। सत्यवती त अद्रिका नामकी मछुवारीले राजा वसुको वीर्यबाट जन्माएको पुत्री रहिछन् भन्ने यिनले पत्तो पाए। सहोदरा नभए पनि एकै पिताका वीर्यबाट जन्मेको सन्तान भन्ने थाहा पाएपछि यिनलाई एउटा जोश चढ्यो। आजीवन ब्रह्मचारी रहने भनेर यिनले त्यहीँ नै घोषणा गरिदिए। त्यसपछि यिनको नाम भीष्म भएको हो। वास्तवमा यी पनि पुंसत्वहीन छन् भन्ने हल्ला आर्यावर्तमा छ। विवाह गर्ने उमेर भइसक्दा पनि त्यसप्रति कुनै चासो नदेखाएकोले वंश चलाउन शन्तनुले आफैँ विवाह गरेका हुन् भन्ने कुरा पनि सुनिएको हो। आफ्नो नपुंसकत्वलाई ढाक्न ब्रह्मचारी बन्ने हल्ला चलाएका हुन् पनि भन्छन्। सही कुरा कसैलाई पनि थाहा छैन।

सत्यवतीलाई शन्तनुले विवाह गरेपछि भीष्म हस्तिनापुरमा बसेनन्, गंगा किनारमा आश्रम बनाएर बस्न थाले। शन्तनु र उनीहरूको ज्येष्ठ पुत्र चित्रांगदको पनि मृत्यु भएपछि मात्र सत्यवतीको अनुरोधमा हस्तिनापुर दरबारमा बस्न थालेका हुन्, भीष्म। अहिले भीष्मको संरक्षकत्वमा हस्तिनापुर आर्यावर्तमा अजेय भएको छ। तर, हस्तिनापुरलाई सक्षम उत्तराधिकारीको संकट परिरहेको छ। भीष्म त्यो समस्या समाधान गरेर मात्र हस्तिनापुरबाट बिदा हुन चाहन्छन् भन्ने चर्चा छ।

पिताबाट यति कुरा थाहा पाएपछि पृथाले सोधिन्, ‘अब सन्तान नै जन्माउन नसक्ने नपुंसकको विवाहको के अर्थ पिताजी ? मैले त केही बुझ्नै सकिनँ। विवाह भनेको त सन्तान जन्माउनकै लागि हो भनेर शास्त्रमा भनिएकै छ। पाण्डुलाई विवाह होइन, घरपरिवारको भावनात्मक सहयोग पो चाहिन्छ त !’

कुन्तीभोजले भन्दै गए, भीष्म आफूलाई कुरु वंशको संरक्षक ठान्छन्। कुरु वंशमा सन्तानको संकट हुन थालेको दुईचार पुस्तै भइसक्यो। अब भीष्म चाहन्छन्, कुरुवंशमा थुप्रै उत्तराधिकारी होऊन्। गान्धार कुमारीले शिवको कठोर व्रत बसेर सयवटा छोराकी आमा बन्ने वरदान पाएकी छन् भन्ने हल्ला आर्यावर्तमा फैलिएको थियो। भीष्मको आँखा गान्धारजस्तो सुदूर उत्तरमा पुग्नुको पछाडि यो हल्लाले पनि काम गरेको हुनुपर्छ। धृतराष्ट्रको दासीहरूसँग समय बिताउनेबाहेक केही कामै छैन भनेर बताउँछन् हस्तिनापुरबाट फर्कनेहरू। धृतराष्ट्रले दासीहरूबाट सन्तान जन्माउन सक्थे। तर, त्योभन्दा पहिल्यै कुरुवंशको औपचारिक उत्तराधिकारी धर्मानुसार नै जन्मिऊन् भन्ने भीष्म र सत्यवतीको चाहना हुन सक्छ। राज्य त भीष्मले नै चलाएका छन्। लडाइँको मोर्चामा पाण्डुलाई पठाउँछन्, भीष्म। आर्यावर्तको एक एक सूचना भीष्मकहाँ पुग्छ। तिम्रो बारेमा पनि भीष्मलाई राम्रो जानकारी छ। तिमीले भोगेको स्वतन्त्रता र हाम्रो समाजको उदारताको कारण तिमी अम्बिका र अम्बालिकाजस्ती संकुचित र भीरू स्वभावकी छैनौ भन्ने भीष्मले सोचेका हुन सक्छन्।

