झ्वार्रझ्वार्र मोती !
‘मोती नकिनी हुन्छ र !’
दोहाबाट नेपाल फर्किने साँझमा पवित्राले भनिन्।
उनलाई कतारमै चिने पनि ती एकदमै हार्दिक र स्नेही भइहालिन्। अझ उनका श्रीमान् त झनै मित्रवत्। कतार घुमाउनमा उनको मन रह्यो औधी नै फुक्काफाल।
अनि कता–कताबाट पवित्राको बाटो देखाइमा हामी पुग्यौं सौक वाकिफमा। बालुवा र बगरको बुङ्बुङ्तीका माझमा घोर अनौठो ठाउँ सौक वाकिफ।
यो कतारको प्रसिद्ध पर्यटकीय क्षेत्र रहेछ। जतासुकै कुइरेको हुलै हुल। माथि टाउकादेखि पैतालासम्म कालै लुगामा छोपिएका कतारी महिला सडकपारि देखिन्थे। यहाँ त मुस्किलले दुईबित्ते लुगामा छाती र कम्मर वरपर छोपिएर दगुरादगुर गरेकाहरू देखिएथे।
सौक वाकिफ काठमाडौंको ठमेल जस्तै रै’छ।
अनेक खालका सुन्दर गहना, लुगा, सजावट सामाग्री र खानेकुराले भरिभराउ पसलहरू। अग्ला हैन, यस्तै दुई तल्लेसम्मका चिटिक्क घरहरू।
‘अर्कै संसारमा आएँ त म ?’
सौक वाकिफ डुलिरहँदा मनमा कुरा खेल्छन्।
यो ठाउँमा अरूलाई आउन प्रतिबन्धै रहेछ। विदेशीबाहेक अरू आएमा प्रहरीले समातिहाल्दा रहेछन् झ्यापझुप।
जतासुकै पसलै मात्र थिए।
कम्मरदेखि माथि टाउकैसम्म विशेष पोसाकमा सजिएको एउटा मानिस बाजा बजाउँदै कफी बेचिरहेको थियो। उसको हाउभाउले नै कफी खान मन तुलबुल पारिरहेथ्यो।
मसँग टेकेन्द्र पौडेल पनि थिए। पवित्रा र उद्धव त यताउता पसलतिर पसिरहेका हुन्थे। मोलतोलमा तिनका बोली चलिरहेका थिए। बजारभाउ र सामानको लेखाजोखामा तिनको तन्मय थियो चर्को।
म त कस्तो अनौठो ठाउँमा पुगेँ भन्ने छक्कले नै थिचिरहेको थिएँ घरिघरि। आँखाले नै पत्याइरहेका थिएनन्।
सौक वाकिफमा मोती र सुन किनमेलका लागि प्रख्यात ठाउँ रहेछन्। यही किनमेलका लागि विदेशी र नेपालीको धुइरो लाग्छ रे यहाँ !
‘धेरै नेपाली सुन किन्नै भए नि आउँछन् !’
