सङ्लियो त्रिशूली
धादिङ : अवैध रूपमा सञ्चालनमा रहेका क्रसर र बालुवा प्रशोधन केन्द्र (फिरफिरे) बन्द भएपछि त्रिशूली नदी सफा बग्न थालेको छ।अतिक्रमण बढ्दै जाँदा तथा नदी किनारवरिपरि अवैध र अव्यवस्थित किसिमले बालुवा धुने उद्योग सञ्चालनमा रहँदा मध्यहिउँदमा समेत त्रिशूली धमिलिने गरेको थियो। ऐतिहासिक, पर्यटकीय एवं धार्मिक महत्व बोकेको त्रिशूलीमाथि अतिक्रमण बढ्दै गएपछि स्थानीयको समूह स्वतस्फूर्त रूपमा त्रिशूली बचाउ महाअभियानको नारा लिएर अघि बढेको थियो। अभियानको निरन्तर दबाब र अवैध उद्योगमा प्रशासनको कडाइपछि त्रिशूलीले पुनः जीवन्तता पाएको हो।
‘त्रिशूली धमिलो हुनुको मूल कारण अवैध रूपमा खुलेका बालुवा प्रशोधन केन्द्र नै हुन् भनेर हामीले चार÷पाँच वर्षदेखि प्रशासनको ध्यानाकर्षण गराउँदै आएका थियौँ’, प्राकृतिक सम्पदा संरक्षण समितिका संयोजक एवं त्रिशूली बचाउ महाअभियानका सदस्य श्रवण त्रिपाठीले भने, ‘ती उद्योग बन्द भएपछि त्रिशूली पनि सफा भएको छ।’
ह्वाइट वाटर र्याफ्टिङका लागि नेपाल र दक्षिण एसियामै प्रसिद्ध त्रिशूली प्रदूषणको चपेटामा पर्दै जान थालेपछि र्याफ्टिङ गर्न आउने पर्यटक कम हुँदै गएका थिए। मध्यहिउँदमा पनि नदी साउनको भेलजस्तै बग्ने गथ्र्याे। त्रिशूलीमाथिको अतिक्रमणका विषयमा व्यापक जनदबाब आउन थालेपछि प्रदूषण गराउने बालुवा उद्योगमा प्रशासनले कडाइसाथ अनुगमन गरेको थियो। अनुगमन क्रममा कुनै पनि उद्योगले न्यूनतम मापदण्डसमेत पूरा गरेको नभेटिएपछि जिल्ला अनुगमन समितिले स्थलगत रूपमै अवैध र मापदण्डबाहिरका फिरफिरे र नदी किनारका क्रसर उद्योगमा विद्युत् आपूर्ति बन्द गरिदिएको थियो।
‘त्रिशूली किनारमा अवैध रूपमा खोलिएका बालुवा धुने उद्योगका कारण नदी धमिलिएको हो’, धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले भने, ‘अवैध रूपमा सञ्चालित उद्योगका लाइन काटिएसँगै नदी अहिले सफा बगेको छ।’ उद्योग बन्दै गराउने नियत पनि प्रशासनको नभएकाले व्यवस्थित एवं मापदण्ड पुर्याएर सञ्चालन गर्न उद्योगी आए र त्रिशूली अतिक्रमण नहुने अवस्था देखिए पुनः विद्युत् दिइने उनको भनाइ छ।
अहिले सफा नदीमा र्याफ्टिङ गर्न पाउँदा पर्यटक खुसी बनेको पर्यटन व्यवसायी विष्णु सिलवालले बताए। ‘एक सातादेखि त्रिशूली सफा बन्दै गएको छ। हिजोआज र्याफ्टिङमा आउने पर्यटक निकै खुसी छन्’, उनले भने, ‘हामीले नदी सफा राख्न सके जलयात्रामा रमाउनेहरू त्रिशूली खोज्दै आउनेछन्।’
देशका अन्य स्थानका नदीमध्ये जलयात्राका लागि त्रिशूली उत्कृष्ट एवं सुरक्षित मानिन्छ। पानीको बहाव र छाल जलयात्राका लागि उपयुक्त भएकाले त्रिशूली पर्यटकको रोजाइमा पर्ने गरेको छ। तर, पाँच÷सात वर्षयता त्रिशूली नदी बाह्रैमास धमिलो बग्न थालेपछि जलयात्रा गर्ने पर्यटकको रोजाइमा त्रिशूली पर्न छाडेको थियो।
त्रिशूलीलाई सफा बगाउने अभियानक्रममा अभियन्ताहरूले पटक–पटक विरोधका कार्यक्रम गर्दै आएका थिए। उनीहरूले सरोकारवालाको ध्यान तान्न धमिलो त्रिशूलीमै र्याफ्टिङसहित पन्चैबाजा, कन्सर्ट, दोहोरी, सडकमा र्याफ्टिङ सञ्चालनलगायत व्यंग्यात्मक विरोधका कार्यक्रम गरेका थिए। ‘पृथ्वीराजमार्ग भएर हिँडेका देशका सबैजसो भीआईपीलाई हामीले सडकमै रोकेर नदी प्रदूषणको अवस्थाबारे अवगत गराएका थियौँ’, मलेखु बजारका स्थानीय निर्मल थपलियाले भने, ‘सबैको प्रयासका कारण अहिले नदीले नयाँ जीवन पाएको छ।’
बालुवा तथा रोडाढुंगा निकासी गरेर वार्षिक करोडौं रुपैयाँ राजस्व असुल गर्ने जिल्ला समन्वय समिति धादिङले आम्दानीको केही प्रतिशत मात्रै त्रिशूलीको संरक्षणमा खर्च गर्ने हो यसको कायापलट हुने स्थानीयको भनाइ छ।