‘त्यसो भए पिताजी, मेरो कर्ण हस्तिनापुरको युवराज हुन पाउँछ त ?        ’

कुन्तीभोजले निराश मुद्रामा भने, यो म भन्न सक्दिनँ पुत्री। भीष्मको मनमा कस्तो योजना छ ! त्यसो त हस्तिनापुरको गद्दी नियमानुसार धृतराष्ट्रको हो। गद्दी धृतराष्ट्रका छोराले नपाईकन पाण्डुका छोराले कसो गरी पाउलान् !

‘म एउटा अनुरोध गर्छु पिताजी। हजुरको कुरा सुन्दा हामी यो विवाह अस्वीकार गर्न सक्ने अवस्थामा छैनौं। तर, प्रस्ताव स्वीकार गर्नुअघि म भीष्मसँग छलफल गर्न चाहन्छु, आखिर उनी के चाहन्छन् ?        कर्ण मैले हजुरको लागि जन्माइदिएको हो। अब पाण्डुसँग विवाह गरेपछि म सन्तानवती हुन पाउने इच्छाको नियन्त्रण कसले गर्छ भन्ने म जान्न चाहन्छु।’

छोरीको कुराले कुन्तीभोज प्रसन्न भए, ‘पुत्री, तिमी बुद्धिमती मात्रै होइन, बहादुर पनि छ्यौ। तिम्रो कुराले मेरो मनलाई धेरै हलुका गराइदिएको छ। अब जाऊ पुत्री, म पनि ढुक्कले सुत्छु। तिम्रो प्रस्तावलाई म भाका मिलाएर दूतमार्फत भीष्मकहाँ पुर्‍याउँछु।’

२.

सेनासहित भीष्म आउँदैछन् भन्ने समाचार दूतले पहिल्यै ल्याइपुर्‍याएको थियो। नगर प्रवेश गर्नुअगावै स्वागत गर्न आइपुगेका कुन्तीभोजलाई देखेर भीष्म प्रसन्न भए। राजाको साथमा हात जोडेर उभिएकी भव्य व्यक्तित्वकी युवतीलाई देखेर भीष्म एकपटक त के गरौं, कसो गरौंझैं देखिए। कुनै युवतीले यसरी स्वागत गरेको उनले पहिलोपटक देखेका थिए।

‘महाराज, यी मेरी पुत्री पृथा ! हामीकहाँ हस्तिनापुरको जस्तो पर्दा प्रथा छैन। पृथा मेरी सल्लाहकार पनि हो। राजकाजमा यिनको सहयोग लिने गरेको छु।’ कुन्तीभोजले सविस्तार परिचय गराइदिए।

यस्ती जुझारु र प्रभावशाली व्यक्तित्वकी युवतीलाई हस्तिनापुरको दरबारमा भिœयाउँदा समस्या त खडा हुँदैन भनेर भीष्म एकछिन अलमलिए पनि। खासमा कुन्तीभोजजस्तो सामान्य राजाले बोलाउँदैमा भीष्मजस्तो शक्तिशाली व्यक्ति आउनेवाला थिएनन्। भीष्मले कुन्तीभोजलाई नै हस्तिनापुर झिकाउन सक्थे। तर, कुरा पृथाको थियो। सके कुरा मिलाउने, नमिले अपहरण गरेरै लैजाने मनशायले सेनासहित उपस्थित भएका थिए भीष्म। पृथालाई देखेपछि भने उनको मनमा कुरा खेल्न थाल्यो। अनेक कुरा सोच्दै दरबारभित्र प्रवेश गरे भीष्म।