पवित्रा फुस्फुसाइरहेकी छन्।
म त सुन किन्नभन्दा नि यहाँका पसल, मान्छे, तिनका अनुहार, लुगा, उत्फुल्लता र गतिविधि हेर्नै हतारिएको छु। मलाई त अमूल्य सुन र गहनै लागिरहेका छन् तिनै।
कानुन र नियमले चपक्कै बाँधिएको देशमा विदेशीका निम्ति बढी खुल्ला पारिएको एक विशेष ठाउँमा पुग्दा एउटा भिन्नै सन्तोष, भाव र अनुभूतिले लुकामारी खेलेको ठानिरहेको छु म।
सौक वाकिफ जाने रहर मेरो निकै अघिदेखि नै थियो। मजराबाट फर्किंदा होम र सञ्जीवले लैजाने मन नि गरेकै थिए। अझ उनीहरूले मरुभूमिमा साँझको निख्खर अनुहार निहाल्ने हो भने सौक वाकिफ पुग्नैपर्ने सुझाव नि दिइरहेकै थिए।
हो, आज अनायासै पुगियो।
कतार पुग्दा महिलाका अनुहार राम्रोसँग देखेँ— मैले कसैलाई पनि यो कुरा भनिनँ। त्यहाँको समाज, संस्कृति र सभ्यता नै यही छेकाबारमा चलेको छ। खुल्ला वा उदारतिर त्यति उन्मुख लाग्दैनथ्यो जनजीवन।
तर सौक वाकिफमा कठोरताभित्रै पनि अर्कै संसारमा पुगेको छु भनेजस्तो वातावरण देखियो। भिन्नै परिवेश रहेको लाग्यो। स्वतन्त्रताको भिन्नै फूलबारीमा डुलिरहेजस्तो लागिरहेको छ मलाई।
नाके डाँडीसम्म कालै लुगाले छोपेका मुस्लिम महिला यहाँ खितखिताएर हाँसेको सुनेँ। तिनका अनुहारमा स्वतन्त्रताको उज्यालो फक्रेको ठानेँ मैले।
सबै विदेशीका लागि बनेका पसल, वाणिज्य स्थान र खरिदबिक्रीका केन्द्रले युरोप वा अमेरिकी रिवाजलाई चपक्कै अँगालेको लाग्थ्यो। सेता कपडा र कालो डोरी–फेटाले टाउको छोपिएका कतारीहरू हाम्रो बोली सुनेर सोध्थे, ‘नेवाली ?’
हरेक पसलेहरू माला सक्कली हो भनेर दाबी गर्थे। उनीहरू लाइटरको आगोले झ्वास्स पोल्थे माला।
कतारीमा ‘प’ उच्चारण रहेनछ। त्यै भएर उनीहरू नेपालीलाई ‘नेवाली’ भन्थे। भारतीयलाई उनीहरू ‘हिन्दी’ भन्थे।
मैले धेरै ठाउँमा ‘नो वार्क’ लेखिएको देखेको थिएँ। नो पार्क होला त्यो सायद !
‘मोतीको माला नकिनी काँ हुन्छ र ? ’
पवित्रा गौतमले हामीलाई पसल–पसलमा छिराइरहेकी छन्। म त दगुरिरहेको छु उनीहरूका पछि–पछि। उत्ति साह्रो रुचि पनि छैन मलाई त।
उनीहरूसँग लम्किरहे पनि खास मोती यहीँ भेटिरहेको छु। अनौठा ठाउँ, मानिसहरू, सहरको काइदा र व्यवहार, यी सबै नै मेरा लागि ‘मोती’ भएका छन्। हो, मोतीसरह नै।
सय रुपियाँदेखि लाख रुपियाँ पर्ने कतारी रियाल मूल्यका मोती किन्न पाइँदो रहेछ यहाँ। पसलेहरू हामीलाई मोतीका अनेक माला देखाइरहेका छन्।
म त छुन पनि सकिरहेको छैन। ती सेता, सुकिला मालाहरू। एउटै मालालाई नाक, घाँटी, कान, औंला र पाखुराका गहना बनाउन मिल्दो रहेछ।
एउटा लामो मोतीको माला पवित्राले छानिन्। पसले थियो, एकदमै उज्यालो अनुहारको कतारी। भर्खर जुँगा उम्रेको त्यो केटो फाट्टफुट्ट अंग्रेजीसमेत बोल्थ्यो।
खाली ‘यस–यस, नो–नो’ भन्थ्यो।
अरू कुरा बताउन धेरै शब्द कतारी, केही अंग्रेजी, हिन्दी लगायतका शब्द जोडजाड पारेर बल्ल पूरा गथ्र्यो। मेरा सयजना त नेपाली साथी नै छन्, तिनलाई गएको दस वर्षदेखि मैले नै मोतीको माला बेचिरहेको छु भन्यो पनि।
उसले यो भनेको मलाई निकै घत प¥यो, ‘मैले बेचेको माला हजुर आमाले लगाइन्। उनले मगाएर आफ्नी छोरीलाई बिहेमा उपहार दिइन्। ती छोरीबाट जन्मिएकी छोरीले पनि मैले बेचेकै माला लगाइन्। अब ती छोरी पनि गर्भवती छन् भन्ने सुनेको छु।’
‘अल्लाहका कृपाबाट तिनले पनि छोरी नै पाऊन्। मैले नै तिनलाई मोतीको माला बेच्न पाऊँ !’
