मापदण्ड विपरीत टिपर सञ्चालन
काठमाडौं : व्यवसायीले सरकारी नियम विपरित टिपर सञ्चालन गरेको पाइएको छ। सरकारले ६ र १० चक्के टिपरका लागि ढालाको छुट्टाछुट्टै आयतनको मापदण्ड तोकेको छ। तर, टिपर सञ्चालकले मापदण्डभन्दा बढी आयतनको ढाला थपेर टिपर सञ्चालन गर्दै आएका छन्।
बुटबल, नेपालगन्ज, बाँके, बर्दिया, दाङ, सुनसरी, मोरङ, धनुषालगायत जिल्लामा सञ्चालन भइरहेका अधिकांश ६ चक्के र १० चक्के टिपरमा बढी आयतनको ढाला थपिएको व्यवसायीले बताएका छन्। केही टिपर सञ्चालकका अनुसार सात आठ जिल्लाका अन्य टिपर सञ्चालकले सरकारी मापदण्ड मिचेर ६ चक्केमा नौ घनमिटर र १० चक्के टिपरमा १७ घनमिटरसम्मको ढाला थपेर सञ्चालन गर्दै आएका छन्।
नियमनकारी निकाय यातायात व्यवस्था विभागले ६ चक्के टिपरका लागि ७.५ र १० चक्के टिपरका लागि १२ घनमिटर आयतन भएको ढाला राख्न पाउने मापदण्ड कायम गरेको छ। घोराहीका टिपर सञ्चालक जोगमणि रेग्मीले सरकारले कायम गरेको मापदण्ड अधिकांश टिपर सञ्चालकले पालना नगरेको बताए। ‘सरकारले कायम गरेको मापदण्डलाई अधिकांश सञ्चालकले पालनामा ल्याएका छैनन्।
६ चक्केमा १० घनमिटर र १० चक्केमा २५ घनमिटर आयतन भएको ढाला थपेर आएको टिपर सजिलै भन्सारबाट पास भएर नेपालमा भित्रिदैँछ। सुरुमै भन्सारले सरकारी मापदण्ड पालना गरेको भेटिएन्’, रेग्मीले भने,‘त्यसपछि नेपाल आइसकेका यस्ता टिपर गिटी बालुवा बोकेर एक स्थानबाट अर्को स्थानमा सजिलै ओहोरदोहोर गर्दै आएका छन्। ट्राफिक प्रहरीको सहयोग बिना यो कसरी सम्भव भयो ? ’
बढी आयतनको ढाला थपेर ओहोरदोहोर गर्ने यस्ता टिपरलाई यातायात व्यवस्था कार्यालयले समेत कारबाही गर्न नसकेको उनले गुनासो पोखे। बढी आयतनको ढाला थपेर सञ्चालन हुने टिपरका कारण मापदण्डभित्र रहेर सञ्चालन भइरहेका टिपरलाई ठूलो घाटा भइरहेको सञ्चालकको भनाइ छ। रेग्मीले भने,‘मापदण्डभित्र रहेका टिपरले थोरै सामग्री बोक्न पाउने भए, तर त्यही बढी आयतनको ढाला थपिएका टिपरले एकै पटकमा अत्यधिक परिमाणमा सामग्री बोक्ने हुँदा हामीजस्ता व्यवसायीलाई मार परेको छ।’
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको मालवाहक क्षेत्रतर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठका अनुुसार ढालासम्बन्धी समस्याका विषयमा यातायात व्यवस्था विभागलाई पटकपटक जानकारी गराए पनि विभागले कुनै चासो दिएको छैन। ‘म आफैले धेरै जिल्लामा यस्ता घटना पटकपटक देखिसकेको छु’, नेपाल टिपर व्यवसायी समितिका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठले भने,‘यो विषयमा संस्थागत रूपमा दर्जनौं पटक यातायात विभाग र ट्राफिक प्रहरीलाई जानकारी गराउँदा पनि समस्या समाधान भएको छैन।’
श्रेष्ठका अनुसार मापदण्ड पालना नगर्ने टिपरले बढी भार क्षमताको गिटी बालुवा बोकेका कारण सडक पनि जीर्ण बन्न थालेका छन्।
दाङका अर्का टिपर व्यवसायी हिमाल पोखरेलले मापदण्डभित्र रहेका टिपरको तुलनामा बढी आयतनको ढाला थपेका टिपरले समान दरमा बढी सामग्री उपलब्ध गराउने भएपछि आफूजस्ता व्यवसायीलाई घाटा परेको जानकारी दिए। उनले भने,‘मापदण्डभित्र रहेका टिपरको भाडादरमा बढी आयतनको ढाला थपेको टिपरले हामीभन्दा बढी सामग्री उपलब्ध गराएपछि हाम्रो टिपर सञ्चालन गर्नै कठिन भयो। आम उपभोक्ताले त्यही भाडादरमा बढी सामग्री बोक्ने टिपर प्रयोग गर्न थालेका छन्।’
यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले चासो नदेखाउँदा पछिल्लो समयमा मापदण्ड नमान्ने टिपर सञ्चालकको यो गतिविधि मौलाउँदै गएको छ। केही व्यवसायीले ढाला काटेर सामग्री उपलब्ध गराउने बेथिति पनि अहिले फेला पर्न थालेको छ।
यातायात व्यवस्था विभागले २०७१ कत्तिक १० गते नै देशभरका सबै यातायात कार्यालयलाई पत्राचार गरी ६ चक्के र १० चक्केको ढाला आयतनको मापदण्ड तोकिएको जानकारी गराइसकेको छ। विभागले मापदण्डका आधारमा टिपर दर्ता, नामसारी र जाँचपासको व्यवस्था मिलाउन मातहतका कार्यालयलाई निर्देशन दिएको थियो। यो विषयमा यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन मानेनन्।