चियाको पहिलो टिपाइ सुरु
मंगलबारे : इलाममा चियाको पहिलो टिपाइ (फस्ट फ्लस) सुरु भएको छ ।गएको कात्तिकदेखि बाँझी बसेको चिया पुनः पलाउन थालेसँगै चिया टिपाइ सुरु भएको हो । यससँगै जिल्लाका चिया कारखानाले प्रशोधनको तयारी पनि थालेका छन् ।
यसरी केही समयसम्म फुर्सद रहेका चिया तथा कारखाना मजदूरको कार्य व्यस्तता अहिले ह्वातै बढेको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच बढाउनसमेत चियापत्तीको टिपाइ छिट्टै थालिएको हो । यस वर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ ।
अघिल्लो वर्ष चैत अन्तिमबाट मात्रै चियापत्तीको टिपाइ सुरु भएको थियो । यो वर्ष चैत पहिलो हप्ताबाटै टिपाइ सुरु भएको किसानको भनाइ छ । जिल्लाका लेकाली क्षेत्रमा भने अझै पूर्णरुपमा चिया पलाउन सकेको छैन् । गर्मी बढेका क्षेत्रमा चियापत्ती टिप्न सुरु गरिएको हो ।
उत्पादन कम भए पनि फस्ट फ्लस चियाको मूल्य उच्च हुने भएकाले किसानले छिट्टै चियापत्ती टिपाइ सुरु गरेका हुन् । रासस