'जिन्दगीसँग सन्तुष्ट छु'

'जिन्दगीसँग सन्तुष्ट छु'

महान् वैज्ञानिक स्टेफन हकिङले १४ मार्चमा संसारबाट बिदा लिए। उनका बारेमा ‘द गार्जियन’ले लेख्यो, ‘आफ्नो शारीरिक दुर्वलताका बीच हकिङ जिन्दगीको बारेमा जहिल्यै सकारात्मक भए। उनी आफ्नो काममा रमाउँथे। अरू वैज्ञानिकको अफिसमा पुग्थे। यात्रामा निस्कन्थे। छोराछोरीसँग बसेर गफ गर्न आनन्द मान्थे। सामाजिक समस्याहरूप्रति चासो राख्थे। कलाकारिता उनलाई मन पर्ने विधा थियो।’ वैज्ञानिक स्टेफन हकिङको चरित्र हो यो।

उनै हकिङले एकपटक भनेका थिए, ‘मेरो लक्ष्य भनेको ब्रह्माण्डलाई बुझ्नु हो। यो किन यस्तो छ र यसको अस्तित्व किन भयो भनेर पत्ता लगाउनु हो।’ उनले जिन्दगीको महत्वपूर्ण समय ‘क्वान्टम थ्योरी’ र आइन्सटाइनको ‘रिलेटिभी थ्योरी’लाई संयोजन गरेर ‘थ्योरी अफ एभ्रिथिङ’को उत्पादन गर्नमै लगाए। यसका लागि उनले काम गरिरहेका थिए। वैज्ञानिकका रूपमा उनको सफलता भनेको ‘ब्ल्याक होल’को बुझाइमा ‘बे्रक थु्र’ हुनु हो।

ब्रह्माण्डलाई बुझ्न हिँडेका यी महान् वैज्ञानिकबारे उनका छोराछोरीले मार्च १४ मा एउटा वक्तव्य निकालेर भने, ‘हाम्रो बुवाको मृत्यु भएको छ। हामीलाई यस घटनाले आघात पु¥याएको छ। हामी दुःखी छौं।’ परिवारसहित सारा संसारलाई नै दुःखी बनाएर सदाका लागि बिदा भएका छन् हकिङ।

उनको मृत्युमा बेलायती प्रधानमन्त्री थेरेसा मेले सामाजिक सञ्जालमा भनेकी छन्, ‘ब्रिलियन्ट एन्ड एक्स्ट्राअर्डिनरी माइन्ड। वन अफ द ग्रेट साइन्टिस्ट अफ आवर जेनेरेसन।’ अर्थात्, तेजावी र असामान्य दिमागका स्टेफन हकिङ हाम्रो पुस्ताका महान् वैज्ञानिक थिए।

८ जनवरी १९४२ मा भएको थियो, हकिङको जन्म। २१ वर्षको हुँदा न्युरोको समस्याबाट ग्रसित भएका थिए, उनी। सन् १९६३ मा न्युरोको समस्या देखिएपछि डाक्टरले उनलाई बढीमा दुई वर्ष बाँच्नुहुन्छ भनेका थिए। तर, उनको शारीरिक अवस्था केही सुध्रियो र उनी आधा शताब्दीभन्दा केही बढी वर्ष नै बाँच्न सफल भए। उनी जन्मिएकै दिन अर्का महान् वैज्ञानिक ग्यालिलियोको मृत्यु भएको तीन सय वर्ष पुगेको थियो। यसलाई अनौठो संयोग मान्न सकिन्छ।

हकिङका बुवा फिजिसियन थिए भने आमा लिबरल पार्टीकी सदस्य थिइन्। उनका आमाबाबु नै अक्सफोर्ड विश्वविद्यालयका उत्पादन हुन्। चारजना छोराछोरीमध्ये सबैभन्दा जेठा हुन्, हकिङ। पढाइमैत्री परिवारमा जन्मिएका उनी पुस्तककै बीचमा हुर्किए।