कुन्तीभोजले भीष्मलाई सोझै आफ्नो गोप्य मन्त्रणा कक्षमै लगे। कुशलक्षेम सोधपुछपछि भीष्म सोझै विषयमा प्रवेश गर्न चाहे, ‘महाराजले मसँग के छलफल गर्न चाहनुभएको हो, प्रस्ट पार्न अनुरोध गर्छु।’

कुन्तीभोजले राजनीतिक चतुरतापूर्वक तर यथोचित नरम भएर आफ्ना कुरा राखे, ‘हस्तिनापुरबाट राजकुमार पाण्डुका लागि पठाएको प्रस्ताव प्राप्त भयो। महाराज ! पाण्डुका बारेमा विभिन्न चर्चा सुन्नमा आएका छन्। राजकुमारी पृथा पनि सबै खबरहरूसँग जानकार छिन्। खासमा महाराजसँग छलफल गर्ने पृथाकै चाहना हो।’

पृथातिर फर्किंदै भीष्मले सोधे, ‘भन पुत्री, के सोध्ने इच्छा छ। विवाहजस्तो कुरामा जबरजस्ती गर्ने भीष्मको नीति छैन। मलाई आफ्नै पितासमान ठानेर आफ्नो कुरा भन पुत्री।’

पृथालाई सुनेभन्दा बेग्लै स्वभावको लाग्यो भीष्म। उनले पनि निर्धक्क भएर भनिन्, ‘महाराज ! हस्तिनापुरमा स्त्रीहरू स्वतन्त्र छैनन् भन्ने सुनेको छु। यहाँ स्वतन्त्र रूपले हुर्केकी मलाई अप्ठेरो त पर्दैन भनेर मलाई चिन्ता छ।’

भीष्मले तुरुन्तै जवाफ दिए, ‘पाण्डुका लागि मलाई तिमीजस्तै वधू चाहिएको हो। गान्धार कुमारीजस्तो आँखामा पट्टी बाँध्ने होइन। पाण्डुको बारेमा चलेका हल्ला कति सत्य हुन्, कति असत्य हुन् म यसै भन्न सक्दिनँ तर धृतराष्ट्रजस्तो दासीहरूको माझमा उसलाई आजसम्म देखिएको छैन। उसबाट सन्तान नहुन पनि सक्छ। मैले तिम्रो बारेमा सबै कुरा सुनेको छु। यहाँसम्म कि तिम्रो पुत्रको कुरा पनि मलाई थाहा छ। यति थाहा पाएरै म पाण्डुको लागि तिम्रो हात माग्न आएको हुँ। कदाचित् नियोग विधि अपनाउनु पर्‍यो भने तिमीले खुसीसाथ सहयोग गर्छ्यौ भन्ने मलाई विश्वास छ। खास कुरा के भने म पाण्डु र धृतराष्ट्रमार्फत कुरुवंशको वंशवृक्ष गुल्जार गरिदिन चाहन्छु।’

भीष्मको उदार कुरा सुनेर एकक्षण त पृथालाई आनन्द पनि लाग्यो। परिस्थितिले मान्छेलाई कति लचकदार बनाउँदो रहेछ भन्ने सोच्दै सोधिन्, ‘राजकुमार पाण्डुबाट सन्तान जन्मन सकेन भने मैले मेरो यो पुत्रलाई हस्तिनापुरको दरबार लैजान सक्छु त महाराज ?’

पृथाको यो प्रश्नमा चाहिँ भीष्म कठोर देखिए, ‘तिम्रो कुरा हस्तिनापुरमा मलाईबाहेक कसैलाई थाहा छैन। हस्तिनापुरमा पुत्रसहितकी पुत्रवधु भित्र्याउन सकिँदैन। विवाहपछिको नियोगलाई हामी स्वीकार्छौं तर विवाहअघि जन्मेको कानीन सन्तानलाई उत्तराधिकार दिन भने सम्भव छैन।’

