अमेरिकी र उत्तर कोरियाली प्रतिनिधि फिनल्याण्डमा भेट्दै
हेलसिन्की : संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् ।गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरु भएको हो ।
सोही वार्ताकै प्रयोजनका लागि यी दुई देशका अधिकारीहरु अनौपचारिक रुपमा हेलसिन्कीमा वार्तामा बस्न लागेका हेलसिन्कीबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले शनिबार जानकारी दिएका छन् ।
उत्तर कोरियाली विदेशमन्त्रालयको अमेरिका डेक्सका प्रमुख चोख्वाङ इल दुइदिने औपचारिक भ्रमणका लागि आइतबार हेलसिन्की पुग्नुहुने यहाँको सरकारी टेलिभिजनले जानकारी दिएको छ ।
साथै आइतबार नै दक्षिण कोरियाका लागि पूर्व अमेरिकी राजदूत काथलिन स्टेफन पनि यहाँ आइपुग्ने जनाइएको छ ।
उहाँहरुबीच आइतबारै साँझ अनौपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको यहाँको एक दैनिक पत्रिका हेलसाइन सानमोतको अनलाइन संस्करणले जानकारी दिएको छ ।
यो कुराको पुष्टि फिनल्याण्डको विदेश मन्त्रालयले पनि गरेको छ । उक्त दैनिकका अनुसार विदेशमन्त्रालयले यी दुई अधिकारीहरुको भेटवार्ताको चाँजो मिलाएको छ ।
फिनल्याण्डको सरकारी समाचार समिति, एसटिटीले उक्त वार्ता आइतबार साँझ हेलसिन्कीमा रहेको जापानी दूताबासमा हुने पनि जानकारी गराएको छ ।
फिनल्याण्डको विदेश मन्त्रालयको एसिया डेक्सका प्रमुख किमो लादेभिर्ताले सो वार्ता विशुद्ध प्राज्ञिक तर अर्थपूर्ण हुने भन्दै यसको व्यवस्थापन फिनल्याण्डले गरेको पुष्टि गरे ।
साथै उनले यस वार्ता अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले र त्यसका लागि व्यवस्थापनको काम गरिएको पनि उक्त समाचार समितिलाई जानकारी दिए ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय-इनका विशेषदूतका रूपमा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु-योङ दक्षिण कोरिया र उत्तर कोरियाली नेता किमको सन्देश बोकेर अमेरिका गएका थिए ।
चुङको उक्त भ्रमणपछि अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्ने आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो ।
यसबीचमा राष्ट्रपति ट्रम्पले त्यस वार्ताका लागि जापान, दक्षिण कोरिया र चीनको पनि समर्थन र सहयोग रहेको खुलासा ट्वीटमार्फत नै गरेका छन् ।
उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्त्यमा भेटवार्ता हुने कार्यक्रम पनि सोही समयमा तय भएको हो । तर त्यसको मिति भने निश्चित भएको छैन । हेलसिन्की वार्ता मे महिनामा हुने वार्ताको तयारीका लागि तय भएको अनुमान गरिएको छ ।
अमेरिका उत्तर कोरिया वार्ताको चर्चा सुरु भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि सफलताका लागि शुभकामनासम्म दिएका थिए ।दक्षिण कोरियाली विशेषदूतले यसैहप्ता चीनका राष्ट्रपति सि चिनफिङलाई पनि भेटेका छन् ।
सीले अमेरिका उत्तर कोरिया तथा उत्तर र दक्षिण कोरियाबीचमा भएको पछिल्लो विकसित घटनाक्रमका साथै वार्ताका बारेमा जानकारी गएका छन् ।
गत फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियामा सम्पन्न शीतकालीन ओलम्पिकमाउत्तर र दक्षिण कोरियाका प्रतिनिधिहरुको सहभागिताबाट दुर्इ देशबीचको सम्बन्धमा सुधार आएको थियो ।
अब यसै महिनाको अन्तिममा दुई कोरियाबीच उच्चस्तरीय बैठक आयोजना गर्ने तयारी भइरहेको छ । यस तयारीको जानकारी दक्षिण कोरियाका राष्ट्रपति इनका प्रमुख सचिव इम जङ सियोकले दिएका छन् ।
(रासस/सिन्ह्वा)