संसारलाई नयाँ तथ्यबारे जानकारी दिलाउने यी वैज्ञानिक सानोमा भने अलि अल्छी स्वभावका थिए। सोखिन हुन खोज्थे उनी। उनले ख्यालख्यालमै स्कुले पढाइ सकाए। त्यस बेलासम्म उनमा शारीरिक समस्या थिएन। अक्सफोर्ड विश्वविद्यालयमा भर्ना भएपछि पनि पढाइमा कम ध्यान दिने उनको बानी हटेन। साथीहरूसँग मस्ती गर्दै समय बिताउँथे। साथीसंगती जम्मा गरेर पार्टीमा जान्थे। पार्टीमा आधा रातसम्म झुम्थे।

हकिङले आफ्नो ‘मेमोयर’मा लेखेका छन्, ‘स्कुले जीवनमा फिजिक्स पढ्न दिक्क लाग्थ्यो। दिक्क यसकारण कि यो निकै सजिलो लाग्थ्यो। रसायनशास्त्र मनोरञ्जनात्मक थियो, यहाँ नसोचेको कुरा हुन्थ्यो। तर, फिजिक्स र एस्ट्रोनोमीले हामी कहाँबाट आयौं र किन यहाँ छौं भनेर जान्न आशा दिन्थ्यो। म ब्रह्माण्डबारे जान्न चाहन्थेँ।’

हकिङले सन् १९६२ मा ग्राजुएट सकाए। तर, कम नम्बर ल्याएर पास भए। उनले ल्याएको नम्बरले मुस्किलले मात्रै क्याम्ब्रिज युनिभर्सिटीमा डक्टरेट पढ्न पाए। उनले एकपटक ‘ओम्नी म्यागेजिन’सँग भनेका थिए, ‘म जहिल्यै वस्तुहरूले कसरी काम गरिरहेको छ भनेर जान्न चाहन्थेँ।’

सन् १९६६ मा हकिङले आफ्नो डक्टरेट लिए। त्यसपछि उनी क्याम्ब्रिज विश्वविद्यालयमा प्रोस्ट ग्राजुएट अनुसन्धानदाताका रूपमा भर्ना भए। आफ्नो पीएचडी सकाएसँगै उनले आफूलाई ‘लुकासियन प्रोफेसर अफ म्याथम्याटिक्स’का लागि उपयुक्त पात्रका रूपमा उभ्याए। रोचक के छ भने यही हैसियतका लागि तीन सय वर्षअघि सर आइज्याक न्युटन नियुक्त भएका थिए।

‘म मृत्युसँग डराउँदिनँ। तर, यसको अर्थ मर्न हतारिएको होइन। मैले गर्न चाहेका काम धेरै छन्। तिनलाई पूरा गर्नु छ।’

उक्त पोस्टमा बसेर उनले भौतिक विज्ञानका क्षेत्रमा नयाँनयाँ तथ्यहरू खोजी गर्न थाले। विषद् अनुसन्धानसँगै उनको नाम विस्तारै वैज्ञानिकहरूको माझमा अग्रपंक्तिमा आउन थाल्यो। अन्ततः उनी आफ्ना खोजबाट भौतिक विज्ञानमा छुटाउनै नहुने संसारकै प्रसिद्ध र महान् वैज्ञानिकका रूपमा चिनिए।

हकिङले विज्ञानकै तथ्यहरूमा आधारित रहेर सन् १९८८ मा ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ नामक पुस्तक लेखे। उनको उक्त पुस्तक आज पनि संसारमा खोजीखोजी पढिन्छ। उक्त पुस्तकले ब्रह्माण्डको उत्पत्ति र अन्त्यमाथि नयाँनयाँ तथ्यहरू प्रस्तुत गरेको छ। उनले सधैं यस्तै असामान्य विषयमाथि कलम चलाइरहे। २० भन्दा धेरै भाषामा अनुवाद भएको सो पुस्तक बुझ्न निकै कठिन भएको भन्दै केहीले आलोचनासमेत गरे। त्यस्तै उनको ‘द युनिभर्स इन अ नटसेल’ पनि निकै चर्चा कमाएको पुस्तक हो।

हकिङलाई सफलताको शिखरमा पु¥याउन उनकी श्रीमती जेन वाइल्टको पनि ठूलो भूमिका रह्यो। जेन र हकिङ एउटै कलेजमा पढ्थे। कलेज पढ्दापढ्दै उनीहरूको बीचमा प्रेमसम्बन्ध झाँगिएको थियो। सन् १९६५ मा उनीहरू वैवाहिक सम्बन्धमा गाँसिए। हकिङको शरीरलाई पूर्ण रूपमा प्यारालाइसिस हुनुभन्दा पहिले नै उनीहरूको तीनवटा बच्चा भइसकेको थियो।