भीष्मको कुराले कुन्तीभोज केही खुसी पनि देखिए। पृथाको त्यो पुत्र कुन्तीभोजको उत्तराधिकारी हुनेवाला थियो। भीष्मले हस्तिनापुर लैजान चाहेको भए रोक्न सक्ने हैसियत कुन्तीभोजको थिएन। प्रकटमा उनले भने, ‘पृथाको पुत्र मसँगै रहन्छ। मेरा अरू कोही सन्तान पनि त छैनन्।’

भीष्मको अनुहारमा कठोरता अझ बढ्यो, ‘महाराज कुन्तिभोज, यो बालक यहाँ पनि नराख्न म अनुरोध गर्छु। म चाहन्नँ कि पृथाको विवाहअघि नै कोही सन्तान थियो भन्ने कुरा हस्तिनापुरमा कसैलाई थाहा होस्। यहाँ सामान्य लाग्ने यो कुरा हस्तिनापुरमा असामान्य मानिन्छ। यहाँको दरबारको गोप्य कुरा भए पनि मेरा चरहरूले मलाई सबै जानकारी गराएका छन्।’

‘त्यसो भए महाराज मेरो पुत्रलाई म गंगामा बगाइदिऊँ त ?’, पृथा उत्तेजित भइन्।

कुटिल हाँसोसहित भीष्मले जवाफ फर्काए, ‘गंगामा बगाउनु पर्दैन पुत्री। त्यसको लागि म योजनासहित आएको छु। म आफैं यहाँ आउनुको उद्देश्य तिम्रो पुत्रको उचित व्यवस्थापन पनि हो।’

भीष्मले प्रयोग गरेको ‘व्यवस्थापन’ शब्द सुनेर पृथालाई भित्रभित्रै उठ्नु रिस उठ्यो। अर्काको सन्तानको व्यवस्थापन भीष्मले गर्ने ? संयमित हुँदै पृथाले जवाफ दिइन्, ‘मेरो पुत्रको अज्ञात व्यवस्थापनप्रति मेरो सहमति छैन। बरु म गंगामै बगाइदिन्छु। डुंगामा राखेर छोडिदिए कसै न कसैले फेला पारेर धर्मपुत्र बनाउला।’ यति भनिसक्दा नसक्दै पृथाको हिक्का छुटिहाल्यो। हातले मुख थुन्दै कक्षबाट बाहिरिइन् पृथा।

पृथाको रुवाइले एकछिन भीष्मको पनि बोली बन्द भयो। कुन्तीभोज पनि चुपचाप थिए। रसिला आँखा लिएर पृथा एकैछिनमा कक्षमा प्रवेश गरिन् र सोधिन्, ‘मेरो पुत्रको भविष्यबारे महाराजको के आदेश हुन्छ ?        ’

गम्भीर मुद्रामा भीष्मले जवाफ दिए, ‘बेलाबेला देख्न पाउने व्यवस्था म गर्न सक्छु तर त्यसको लागि तिमीले यो कुरा गोप्य राख्नुपर्छ। कदाचित् पाण्डुबाट तिम्रो सन्तान भएन भने पाण्डुकै अनुमतिमा तिमीले दुर्वासाले दिएको मन्त्र प्रयोग गरेर रोजेको पुरुषबाट सन्तान जन्माउन सक्छ्यौ तर यो पुत्रलाई अपनाउन चाहिँ सक्दिनौ। यो बालकबाट कुरु वंश विस्तार हुन सक्दैन।’

कुन्तीभोज र पृथा दुवै चुपचाप थिए। भीष्मले के भन्न लागे भनेर दुवै चिन्तातुर थिए। भीष्मको प्रतिवाद गर्नसक्ने अवस्थामा उनीहरू थिएनन्। कुन्तीभोज आफ्नो उत्तराधिकारी आफूबाट छिनिन लागेकोमा थप चिन्तित थिए। उनलाई के प्रस्ट थियो भने यो बालक आफूबाट छिनिएपछि पृथाले जन्माउने अर्को बालक प्राप्त गर्न पनि सक्नेछैनन्।