ऊ गज्जबले एक मान्छे लामो मोतीको माला र छोटो पार्दै बयान गरिरहेको थियो।
म खतुत्त हाँसे।
किनभने त्यो पसलेले चार पुस्ताको कुरा गरेथ्यो। तर ऊ मुस्किलले अठार–उन्नाइसको तन्नेरी हुँदो हो।
हरेक पसलेहरू माला सक्कली हो भनेर दाबी गर्थे। उनीहरू लाइटरको आगोले झ्वास्स पोल्थे माला।
‘सक्कली मोती पग्लिँदैन नि सर !’
पवित्राले बताइन्।
भारतबाट प्लास्टिकका मोती माला बनाएर धेरैजसो यता ल्याइँदो रहेछ। त्यै भएर ग्राहकलाई विश्वास दिलाउन पसलेहरू नक्कली हो कि होइन देखाउन लाइटरमा माला पोल्थे। मोतीका लागि विख्यात कतारको माला खस्केकोमा बेला–बेला हात लाउँथे ती थाप्लामा।
कतारी पसलेका हात अति चाँडो चल्थे। सिंगो मालाबाट घाँटीको हार, औंलाको औंठी, खुट्टाको पाउजु, कानको झुम्का र पाखुराको बालाका आकार झटपट तयार पारी हामीलाई देखाइहाल्थे।
तिनको हातको कला त मान्नैपर्ने।
‘यहाँका मान्छे, आनीबानी, बोली, जीवनशैली नै गहना जस्तो छ। के मोती किन्नु र !’
टेकेन्द्र मेरा कुरा सुनेर खितित्त हाँसे।
आधा दशक यही दोहाकै सबै कुनाकाप्चा चहारेर गालाका मुजा झन्झन् दह्रा बनाइरहेका टेकेन्द्रसँग मेरा कुराले तर्क गरेजस्तो लाग्यो होला।
तर, परदेशमा भेटिएका नेपालीको मायामा अरू केही स्नेही थपिदिन हतारिएकी पवित्रासँग र साथीहरूसँगै कुदिरहेको छु म पनि।
कुइरेका हुल कफी तान्दै मोतीका पसलतिर हुत्तिएर आए। तीसँग आँखा हुत्याइरहेको छु म त।
केही अघि तरबार गेटमा भेटिएका एक कतारीले भनेथे, ‘कुरानमा लेखिएको कयामत आउँछ। त्यहाँ भनिएको छ, यो मरुभूमिमा पाँच कुरा हुनेछन्। यहाँ पानी पर्छ, भुइँचालो जानेछ। आइमाईका लुगा छोट्टिने छन्। हरियाली बढ्ने छ। फिरंगीहरू थपिने छन्।’
पछि निकै सोध्दा थाहा भयो, कयामत भनेको कलियुग आउनेजस्तै रहेछ।
उनका कुराबाट मरुभूमिको जनजीवन, धर्म र सभ्यताविरुद्ध रहेछन् यी कुराहरू।
म सौक वाकिफमा बढिरहेको साँझ हेरिरहेको थिएँ। साँझभन्दा चर्को उज्यालो निहालिरहेको थिएँ। तातोले आफ्नो गति बिसाएको थियो भोलिका लागि।
साथीहरू पसल–पसल पस्दै सक्कली मोती किन्न लाइटरको आगो बालिरहेथे झ्वार्र... झ्वार्र... !