पारिवारिक जीवन राम्रो चलिरहेको थियो। तर, उनलाई प्यारालाइसिसले झनै सताउन थाल्यो। उनको शरीर एकपछि अर्को गर्दै चल्न छाड्यो। शरीर विस्तारै कमजोर हुन थाल्यो। अन्ततः उनलाई पूर्ण रूपमा प्यारालाइसिस भयो। अब हरेक काम उनले कम्प्युटरबाट गर्नुपर्ने भयो। किबोर्डमा औंला थिचेर भ्वाइस सिन्थेसाइजरमार्फत उनी आफ्नो कुरा राख्न थाले।

हकिङ त्यही प्रविधिको सहारामा चिलीदेखि चाइनासम्म स्पिच दिँदै हिँडे। विज्ञानमा गरेको कामले उनलाई विश्वभरि चर्चित बनाउँदै थियो। सन् १९९० मा लस एन्जलसमा हकिङले भनेका थिए, ‘कुनै बेला यो मिडियाले अल्बर्ट आइन्स्टाइनलाई हिरो बनाएको थियो। अहिले मलाई बनाउँदै छ।’

विज्ञानका हिरो हकिङ धर्मभिरुहरूबाट सन् २०१० मा निकै आलोचित बने। त्यस बेला उनले ‘यो संसारलाई अघि बढाउन भगवान्को कुनै भूमिका छैन’ भनेका थिए। सन् २०११ मेमा गार्जिएनलाई दिएको ‘दियर इज नो हेभन, इट इज अ फेरि स्टोरी’ शीर्षकको अन्तर्वार्तामा उनले आफूसँग धार्मिक विश्वास नरहेको बताएका थिए।

सन् २०१३ मा उनले एउटा मेमोयर प्रकाशित गरे जसमा विशेष गरी ‘मोटर न्युरोन’बाट पीडित भएपछि उनको भोगाइलाई उल्लेख गरिएको छ। सोच्दै नसोचेको रोगबाट थलिएपछि हकिङले भनेका थिए, ‘यो कस्तो आपत् आइलाग्यो ! यो मलाई के भयो, किन भयो !’

हकिङको जिन्दगीको रेखा बांगोटिंगो गरी अघि बढिरह्यो। बीबीसीले सन् २००२ मा उनकी आमा इजोबेलासँग अन्तर्वार्ता लिएको थियो। उनकी आमाले भनेकी थिइन्, ‘ऊ एकदमै साधारण। पार्टीहरूमा जान मन पराउँछ। उसलाई यात्रामा निकै चाख छ।’ हकिङ आफैंले पनि भनेका थिए, ‘म सोच्थेँ, मेरो जिन्दगी सकियो। तर ५० वर्षपछि सोच्दा मलाई लाग्छ कि म मेरो जिन्दगीबाट सन्तुष्ट छु।’

सन् २०११ मेमा न्युयोर्क टाइम्समा दिएको अन्तर्वार्तामा हकिङले ‘डिस्याबिलिटी’हरूलाई भनेका थिए, ‘तपाईंहरू आफ्नो काममा केन्द्रित हुनुहोस्। आफ्नो शारीरिक समस्याले तपाईंलाई हस्तक्षेप नगर्ने काममा केन्द्रित हुुनुहोस्। आत्मैदेखि कहिल्यै कमजोर नबन्नुहोस्।’

आज हकिङको मृत्युले संसारलाई स्तब्ध बनाएको छ। माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलाले उनको मृत्युमाथि भनेका छन्, ‘हामीले आज महान् व्यक्तित्वलाई गुमायौं। विज्ञानमा उनको अविश्वसनीय योगदानलाई विश्वभरिका मान्छेले सम्झनेछन्।’

सन् २०११ मे १५ का दिन स्टेफन हकिङले ‘द गार्जियन’लाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘म मृत्युसँग डराउँदिनँ। तर, यसको अर्थ मर्न हतारिएको हैन। मैले गर्न चाहेका कामहरू धेरै छन्। तिनलाई पूरा गर्नु छ।’ अल बिदा हकिङ...।

-एजेन्सीहरूको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.