भीष्म बोले, ‘म यो बालकलाई हस्तिनापुरमै व्यवस्था गरिदिन्छु। शिक्षादीक्षाको व्यवस्था पनि म मिलाइदिन्छु। तिमीले टाढाबाट हेर्नचाहिँ सक्छ्यौ तर नजिक जान, कुराकानी गर्न पाउँदिनौ। अधिरथ नामको दरबारको एक सारथि सन्तानहीन छ। तिम्रो पुत्रजस्तो बालक पाएर ऊ पनि धन्य हुनेछ। तिम्रो पुत्र हो भन्ने कुरा उसले पनि थाहा पाउन हुँदैन। अधिरथ अहिले मेरो सारथि बनेर यहीँ आएको छ। भोलि उज्यालो नहुँदै तिम्रो पुत्रलाई गंगाको किनारामा पुर्‍याएर छाडिदिनू। म त्यही बाटोबाट जाँदा तिम्रो बालकको उद्धार गरेर अधिरथको जिम्मा दिन्छु। यो वचनमा कुनै तलमाथि हुँदैन। पुत्रको जीवनरक्षाका लागि तिमीले कुनै चिन्ता गर्नु पर्दैन।’

‘एक क्षत्रीय पुत्र एउटा सुतको घरमा पालिने भयो। सुतपुत्र भनेर उसले समाजमा अपहेलित हुनुपर्‍यो भने ? क्षत्रीयोचित शिक्षादीक्षा पो कहाँ पाउँछ उसले ? भोलि आफ्नै भाइहरूको रथ हाँक्ने दिन पनि आउला मेरो पुत्रको !’, पृथाको बोली रोकियो। यहाँभन्दा बढ्दा बोल्न सकिनन्।

भीष्मको अनुहारको कठोरतामा कुनै परिवर्तन आएन। बोलीमा भने थोरै नरमपना थियो। आश्वस्त पार्दै भने, ‘पुत्री ! विधिको विधान भनेर अलिकति तिमीले पनि स्वीकार्नैपर्छ। सुतपुत्र भनिए पनि घोडाको स्याहार गर्ने र सारथि नै बन्ने स्थिति आउनेछैन भनेर म वचन दिन्छु। क्षत्रियोचित शिक्षादीक्षा दिलाउने जिम्मा मेरो भयो। गंगाको किनारमा फेला परेपछि तिम्रो पुत्र पनि मजस्तै गंगादत्त नै हुन्छ। सुतपुत्रको पहिचानबाहेक मजत्तिकै सक्षम बन्नसक्ने गरी शिक्षा दिलाउने वातावरण म तयार गर्छु। तिमी जस्तीको गर्भबाट जन्मेको बालक आफैं क्षमतावान् हुन्छ भन्ने मेरो अन्तस्करणले भनिरहेको छ। तिम्रो कोखबाट जन्मेको सन्तानले कुरुवंश कृतार्थ हुनेछ भन्ने मलाई विश्वास छ।’

पृथा र कुन्तीभोजको भन्नु केही बाँकी रहेन। भीष्मले भने, ‘भोलि बिहान पृथाको पुत्र मसँग जान्छ। अँध्यारोमै गोप्य रूपमा गंगा किनारमा पुर्‍याउने तयारी गर्दै गर्नुस्। सूर्यले प्रदान गरेको कवच पनि साथमा राखिदिन नबिर्सनु ! अनि चाँडै नै विशेष साइतमा पृथाको स्वयम्वरको योजना बनाउनुहोला। पृथाले पाण्डुलाई स्वयम्वरमै वरण गर्नेछिन्। पाण्डुको विवाह आर्यावर्तका राजा, राजकुमारहरूका समक्ष धूमधामले हुनेछ।’

कुन्तीभोजले बुझे कि भीष्म पाण्डुको बारेमा चलेको हल्लाको जवाफ पनि पृथामार्फत दिन चाहन्छन् तर उनीसँग कुनै जवाफ थिएन। भीष्म आसनबाट उठिसकेका थिए। निरीह कुन्तीभोज भीष्मलाई अतिथिशालाको बाटो देखाउँदै अगाडि बढे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.